
जनकपुर । माथिको तस्बिर धनुषास्थित सबैला नगरपालिका ७, मटहीको हो । नगरको वडा ३ बाट वडा ७ (साबिक मटही गाविस) प्रवेश गर्ने मूल सडकमै बाँसको ढाट लगाइएको छ । बीचमा एक बालकले घाँटीमा हस्तलिखित सूचना बोर्ड झुन्ड्याएका छन् । बोर्डमा लेखिएको छ, ‘सूचना..सूचना... कोरोनाको त्रासः अपरिचित मान्छेलाई गाउँ प्रवेश निषेध ।’
स्थानीयका अनुसार एम्बुलेन्सलगायत नभइ नहुनेबाहेक सवारीसाधनलाई गाउँ पस्न पूर्णतः रोक लगाइएको छ । पैदल हिँडेर आउने अपरिचित व्यक्तिलाई कहाँबाट आएको, कसको घरमा र किन जान लागेको भनेर सोधिन्छ । बिनाकाम बाहिरिया कसैलाई गाउँमा नआइदिन त्यहाँ उपस्थित स्थानीयले आग्रह गर्छन् ।
सकेसम्म एकभन्दा बढी व्यक्ति सँगै नबस्न, गाउँ बाहिर बिनाकाम नजान, जानैपरे फर्केपछि साबुनपानीले राम्ररी हात धोएपछि मात्रै घरभित्र पस्न वा परिवारका अन्य सदस्यलाई छुन ती बालकहरूले सचेत गराइरहेका छन् । विद्यालयमा पनि अनिश्चितकालिन बिदा भएपछि घरमै बसेर पढ्ने र बाहिर निस्कन मन लागे त्यहीँ ढाटमा पुगेर सार्वजनिक हितका लागि सचेतनामूलक क्रियाकलापमा संलग्न हुने गरेको स्थानीय बालबालिकाहरू बताउँछन् ।
यद्यपि, यो लकडाउन कहिलेसम्म रहने हो ? कोरोनाको संक्रमण रोक्न राज्यले के कस्ता प्रयास थालेका छन् ? विकसित मुलुकहरूले कोरोनाविरुद्धको औषधि आविष्कार गर्न सफल हुन नसकिरहेको कारण जस्ता जिज्ञासा उनीहरूमा छ । बाह्रखरी संवाददाताको परिचय पाएपछि उनीहरूले लकडाउन गरेर मात्र ढुक्क भएर नबस्न सरकारसमक्ष सञ्चारमाध्यममार्फत ‘आग्रह’ पु¥याइदिन अनुरोध गरे ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन स्थानीय सरकारले गाउँ गाउँमा सचेतनाका लागि माइकिङ गरिरहेका छन् । साप्ताहिक हाट बजार पनि बन्द गरिएको छ । हरियो तरकारीलगायत अति आवश्यक वस्तुको बिक्री वितरणमा आंशिक छुट दिइए पनि फाटफुटमा दूरी बनाएर मात्र गर्न भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय, धनुषाले स्वास्थ्य तथा सञ्चारकर्मीलगायत अति आवश्यक सवारीसाधनलाई सवारी पास उपलब्ध गराएको छ । अन्य सवारीसाधन सञ्चालन प्रतिबन्ध गरिएको छ । बिनाकाम सडकमा पैदल हिँड्न पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनाए ।
बिहीबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञाको अवज्ञा गरेको अभियोगमा जिल्लाका विभिन्न स्थानमा खटेका प्रहरी टोलीले ६६ जनालाई पक्राउ गरेका थिए । पक्राउ परेकाहरूलाई साँझ जनही एक सय रुपैयाँ जरिवाना तिर्न लगाएर अभिभावकलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।