-1744985964.jpg)
काठमाडौं । नेपाल शिक्षक महासंघले बुधबारदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन गर्ने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने अडान राखेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पछि सार्न निर्देशन दिइसकेका छन् । सरकारको निर्देशनपछि बोर्डले परीक्षा २१ गतेसम्म सारेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्री नभएको हुनाले वार्ताको पहल नै प्रधानमन्त्री ओलीले गरेका हुन् । महासंघको बैठकले सडक आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै आफ्ना अडानबाट टसमस नभएको सन्देश दिएको छ ।
त्यस्तै बैठकले कक्षा १२ को परीक्षाका कुनै पनि प्रक्रियामा सहभागी नहुन सम्बन्धित प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेपछि सरकार दबाबमा परेको हो ।
तर अहिलेसम्म शिक्षकका माग सम्बोधन गर्ने विषयमा सरकारले कुनै निर्णय गरेको छैन ।
प्रधानमन्त्री ओली शिक्षकप्रति आक्रोशित छन् भने माग पूरा गर्न नसकिने र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा पनि मंगलबार मुख खोलेका छन् ।
शिक्षक आन्दोलन चर्किँदै गएपछि शिक्षामन्त्री भट्टराईले सोमबार राजीनामा दिएकी हुन् ।
तर शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बुधबारदेखि आन्दोलनको मोडालिटी परिवर्तन गरेर ११ बजेदेखि २ बजेसम्म सडकमा आउने निर्णय भएको बताए ।
“यसअघि ९ बजेदेखि १२ बजेसम्म गर्दै आएको आन्दोलन भोलिदेखि ११ बजेदखि २ बजेसम्म हुन्छ । आन्दोलन थप सशक्त रुपमा अगाडि बढ्छ,” उनले भने ।
२१ दिनदेखि काठमाडौंको माइतीघर बानेश्वर केन्द्रित शिक्षकहरुको सडक आन्दोलन जारी छ । कक्षा १२ को परीक्षाको मुखैमा शिक्षकको आन्दोलनका कारण विद्यार्थीहरु भने अलमलमा परेका छन् ।
यसवर्ष कक्षा–१२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि एक हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ ।
नेपाल शिक्षक संघ सोलुखुम्बुका जिल्ला अध्यक्ष मदन राईले आफूहरु जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए ।
“सरकारले आफ्नो दम्भ देखाएको छ । आम शिक्षकहरुले पञ्चायतकालको ऐनलाई मान्नुपर्ने ? हाम्रो तलब बढाउ भनेको होइन । तीन–तीनपटक सम्झौता भएका मागहरु पूरा गर भनेका हौँ । अब पछि हट्दैनौँ,” उनले भने ।
उनले ०७५, ०७८, ०८० मा सरकारले गरेका सम्झौताहरु पूरा गर्नुपर्ने बताए ।
शिक्षकहरुको आन्दोलनले देशभरिका सरकारी विद्यालयमा पठनपाठन ठप्प छ । शिक्षकहरुकै दबाबका कारण सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको शिक्षकहरुको धारणा छ ।
राई थप्छन्, “शिक्षामन्त्रीले राजीनामा दिइसकेपछि अब शिक्षामन्त्रीको पद पनि प्रधानमन्त्रीसँगै छ । त्यसैले अबिलम्ब शिक्षकका मागहरु प्रधानमन्त्रीले पूरा गरिदिनुपर्छ ।”
त्यस्तै नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर आन्दोलनका लागि काठमाडौंमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ ।
परिषद्ले विज्ञप्ति जारी गर्दै काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुन २४ घण्टे अल्टिमेटम जारी गरेको हो ।
मागहरु के के छन् ?
मुख्यतः विद्यालय शिक्षा ऐन छिटो भन्दा छिटो जारी गर्नुपर्ने शिक्षकहरुको माग हो ।
सरकारले विगतमा पटक पटक शिक्षकहरुसँग गरेको सहमतिका बुँदा समेटेर विद्यालय शिक्षा विधेयक तयार गरी मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने माग शिक्षकहरुको छ ।
आन्दोलनरत शिक्षक महासंघसँग सरकारले २०८० असोज ५ गते सहमति नै गरेको थियो । माग पुरा गर्ने सरकारको आश्वासनपछि शिक्षकहरु त्यतिबेला आन्दोलन रोकिएको थियो ।
आश्वासनपछि पनि माग पूरा नहुँदा पुनः शिक्षकहरु सडकमा आउनुपरेको सुवेदीको भनाई छ । यसपालि माग सम्बोधन गर्ने अवस्थाको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने उनले बताए ।