site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीको लाठीचार्ज, ६५ वर्षीयाको मृत्यु

जनकपुर । सप्तरी जिल्लाको खडक नगरपालिका ६, वीरपुरमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले लाठीचार्ज गरेपछि एक वृद्धाको मृत्यु भएको छ । घटनामा स्थानीय ६५ वर्षीया जैनव कुजर्नी (खातुन) को मृत्यु भएाको हो ।

सोमबार बिहान करिब ११ बजेको समयमा इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरी टोलीले वीरपुर चोकमा बसिरहेका युवामाथि लाठीचार्ज गर्दा घटना भएको वडा अध्यक्ष भगवती चौधरीले बाह्रखरीलाई जानकारी दिए ।

“वीरपुर चोकमा जमघट बढेको भन्ने खबर पाएर त्यहाँ पुगेको प्रहरीले चोकमा बसिरहेका युवामाथि लाठीचार्ज गरेको स्वयं इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्चार्ज इन्सपेक्टर धर्मराज मुडभरीले स्वीकारेका छन्” खडक नगरपालिका ६ नम्बरका वडा अध्यक्ष चौधरीले भने, “प्रहरीले आफ्नो छोरामाथि लाठी प्रहार गरिरहेको देखेर चिच्याउँदै दौडेकी एक वृद्धालाई पनि प्रहरीले दुई लाठी हानेपछि तत्काल बेहोस् भएको र उपचारको क्रममा मृत्यु भएको प्रत्यक्षदर्शीहरुले भनिरहेका छन् ।”

घटनापछि वीरपुर चोकबाटै वडा अध्यक्ष चौधरीलाई इन्सपेक्टर मुडभरीले फोनगरी बोलाएका थिए । आफू त्यहाँ पुग्दा जैनवलाई प्रहरीले लाठीले हानेपछि बेहोस् भएको र उपचारका लागि तत्कालै नगरप्रमुख हेमायु हकले आफ्नै गाडीमा चढाएर कल्याणपुर अस्पताल लगेको थाहा पाएपछि आफू पनि त्यहाँ पुगेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।

उनका अनुसार कल्याणपुर अस्पतालमा उनको उपचार सम्भव नभएपछि एम्बुलेन्समा राखेर राजविराज अस्पतालमा लगेको र त्यहाँ पुग्ने बित्तिकै डाक्टरले मृत घोषणा गरेको चौधरीले जनाए । 

इन्सपेक्टर मुडभरीले भने वृद्धालाई कसैले लाठी नहानेको जिकिर गरिरहेका छन् । लकडाउनको वास्ता नगरी चोकमा भिड लगाउने र सम्झाउँदा पनि अटेर गरेपछि केही युवालाई एकदुई लाठी हाने पनि महिलामाथि कसैले लाठी प्रहार नगरेको उनको भनाइ छ ।

वडा अध्यक्ष चौधरीले घरै अगाडि छोरामाथि प्रहरीले लाठीचार्ज गर्न थालेको देखेर चिच्याउँदै दौड्दै आएकी ती महिलालाई पनि प्रहरीले दुई लाठी हानेको स्थानीयलाई हावाला दिँदै जनाए । 

जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले पनि मृतक महिलामाथि प्रहरीले लाठी प्रहार नगरेको जिकिर गरेका छन् । “चोकमा भिड लगाइरहेका युवालाई धपाउन त्यहाँ खटेको प्रहरीले लाठी हाने पनि वृद्धा महिलालाई हानेको आरोप गलत हो” प्रसाइँले भने । हृदयरोगको बिरामी रहेकी ती वृद्धाको कालगतिले नै मृत्यु भएको एसपी प्रसाइँको दाबी छ । 

अहिले मृत शवलाई राजविराज अस्पतालमा राखिएको छ । स्थानीयले शवको पोष्टमार्टमगरी दोषी प्रहरीमाथि कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिरहेका छन् । पोष्टमार्टम नगरीकनै सम्बन्धित परिवारलाई शव जिम्मा लगाउने प्रयासमा प्रहरी रहेको स्थानीयको आरोप छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro