
जनकपुर । महोत्तरीको भंगहा नगरपालिका ७ मा २४ घण्टामा तीन जनाको रहस्यमय मृत्यु भएको छ । सोही वडामा गत साता हिँडडुल गर्दागर्दै एक जनाको मृत्यु भएको थियो । मंगलबार एकजना र बुधबार बिहान दुई जनाको मृत्यु भएको हो ।
आज (बुधबार) बिहान ५५ वर्षीय लालबाबु सिंह र ४५ वर्षीय नथुनी महराको मृत्यु भएको हो भने ४५ वर्षीय मोहन चौधरी धलवारको मंगलबार दिउँसो मृत्यु भएको थियो । ५५ वर्षीय महेन्द्र चौधरी थारुको गत साता मृत्यु भएको उक्त वडाका अध्यक्ष वासुदेव सिंहले जानकारी दिए ।
लालबाबु सिंह मंगलबार साँझसम्म मदिरा सेवन गरी गाउँमा होहल्ला गरिरहेको र भोलिपल्ट बिहानै मृत्यु भएको खबर प्राप्त भएको बताए । मृतकहरूमध्ये अधिकांश गाउँघरमा दिनहुँजसो खुल्ला मदिरा सेवन गर्ने गरेको हुँदा विषाक्त मदिराको असरले मृत्यु भएको हुनसक्ने अनुमान वडाअध्यक्ष सिंहको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले घटनाको विवरण हेर्दा अस्वाभाविक मृत्यु जस्तो देखिए पनि घटना अनुसन्धान गर्न नपाएको बताए ।
“पीडित परिवारले घटना अनुसन्धानमा सहयोग नगर्दा घटना रहस्यमय बन्न पुगेको हो” एसपी अधिकारीले बाह्रखरीसँग भने, “घटनालगत्तै मृतकहरूको अन्त्येष्टी गरिदिने गरेको देखियो । शवको पोष्टमार्टम गर्न पाए चिकित्सकले मृत्युको कारण पत्ता लगाउन सक्थे । तर, एउटै मृतकको शव पोष्टमार्टम गर्न पाइएन ।”
घटनाबारे सञ्चारमाध्यममा कुरा उठ्न थालेपछि टोल बस्तीलाई निगरानीमा राखिएको बताउँदै एसपी अधिकारीले यसअघि मृत्यु भएका व्यक्तिहरूको विगत र परिवारिक अवस्थाको अध्ययन गरिरहेको जानकारी दिए ।
भंगहा नगरपालिकाका प्रमुख संजीव साहले बिहीबारमात्रै दुई जनाको मृत्यु भएपछि घटना रहस्यमय बनेको बताए । यसबारे प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको बताउँदै उनले पनि घटनाको कारण विषाक्त मदिरा नै हुनसक्ने अनुमान गरे ।