चितवन । स्थानीय तह निर्वाचनको तिथि नजिकिँदै जाँदा भरतपुर महानगरपालिकाको चुनावी पारो ह्वात्तै बढेको छ । एक लाख ५० हजार २७४ मतदाता रहेको भरतपुर नगर क्षेत्र विशेष चर्चामा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणु दाहाल चुनावी मैदानमा ओर्लिएको र कांग्रेसले माओवादी केन्द्रलाई सघाउने गरी चुनावी तालमेल गरिएकाले पनि भरतपुर चासोको केन्द्रमा छ । कांग्रेसले पार्वती शाहलाई उपमेयरको उमेदवार बनाएको छ र मेयरमा माओवादीलाई सघाउन ‘ह्विप’ नै जारी गरेको छ ।
कांग्रेस–माओवादी केन्द्र संयुक्त घरदैलोमा
२९ वडा रहेको महानगरमा अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताहरू संयुक्त रूपमा घरदैलोमा होमिएका छन् । विशेष गरेर आइतबारदेखि कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ता आ–आफ््ना पार्टीका झन्डासहित मतदाताकहाँ गएका हुन् । पार्टी महासचिव रामबहादुर थापा ‘बादल’को नेतृत्वमा माओवादी केन्द्र चुनावी प्रचार–प्रसारमा जुटेको छ भने कांग्रेस नेता रामचन्द्र पौडेलसमेत भरतपुर आउने कुराकानी रहेको कांग्रेस स्रोत बताउँछ ।
कांग्रेस–माओवादी केन्द्रले २७ गते भरतपुरमा सभाको आयोजना गर्ने तयारी गरेको र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा चितवन पुग्ने तयारी रहेको माओवादी स्रोतले जानकारी दियो ।
एमालेको मानव साङ्लो
नेकपा एमालेले ३७ किमी राजमार्ग घेर्ने गरी २८ गते मानव साङ्लोसहित झाँकी उतार्ने तयारी गरेको एमालेका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उमेदवार बनेका देवी ज्ञवालीका सहयोगी अस्मिन घिमिरेले जानकारी दिए । भरतपुर महानगर जिताउन एमालेले पोलिटव्यूरो सदस्य काशिनाथ अधिकारी र पूर्वमन्त्री केशवलाल श्रेष्ठलाई चितवनमा विशेष जिम्मेवारी तोकेको छ ।
निर्वाचनका लागि प्रधामन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा नै चितवन आउने भएपछि एमालेले पनि पार्टी अध्यक्ष केपी शर्मा ओली चितवन उतार्ने तयारी गरिरहेको उनको भनाइ थियो ।
भरतपुरका व्यापारी रुष्ट
भरतपुर महानगरपालिका चार नम्बर निर्वाचन क्षेत्रमा पर्छ । त्यसो त निर्वाचन क्षेत्र नं. ३ र ५ का केही भाग पनि भरतपुर महानगरपालिकामा पर्छन् । यसअघिको निर्वाचनलाई हेर्ने हो भने ३ मा एमाले, ४ मा कांग्रेस र ५ नम्बरमा राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका थिए ।
चार नम्बरमा कांग्रेसका दिवंगत सभापति सुशील कोइरालाले जितेका थिए । उपनिर्वाचनमा पनि कांग्रेसले नै २०, ८१८ मत ल्याएर जितेको थियो । एमाले र माओवादीले क्रमशः १७, २७२ र ७ हजार ८५५ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने पनि भरतपुर कांग्रेसको प्रभाव क्षेत्रै हो । तर, पार्टी अप्रत्यासित रूपमा माओवादी केन्द्रलाई सघाउने निष्कर्षमा पुगेपछि भरतपुरका कांग्रेसनिकट व्यापारी रूष्ट बनेको कांग्रेस स्रोतले जानकारी दियो ।
त्यसो त ०६० सालमा माओवादीले भरतपुरका व्यापारी तथा चलचित्र निर्देशक भगवानदास श्रेष्ठको हत्या गरेकाले पनि तालमेलबाट भरतपुरका व्यापारी रूष्ट बनेको स्रोतको दाबी छ । त्यस्तै भरतपुरका सुवास प्रधानलगयत व्यापारीले पार्टीको निर्णय मान्न नसक्ने भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेको कांग्रेस कार्यकर्ता बताउँछन् ।