
जनकपुर । आइतबार दिउँसो कोरोना संक्रमित रहेको पुष्टि भएका तीन भारतीय नेपालमा कहिले आएको भन्ने कुरा लुकाइरहेका छन् । ‘आखिर यसवारेमा उनीहरूले किन झुटो बोलिरहेका छन् ?’ अनुसन्धानमा खटेको प्रहरीदेखि स्थानीय बासिन्दा पनि अचम्म मानिरहेका छन् ।
उनीहरूले कहिले १७ डिसेम्बरमा नेपाल आएको भन्छन् भने कहिले १८ डिसेम्बर । कहिले विराटनगर हुँदै नेपाल आएको भन्छन् त कहिले भारतबाट सीधै वीरगन्ज आएको । नेपाल आएको मिति नै लुकाउने नियत देखाएपछि घटना थप रहस्यमय बनेको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी बताउँछन् ।
“उनीहरूकै भनाइलाई आधार मान्ने हो भने लकडाउनभन्दा धेरै अगाडि नेपाल आएका रहेछन् । वीरगन्जमा मात्रै २४ भारतीय यति लामो समयसम्म किन बसे ?” बाह्रखरीसँगको कुराकानीमा सरावगीले भने, “कोरोनाले विश्व आंतकित भइरहेको बेला पनि घर फर्किनुपथ्र्यो, फर्केनन् । आज यतिका दिनपछि कोरोना संक्रमित भयो भनेर सार्वजनिक भए । यसरी हेर्दा यो घटना आफैंमा शंकास्पद देखिन्छ ?”
तर, नेपाली सेनाले सूक्ष्म प्रक्रियाबाट घटनाको अनुसन्धान थालेको बताउँदै सरावगीले चाँडै सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे । घटनाको अनुसन्धानमा नेपाल प्रहरीसँगै नेपाली सेनाले पूरा सहयोग गरिरहेको उनले बताए ।
नेपाल प्रहरीकी पर्सा जिल्ला प्रमुख एसपी गंगा पन्तले संक्रमितहरूको ट्र्याकिङ र ट्रेसिङ गरिरहेको जानकारी दिइन् । “वीरगन्जमा तीन जना संक्रमित भेन्छिन् । उनीहरू सबै भारतीय नागरिक भएको बताउँछन् र चार महिनाअगावै नेपाल आएको बताउँछन्” पन्तले बाह्रखरीसँग भनिन्, “चार महिनाअगाडि कोरोनाको नाम सुनिएको थिएन । त्यस अघि उनीहरू भारतबाट संक्रमित भएर आएको आधार देखिन्न । चीनमा भन्दा अगाडि नेपालमा कोरोना आएको कसरी पत्याउने ? पछि भारतबाटै संक्रमित भएर आएका हुन् भने त्यो उनीहरूले स्वीकारेका छैनन् । यसरी सबै कोणबाट घटना रहस्यमय बन्दै गएपछि हामी तहगत अनुसन्धानको क्रममा ट्र्याकिङ र ट्रेसिङ थालेका हौं ।”
कोरोना संक्रमितहरू कहिले र कुन रुट प्रयोग गरेर नेपाल आए, यतिका दिनसम्म किन लुकेर बसे भन्नेलगायत विषयमा अनुसन्धान गर्दै उनीहरू वीरगन्ज बसाइको क्रममा कहाँ कहाँ को कोसँग भेटे, के–के गरे भन्ने विवरण खुल्न ट्र्याकिङ र ट्रेसिङको रिपोर्ट पर्खिनुपर्ने पन्तको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले पनि कोरोना संक्रमितहरूको भनाईमा विश्वास गर्न नसकिरहेको बताउँदै सुरक्षाकर्मीको अनुसन्धानबाटै सबै खुल्ने बताए । उनले भने, “संक्रमितहरूले सत्यतथ्य बताउन नमानेकै हो । किन कुरा लुकाइरहेका छन् भनेर बुझ्न छड्के विधिबाट पनि जाँचबुझ भइरहेको छ ।”
वीरगन्जवासी एक मुस्लिम व्यक्तिको भनाइ अनुसार १७ डिसेम्बरमा उनीहरू जोगबनी नाका हुँदै विराटनगर प्रवेश गरे । दुई दिनको विराटनगर बसाइपछि दुहबीमा आएर पनि दुई दिन बसे । त्यहाँबाट इनर्वा पुगेर १० दिन बसे । फेरि सुनसरीकै अर्को कुनै स्थानमा १४ फेब्रुरीसम्म बसेर १५ देखि १८ फेब्रुरीसम्म सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित चार दिवसी मुस्लिम समुदायको धार्मिक सम्मेलन इज्तिमामा सहभागी भए । उक्त सम्मेलनमा नेपाल, भारतसमेत विभिन्न मुलुकबाट करिब दुई लाखको संख्यामा मुस्लिम समुदायका धार्मिक अगुवा सहभागी थिए ।
उक्त सम्मेलन सम्पन्न भएलगत्तै वीरगन्ज पुगेका उनीहरू आजको मितिसम्म वीरगन्ज २, छप्कैयास्थित मस्जिदमा आश्रय लिएर बसिरहेको ती स्रोतले जनायो ।
उनीहरूको समूहमा २४ भारतीय छन् । तीमध्ये तीनजना संक्रमित भएको पुष्टि भएपछि थप २१ जनालाई क्वारेन्टाइनमा राखेर थ्रोट स्वाब परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक अस्पताल पठाइएको छ ।