काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमसँगै सरकारले देशै लकडाउन गरेपछि फुर्सदिला बनेका चलचित्रकर्मी के गर्दै छन् ? केही चलचित्र तथा सिरिज हेरेर बसिरहेका छन्, कोही स्क्रिप्ट लेखेर लकडाउनको सदुपयोग गरिरहेका छन् ।
लकडाउनको फुर्सदिलो समयलाई स्क्रिप्ट लेखनमा लगाउने चलचित्रकर्मी भने निकै कम छन् । अभिनेत्री सुरक्षा पन्तलाई यो लकडाउनले स्क्रिप्टतर्फ डोर्यायो । चलचित्र र सिरिज हेर्ने, पेन्टिङ गर्नेदेखि स्क्रिप्ट लेखनमा उनले यो लकडाउनमा गरिरहेकी छिन् । उनी फिचर फिल्मभन्दा पनि सर्ट फिल्मको फिचर लेखिरहेको बताउँछिन् । सुरक्षा अभिनयसँगै स्क्रिप्टमा पनि रमाउने कलाकार हुन् । उनी स्क्रिप्ट लेखनमा राम्रो गर्न सके राम्रो भविष्य छ भन्दै आएकी छिन् ।
कोरोनाले विश्वको एकतिहाइ जनसंख्या लकडाउनका कारण घरमै थुँनिदा त्यही नियति अभिनेता प्रमोद अग्रहरिले पनि भोग्नुपर्यो । यो लकडाउनलाई प्रमोदले पनि स्क्रिप्ट लेखनमा लगाइरहेका छन् । केही पहिलादेखि नै प्रमोदले स्क्रिप्ट लेख्न थालेका थिए । तर त्यसले गोरेटो पहिल्याउन सकेको थिएन । घरभित्रै बस्नुपरेको यो समयमा प्रमोदको स्क्रिप्ट लेखनले लय समात्यो । कोरोनाको अपडेट लिनेबाहेक उनको यो समयको काम स्क्रिप्ट नै बितिरहेको छ ।
निर्देशक दीपेन्द्र लामा कोरोनाका कारण चलचित्र २ नम्बरीको छायांकन रोकेर पोखराबाट काठमाडौं फर्किनुपर्यो । २५ प्रतिशत मात्रै चलचित्रको छायांकन भएको थियो । लकडाउनमा छायांकन सम्भव नभएपछि उनी अहिले उक्त चलचित्रको बाँकी स्क्रिप्टलाई कसरी थप राम्रो बनाउने भन्नेतर्फ लागेका छन् । यसका लागि केही पुस्तकसमेत पढिरहेको दीपेन्द्र बताउँछन् ।
दीपकराज गिरी लकडाउन सुरु हुनुभन्दा धेरै अगाडिदेखि नै घरमै बसेर उनको अगामी चलचित्र छक्का पञ्जा ४ को स्क्रिप्ट लेखिरहेका थिए । लकडाउनमा पनि उनी त्यसैलाई निरन्तरता दिइरहेका छन् । दिनको चार–पाँच घण्टा दीपकको स्क्रिप्टमै बितिरहेको छ ।
जेठको पहिलो साताबाट चलचित्र छायांकनमा लैजाने उनको तयारी थियो । तर लकडाउनले त्यो सम्भव नभएपछि यो फुर्सदिलो समय पनि त्यही स्क्रिप्टलाई दिएर सकेसम्म राम्रो बनाउने प्रयास गरिरहेको उनी बताउँछन् ।
निर्देशक प्रदीप भट्टराई पनि स्क्रिप्टमै छन् । भलै उनले स्क्रिप्टलाई करिब अन्तिम रूप दिइसकेका थिए । तर लकडाउनसँगै अन्य कामका लागि बाहिर निस्किने वातावरण नभएपछि उनी त्यही स्क्रिप्टलाई रङ्गरोगन गरिरहेका छन् । तर कोरोनाको महामारीका कारण सोचेजस्तो काम भने गर्न नसकेको उनी बताउँछन् । महजोडीलाई लिएर उनले चलचित्र बनाउन स्क्रिप्ट लेखिरहेका छन् ।
अर्का निर्देशक विनोद पौडेल पनि लकडाउनको सदुपयोग स्क्रिप्ट लेखनमै लगाएर गरिरहेका छन् । युवा पिँडीको कथा भन्ने तयारीमा रहेका उनलाई लकडाउन स्क्रिप्ट लेख्ने मौका भएको छ । कलेज र कार्यक्रमले स्क्रिप्टमा खासै समय दिन नसकिरहेको अवस्थामा लकडाउन उनका लागि स्क्रिप्ट लेख्ने उपयुक्त मौका पनि हो । सहरका युवाको जीवन पद्धती बिनोद अहिले स्क्रिप्टमार्फत केलाउने प्रयास गरिरहेका छन् ।
रोज राणा चलचित्र खलानायक २ को स्क्रिप्ट बोकेर गृह जिल्ला प्यूठान पुगेका छन् । मौनता श्रेष्ठले लेखेको स्क्रिप्टलाई चलचित्रमा उतार्ने रणनीतिक योजना बनाउन लकडाउनको समय सदुपयोग गरिरहेको उनी सुनाउँछन् ।
लकडाउनले निर्माण घोषणा गरेर बसेका र छायांकनको मोटामोटी सेड्युल तयार पारेर बसेका निर्देशक, निर्माता तथा कलाकारका लागि स्क्रिप्टलाई थप बलियो बनाउने समय मिलेको छ । यही फुर्सदिलो समयमा केहीले पनि लेखनको सुरु पनि गरेका छन् ।
लकडाउनको समय घरबाहिरको काममा लगाउन सम्भव नभएपछि घरमै बसेर लेखन प्रयास गरे पनि त्यसमा ध्यान केन्द्रित गर्न भने निकै सकस हुने गरेको उनीहरूले बताएका छन् । “पूरै विश्व नै कोरोनाको त्रासमा बाँचिरहेका बेला कुनै पनि काम गरेर आफूलाई त्यसमै सामान्य समय सरह केन्द्रित गर्छु र रिजल्ट निकाल्छु भनेर प्रयास गरे पनि नसकिनेरहेछ,” निर्देशक भट्टराई भन्छन्, “सायद यो मलाई मात्रै होइन, सबैलाई यस्तै हुन्छ होला ।”
निर्देशक विनोद लेखनमा ध्यान खिच्न खोजे पनि कोरोनाको मनोवैज्ञानिक त्रासले बढी थिच्ने गरेको अनुभव सुनाउँछन् । “लेख्न बस्यो संसारमा के आयो नयाँ अपडेट भन्ने दिमागमा खेलिरहन्छ, फेरि नयाँ अपडेट लियो,” उनी भन्छन्, “सुदूर भविष्यमा रहेको सामान्य अवस्थाले सम्झिएर पनि जोडबल गर्दागर्दै पनि सकेजति सिर्जनशील नभइँदो रहेछ । सिर्जनात्मक कामका लागि समय मात्रै होइन, फ्रेस मुड पनि चाहिने रहेछ ।”