काठमाडौं । स्थानीय तहको निर्वाचन आउन साता दिन पनि बाँकी छैन । उमेदवारहरूमा चुनावी चटारो वैशाखको गर्मीभन्दा चर्को छ । २० वर्षपछि स्थानीयस्तरमा छाएको चुनावी धूपले खडेरीग्रस्त गाउँको राजनीतिमा आशाका पालुवा पलाउने त भइहाल्यो । उमेदवारहरूमा पनि खुसीको बेग्लै रौनक छाएको छ । त्यसो त उमेदवार र नेता–कार्यकर्ताहरू अहिले जनताको घर–दैलोमा भोट माग्न व्यस्त छन् । २० वर्षपछि स्थानीय चुनाव हुन लागेकाले प्रचारशैली पनि पुरातन धारबाट खासै माथि उठ्न नसकेको प्रतीत हुन्छ ।
माइकिङ, घरदैलो, अबिर–केसरीले चुनाव चिह्न बनाउने, नाचगान गरेर भोट माग्ने पुरानै ढर्रा हुन् । सूचना र प्रविधिमा आएको बहुआयामिक परिवर्तनले चुनावी प्रचार शैलीलाई धेरै प्रभावित पार्न सकेको देखिँदैन । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगश भट्टराईको कुरा मान्ने हो भने उमेदवारहरू अझै पूर्ण प्रविधिमा आश्रित भइहाल्ने अवस्था छैन ।
“हामी संक्रमणको ‘फेज’मै छौँ,” उनले स्वीकारे, “पुरानो प्रचारशैलीलाई छोडी हाल्ने अवस्था पनि छैन, नयाँमा पूर्ण रूपमा आश्रित हुन सक्ने अवस्था पनि छैन ।” सम्पूर्ण मतदाता प्रविधिसँग जोडिइनसकेकाले पुरातन प्रचारशैलीलाई नै अवलम्बन गर्नुपरेको उनको भनाइ थियो ।
भित्ते लेखन र पोष्टर टाँस्न निर्वाचन आयोगले नै निषेध गरेकाले गाउँ–सहर कुरूप हुन पाएनन् । तथापि त्यसको ठाउँ तुल व्यानरले ओगटेका छन् । त्यस्तै सामाजिक सञ्जाल (फेसबुक, ट्विटर)का भित्तो रंगिएका छन्, प्रचार सामग्री टाँसिएका छन् । त्यतिमात्र होइन कतिपय नेता र उमेदवारका फेसबुक पेजहरू ‘स्पोन्सर’ गरिएका छन् । र, त्यहाँ उनीहरूले आफ्ना प्रतिवद्धताहरू एकपछि अर्को गर्दै पोष्ट गरेका छन् ।
“पछिल्लो समयमा सामाजिक सञ्जाल बढी प्रभावकारी भएको छ । अधिकांश युवा सामाजिक सञ्जालमा पहुँच राख्छन्, उनीहरूलाई लक्षित गरेर उमेदवार तथा पार्टीले फेसबुक, ट्विटर, युट्युव च्यानल प्रयोगमा जोड दिएको हो,” भट्टराईले प्रष्टीकरण दिए ।
एमालेको फेसबुक लाइभ
एमालेको सामाजिक सञ्जालमा उपस्थिति राम्रै छ । ३० लाख संगठित सदस्य दाबी गर्ने एमालेको फेसबुक लाइक ९५ हजार छ । र, एमालेको पेज प्रायोजन गरिएको छ । स्थानीय निर्वाचनलाई लक्षित गरेर एमालेले हरेक दिन फेसबुक लाइभ गर्न थालेको छ । “आइतबार प्रदीप ज्ञवालीले फेसबुक कुराकानीमार्फत पार्टीको घोषणापत्र र चुनावी तालमेलका विषयमा प्रकाश पार्नुभयो, सोमबार घनश्याम भुसाल लाइभमा आउनुहुनेछ,” भट्टराईले जानकारी दिए । फेसबुक लाइभमार्फत हरेक दिन ५० हजार युवालाई जोड्ने एमाले लक्ष्य छ ।
त्यस्तै, युट्युव च्यानलमा पनि एमालेको उपस्थिति राम्रै छ । चुनावलाई लक्षित गरेर बद्री पंगेनीले गाएको ‘मै पनि एमाले, सही पनि एमाले’ बोलको गीत युट्युबमा ६ लाख पटक हेरिएको छ भने कांग्रेस र माओवादी केन्द्रको चुनावी गीत क्रमशः एक÷एक लाख पटक हेरिएको छ ।
कांग्रेस पनि कम छैन
घोषणापत्रलाई इन्फोग्राफ्स बनाएर प्रस्तुत गर्ने र सामाजिक सञ्जालमा पार्टीका प्रतिवद्धता सार्वजनिक गर्न कांग्रेस पनि पछि परेको छैन । अधिकांश उमेदवारका फेसबुक एकाउन्ट छ । कतिपयले ‘स्पोन्सर’ नै गरेका छन् । र, निर्वाचनलाई लक्षित गरी स्थापना गरिएको मिडिया डेस्क र सचिवालय प्रविधिमैत्री रहेको कांग्रेसको दाबी छ ।
उमेदवारहरूले आफ्ना प्रतिवद्धता संकल्पपत्रका रूपमा सामाजिक सञ्जालमा सेयर गरिरहेको र त्यसको उल्लेख्य प्रभाव परेको कांग्रेस नेता रमेश लेखक बताउँछन् । उनी भन्छन्, “सामाजिक सञ्जालको प्रयोगमा हामीले जोड दिएका छौँ । सामाजिक सञ्जालमा पनि नेपाली कांग्रेसको पक्षमा उत्साहजनक अवस्था देखिएको छ । जनमत र जनलहर देखिएको छ । यसबाट कांग्रेस उत्साहित छ ।”
माओवादी केन्द्रको नारा– काम गर्नेलाई चुनौँ, गफ गर्नेलाइ सुनौँ
सत्तारूढ दल माओवादी केन्द्रको उपस्थिति पनि सामाजिक सञ्जालमा उल्लेख्य नै छ । ऊर्जामन्त्री जनार्दन शर्माको नेतृत्त्वमा लोडसेडिङ हटेको विषयलाई उनीहरूले प्रमुख रूपमा उठाएका छन् । त्यस्तै आर्थिक वृद्धि, न्यून मूल्यवृद्धि, वैदेशिक लगानी १४ खर्ब, संविधान कार्यान्वयन, स्थानीय निर्वाचन आदि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा भएको भन्दै तीन विषयलाई सामाजिक सञ्जालमा बहसको विषय बनाएका छन् ।
र, एमालेको राष्ट्रवाद र विशेष गरेर जनआन्दोलनताका शान्तिपूर्ण जनआन्दोलनद्वारा गणतन्त्र स्थपना गर्ने कुरा बयलगाडा चढेर अमेरिका जानुजस्तो भएको भन्ने एमाले अध्यक्ष ओलीको भनाइलाई माओवादी केन्द्रका कार्यकर्ताले भिडियो बनाएर प्रचार गरिरहेका छन् । र, सामाजिक सञ्जालमा त्यो बढी लाइक सेयर भएका छन् ।
राप्रपा पनि फेसबुक लाइभमा
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि शनिबारदेखि फेसबुक लाइभमार्फत अन्तक्र्रिया गर्दै आएको छ । पार्टी अध्यक्ष कमल थापा नै प्रत्यक्ष कुराकानीमा आउने कार्यक्रम हरेक दिन साँझ ६–७ सम्म हुने पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । “हामी कोहीभन्दा कम छैनौँ, फेसबुक, ट्विटर, युट्युवमा पार्टीको उपस्थिति प्रभावशाली छ ।”
राप्रपा नेतृ रेखा थापाका ३२ लाख फ्यान फलोअर भएको पेज, त्यस्तै कोमल वली र पार्टी अध्यक्ष कमल थापा स्वयम्को फेसबुक र ट्विटर एकाउन्ट राप्रपाको प्रचारको थलो बनेका छन् ।
“हामी दैनिक पार्टीका गतिविधि, चुनावको घोषणापत्र र अन्य प्रचारका सामग्रीहरू फेसबुक ट्विटरमा पोष्ट गर्छौं । त्यसले प्रचारमा महत्त्वपूर्ण सहयोग पुर्याएका छन् । त्यस्तै राप्रपाले घोषणापत्र सार्वजनिक समारोह पनि उच्च प्रविधियुक्त (हाइटेक) बनाएको थियो,” श्रेष्ठ भन्छन् । अहिले घोषणापत्रमा उल्लेख गरिएको बुँदा समेटिएको इन्फोग्राफ्स बनाएर सामाजिक सञ्जालमा अपलोड गरिएको श्रेष्ठको भनाइ छ ।