काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शय्याबाट सन्देश पठाएका छन् ।
मिर्गौला प्रत्यारोपणपछि थप उपचार र स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सचिवालयका सदस्यसँग कुराकानी गर्दै स्वास्थ्यमा तीव्र सुधार देखपरिरहेको र यथाशीघ्र काममा फर्कने विश्वास व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओली र प्रमुख राजनीतिक सल्लाहकारबीच शुक्रबार बिहान भेट भएको थियो । प्रधानमन्त्री ओलीले छिट्टै म काममा फर्कने बताएको सल्लाहकार रिमालले ट्विटमार्फत् जानकारी गराएका छन् ।
“सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । “साथीहरूलाई भनिदिनूस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिटै म काममा फर्किन्छु,” उनले माइक्रो ब्लगिङ साइटमा ट्विट गरेका छन् ।
निजी चिकित्सक डा. दिव्यासिंह शाहले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको बताउँदै आगामी बुधबारपछि डिस्चार्ज हुने सम्भावना व्यक्त गरेकी थिइन् । १३ वर्षअघि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौैला प्रत्यारोपण गरिएका ओलीका गत बुधबार पुनः प्रत्यारोपण गरिएको हो ।