
जनकपुर । संघीय सरकारले घोषणा गरेको ‘कन्ट्री लक डाउन’ लाई समर्थन गर्दै प्रदेश २ सरकारले उक्त घोषणाको पूर्ण पालना गर्न प्रदेशवासीमा अपिल गरेको छ ।
मुख्यमन्त्रीलालबाबु राउतले सम्पूर्ण नागरिकलाई तत्काल एक सातासम्म घरभित्रै बसेर कोरोनाको सम्भावित संक्रमणबाट जोगिन प्रदेशवासीमा अपिल गरेका हुन् । कोरोनाविरुद्ध हरेक नागरिकको चेतनाले लड्नुपर्ने बेला आएको बताउँदै उनले संघीय सरकारको निर्णयलाई कसैले अवज्ञा गर्न नहुने बताएका छन् ।
यसैबीच, विश्वभर त्रास फैलाएको कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकारले विभिन्न निकायलाई आर्थिक सहयोगको घोषणा गरेको छ । प्रदेश मातहतका आठवटै जिल्लास्थित विपद व्यवस्थापन समितिलाई ५० लाखको दरले, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको प्रादेशिक कार्यालयलाई २० लाखका दरले र राष्ट्रिय अनुसन्धान आयोगको प्रादेशिक कार्यालयलाई पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ ।
त्यस्तै, कोरोना सम्बन्धी क्रिटिकल केयरका लागि जनकपुरस्थित प्रादेशिक अस्पताललाई १२ लाख, जिल्ला अस्पतालहरूलाई सरदर पाँच लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई पर्सनल केयर इक्विपमेन्ट खरिदका लागि १० लाख, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई पाँच लाख, चेतनामुलक प्रचारप्रसारका लागि स्वास्थ्य निर्देशनालयलाई पाँचलाख, स्थानीयतह स्वास्थ्य संयोजकहरूलाई अभिमुखीकरणका लागि १० लाख, एकीकृत अनुगमनको लागि पाँच लाख, रेफरल एम्बुलेन्स व्यवस्थापनका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रदेश सरकारले जनकपुरमा तत्काल ५० शय्याको आइसोलेसन वार्ड स्थापना गरिसकेको र थप ५० शय्याको आइसोलेसन वार्ड व्यवस्थापनमा लागेको सामाजिक विकास मन्त्रालयस्रोतले जनाएको छ । प्रदेश जनकपुरमा रहेको मणिपाल अस्पतालको निर्माणाधीन भवनमा आइसोलेसन व्यवस्थापन गरिरहेको छ ।