
जनकपुर । लकडाउनको अवज्ञा गर्दै सर्वसाधारण सडकमा आउजाउ गर्ने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले सेना परिचालन गरेको छ ।
नागरिककै सुरक्षाका निम्ति सरकारले घोषणा गरेको लकडाउनको अवज्ञा हुन थालेपछि अटेर गर्नेलाई सचेत गराउन नेपाली सेनाको सहयोग लिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जनाए । उनकाअनुसार जिल्लामा उपलब्ध सैनिक जनशक्तिलाई सडकमा मार्चपास गर्दै सिटी बजाउन लगाएर सर्वसधारणलाई घरबाहिर ननिस्कन दबाव दिने गरी सेना परिचालन गरिएको हो ।
३६९ सवारीसाधन नियन्त्रणमा
यता, कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन नेपाल सरकारले घोषणा गरेको ‘कन्ट्री लक डाउन’ अवज्ञा गरेको भन्दै धनुषा प्रहरीले मंगलबार ३६९ सवारी साधन नियन्त्रणमा लिएको छ ।
बिहान ६ बजेदेखि साँझ सात बजेसम्म जिल्लाका विभिन्न क्षेत्रबाट आठजना मानिससमेत ३६९ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ४ वटा यात्रुबाहक बस, ८५ वटा मालवाहक ट्रक, ७ वटा जिप तथा कार, २६१ वटा मोटरसाइकल, ११ वटा अटो रिक्सा र एउटा ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।
सांकेतिक तस्बिर