
काठमाडौं । पूर्वप्रधानमन्त्री भलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरू सडकमा रहेको र शिक्षकका मागहरू कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाए । सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद् भएको उनको भनाइ थियो ।
उनले शिक्षकका मागहरू सम्बोधन गर्नुपर्ने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई रहे पनि प्रधानमन्त्री ओलीले माग सम्बोधन नगरिदिँदा राजीनामा दिन विवश भएको आरोप लगाए । उनले शिक्षामा प्रगतिशिल परिवर्तनको कुरा कहाँ गयो ? भन्दै प्रश्न गरे ।
उनले अहिलेका नेतृत्वहरूसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्नेकुरा सोच्न नसकिने बताए । "कम्युनिस्ट पार्टीका एउटा नेता यो देशको प्रधानमन्त्री छन् । यो देशका झन्डै अढाइ लाख शिक्षकहरू हाल आन्दोलनमा छन् । सडकमा छन् । तर ती शिक्षकहरूको मागलाई कुल्चिएर यो देशको प्रधानमन्त्री हिँडेका छन्," उनले भने, "अझ आश्चर्यको कुरा के छ भने यही क्याबिनेटको शिक्षामन्त्रीले राजीनामा दिन विवश हुनुपरेको छ । शिक्षकहरूको माग सम्बोधन गरौँ भन्ने प्रधानमन्त्री नटेर्ने, त्यो बाध्यतामा शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो । हामीले शिक्षामा प्रगतिशिल परिवर्तन गर्छौं भनेका थियौँ । कुरा कहाँ गयो ।"
पूर्वप्रधानमन्त्री खनालले नेकपा (माओवादी केन्द्र) अवसरवादी पार्टी भएको उल्लेख गरे । केही दिनअघिसम्म कांग्रेसको पिठ्युँमा चढेर माओवादीले घमण्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरिरहेको बताए ।