
जनकपुर । काठमाडौंमा दोस्रोपटक कोरोना संक्रमित भेटिएको खबर प्रसारण भएलगत्तै सोमबार जनकपुर उद्योग वाणिज्य संघले आकस्मिक बैठक बोलाएर तत्काल ६ दिनका लागि बजार बन्द गर्ने घोषणा गरेको छ ।
संघले मंगलबारदेखि आगामी आइतबारसम्म अति आवश्यक वस्तुबाहेक सबै पसल र व्यवसाय बन्द गर्ने निर्णय गरेको हो । खाद्यान्न, किराना, औषधि, एलपी ग्यास, तरकारी, फलफूल र पेट्रोलियम पदार्थबाहेक सम्पूर्ण व्यवसाय बन्द गरी आ–आफ्नो घरमै बसेर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन भनिएको छ ।
बैठकपछि संघका अध्यक्ष ललित साह र महासचिव जितेन्द्र महासेठले संयुक्त विज्ञप्ति जारी गरेका छन् । “कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न जनकपुर उद्योग वाणिज्य संघले जीवनयापनका लागि दैनिक रूपमा अति आवश्यकबाहेक सम्पूर्ण व्यवसाय चैत ११ देखि १६ गतेसम्म बन्द गर्न सम्पूर्ण व्यवसायीलाई अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।