काठमाडौं । विश्व नवीन भाइरस कोभिड–१९ (कोरोना) बाट आक्रान्त छ । कोरोनाको उद्गमस्थल चीनको वुहान प्रान्त भए पनि संक्रमण क्षेत्र (केन्द्र) युरोप बनेको छ । एसिया प्रशान्त र दक्षिण एसियाली देशहरू पनि कोरोना (सङ्क्रामक भाइरस) बाट प्रताडित बनिरहेका छन् ।
कोरोना सङ्क्रमण विश्वव्यापी बनिरहँदा दक्षिण एसियाली देशहरूको साझा रणनीति तय गर्न सार्क (दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन) सदस्य देशको हैसियतले भारतले यसको अगुवाइ गरेको छ । १३ मार्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माइक्रो ब्लगिङ साइटमा ट्विट गर्दै नोबल कोरोना भाइरससँग जुध्न सार्क स्तरीय नयाँ योजना र रणनीतिको खाँचो औँल्याएका थिए ।
त्यही योजनाअन्तर्गत आज (आइतबार) साँझ सार्क देशका प्रधानमन्त्रीको भिडियो सम्मेलन आयोजना हुँदै छ । सम्मेलनमा सार्क देशमा सबैजसो प्रधानमन्त्री उपस्थित हुने बताइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भने निश्चत भइसकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका निम्ति पेटमा राखिएको पाइप (स्टेन्ट) निकाल्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । भिडियो सम्मेलनमा सहभागी हुने योजनामै उनी बिहानै अस्पताल पुगेको सूर्य थापाले जानकारी दिए । आलो घाउ र चिकित्सकले सङ्क्रमणको जोखिम औंल्याए परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली कन्फ्रेन्समा सहभागी हुने स्रोतको भनाइ छ ।
सार्कको अध्यक्षको हैसियतले नेपालले नै यसको अगुवाइ गर्नुपर्ने विज्ञहरूले खाँचो औंल्याएका छन् ।
सन् २०१४ मा १८औं सार्क शिखर सम्मेलन काठमाडौंमा आयोजना भएको थियो । सन् २०१४ को नोभेम्बर २६ र २७ गते काठमाडौंमा आयोजना भएको शिखर सम्मेलनपछि सार्क अनिश्चियको भूमरीमा फसेको छ । सन् २०१६ को नोभेम्बर ९ र १० गते पाकिस्तानको इस्लामावादका लागि १९औं शिखर सम्मेलन तय भए पनि त्यसपछि सार्क निश्क्रिय प्रायः छ । बरु, बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) तर्फ भारतको चासो रहँदै आएको छ । २०७५ भदौ १४ र १५ गते चौथो शिखर सम्मेलन काठमाडौंमै आयोजना भएको थियो ।
विश्वव्यापी माहामारीको रूप लिएको कोरोनाले मुर्झाएको सार्कलाई ब्युँताउने अपेक्षा गरिएको छ । “जसले आयोजना गरे पनि कोरोना भाइरसले सार्कलाई ब्युँताउन लागेको छ । नेपालले यो अवसरको सदुपयोग गर्नुपर्छ,” परराष्ट्रविद्, पूर्वमन्त्री भेषबहादुर थापा भन्छन् ।
“नेपालका कारण त होइन, अरू देशहरूबीच वैमनस्यता बढ्दा सार्क उपेक्षामा थियो । ढिलै भए पनि सही राम्रो प्रयास भएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि सार्क देशको साझा रणनीति आवश्यक छ,” थापाको जोड छ । आजको संवाद, सहभागिताले सुषुप्त अवस्थामा रहेको सार्क ब्युँतने उनको अपेक्षा थियो । ६ वर्षदेखि रोकिएको शिखर सम्मेलन हुने र सार्क लयमा फर्कने उनको विश्वास पनि थियो ।
सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो वार्ता आज
नेकपाका केन्द्रीय सदस्य तथा पार्टीका परराष्ट्र मामिला विभागका उपप्रमुख विष्णु रिजालको भने यसमा अलग्गै दृष्टिकोण छ । सार्कको अध्यक्ष देशको हैसियतले नेपालले नै यसको अगुवाइ गर्नुपर्ने उनको मत छ । लामो समयपछि सार्क आफ्नो उद्देश्यमा फर्किन लागेको देखिएकाले पनि नेपालको भूमिका अपेक्षित भएको उनको बुझाइ थियो ।
“लामो समयदेखि सार्क निष्क्रियजस्तै छ । खुला सिमानाका कारण सार्क सदस्य देशहरूको तुलनामा नेपाल उच्च जोखिममा छ । सार्क देशका नागरिकहरू आवतजावत गर्न पनि त्यति कठिन छैन । कोरोनाविरुद्ध लडन र साझा रणनीय तय गर्न नेपालले नै अगुवाइ गर्नुपर्थ्यो । नेपाल यसमा चुक्यो,” बाह्रखरीसँगको कुराकानीमा उनले भने ।
पेटभित्रको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री शिक्षण अस्पतालमा
पाकिस्तानी प्रधानमन्त्री खान आउलान् ?
भारत–पाकिस्तान विवाद मत्थर भएको छैन । चुनावपूर्वजस्तो तनाव त विद्यमान देखिँदैन तर कटुता करार नै छ । सार्क देशहरूको साझा भिडियो कन्फ्रेन्सप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुख खोलेका छैनन् । कोरोना रोकथाम, नियन्त्रणका लागि मोदीको प्रस्तावप्रति खान मौन छन् ।
भारत–पाकिस्तानको तनाव न्यूनीकरण गर्न पनि नेपालको पहलकदमीले भूमिका खेल्न सक्ने रिजालको बुझाइ छ ।
“नेपालले अगुवाइ गरेको भए पाकिस्तानी प्रधानमन्त्री पनि सहभागी हुनुहुन्थ्यो । कोरोना रोगबाट बच्न, जोखिम कम गर्न सार्क स्तरीय सहयोग आदान–प्रदानका लागि नयाँ खाले अवसर पनि हुन्थ्यो,” उनको तर्क छ ।