
जनकपुर । धनुषामा अवैध मदिरा सेवन गरी मृत्यु हुने परिवारलाई प्रदेश २ सरकारले तीन लाख रुपैयाँको दरले क्षतिपुर्ति दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आफै सोमबार पीडित परिवारको घरमा पुगेर क्षतिपुर्तिवापत जनही तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।
मुख्यमन्त्री राउतसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा र पूर्व सांसद उर्मिला साहसमेतको टोलीले सोमबार दिउँसो पीडित परिवारहरुको अवस्था र घटनाको अनुगमन गरेको छ ।
होलीको दिन गत बुधबार विषाक्त मदिरा सेवन गर्ने ९ जनाको मृत्यु भइसकेको छ ।
छ जना उपचारको क्रममा अस्पतालमा भर्ना छन् । केही व्यक्ति समान्य उपचारपछि घर फर्केका छन् । मदिरा खाएर मृत्यु भएका परिवारहरुलाई क्षतिपुर्ति दिनुपर्ने आवाज प्रदेशसभा बैठकमा उठ्न थालेपछि सोमबार स्थलगत अनुगमन गर्न पुगेका मुख्यमन्त्री राउतले उनीहरुलाई जनही तीन लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यसैबीच, आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले तत्कालै प्रदेश स्तरीय सुरक्षा समितिको बैठक बसेर खुल्ला रुपमा उत्पादन तथा बिक्री वितरण हुने मदिरा नियन्त्रण गर्न पहल थालेको बताएका छन् । उनले सोमबारै बैठक बोलाएको र खुल्ला मदिरा नियन्त्रण गर्ने तयारी सुरु गर्न लागेको बताए ।
सांकेतिक तस्बिर