बुवाको बिजनेस थियो । खेलकुदमा दिलचस्पी थियो तर राजनलाई पढाइमा खासै ध्यान थिएन । कराँते, बास्केटबल, स्विमिङ खेल्थे । साइक्लिङ गर्थे । पढाइमा जस्तै बिजनेसमा पनि दिल बसेको थिएन । तर बुवा–आमा भन्थे– ‘बिजनेसमा यसलाई राम्रो छ ।’ राजनलाई पनि हो कि जस्तो लाग्थ्यो । कारण उनी पसलमा बसेको दिन बिजनेसको ग्राफ मजाले उकालो लाग्थ्यो ।
“तर मलाई बिजनेसले कहिल्यै तानेन । पकेट मनी सकिएपछि पसलमा बस्थेँ । म बस्यो कि ग्राहकको ओइरो लाग्थ्यो । बेच्ने मूल्यमा भन्दा केही पैसा बढाएर बेच्थें आएको नाफा खल्तीमा हाल्यो हिँड्यो,” राजन चलाखी सुनाउँछन्, “स्कुल पढ्दाको खर्च भाउ बढाएर आएको पैसाले नै टथ्र्यो मेरो ।”
०५० सालमा एसएलसी दिए । रत्नराज्यलक्ष्मी क्याम्पस भर्ना भए । एक दिन गए, हेर्न । तर दोहोर्याएर कलेज गएनन् । ललितकला भर्ना भए । त्यहाँ पनि उस्तै । दुईचार दिनभन्दा धेरै गएनन् ।
घरबाट यो गर, त्यो गर कसैले भनेन । स्वतन्त्र भएर हिँडिरहे राजन । घरमा रेडियो थियो । त्यसमा गीतहरू बजिरहन्थे । बुवाआमा नै गजल तथा गीत सुन्थे । प्रेमध्वज प्रधान, ध्रुव केसी, बच्चु कैलासका गीतहरू खुब बज्थे । “राम्रो म्युजिक लिस्नरको घरमा जन्मिएको रहेंछु, जसका कारण मैले राम्रा गीत सुन्न पाएँ,” परिवारप्रति कृतज्ञ सुनिए राजन ।
हरेक बिहान ओसोको प्रवचन बज्थ्यो घरमा । त्यसको प्रभाव उनी पनि साथीहरूसँग बस्दा तर्कसहित गफ गर्थे । तर गीतको असर भने उनमा देखिएन । सुन्थे सकियो । गुनगुनाउँदैन पनि थिए ।
मासर्ल आर्ट खेल्न रङ्गशाला जान्थे । त्यहीँ उनले भेटे कीर्तिपुरे साथी हीरारत्न महर्जन । ०५२ सालको एक दिन राजन हीरारत्नको घर पुगे । उनी त गितार बजाउँदोरहेछन् । गितार बजाउँदै गीत गाए । राजनलाई पनि रमाइलो लाग्यो भने, ‘खै म पनि बनाउँ, कत्तिको आउँदोरछ ।’
“मैले पहिलोपटक गितार छोएको थिएँ । गीतारका तारमा मेरा औंला सहजै खेलेको देखेर हीरारत्नले मलाई भन्यो– लौ पहिलोपटक गितार छोको भनेको होइन, बजायौ त । तिम्रो त म्युजिकमा पो स्कोप छ कि क्या हो ?”
‘तिम्रो त म्युजिकमा पो स्कोप छ कि क्या हो ?’ हीरारत्नको यो शब्दले राजनको दिमागमा हान्यो ।
हो त ? आफैंले गम्भीर भएर सोचे ।
त्यसपछि उनले खोज्न थाले अब्बल म्युसियन, जसले उनलाई राम्रोसँग सिकाओस् ।
शनिबार नेपाल टेलिभिजनमा गीत गाउँथ्यो । राजन हेरिरहेका थिए । लास्मित राईले गाएको गीत आयो ‘नआउ सपनाभरी मेरो विपना विरानो हुन्छ’ । यसको कम्पोजिसन उनलाई खुब मन पर्यो । यो गीतको कम्पोजर थिए, न्ह्यू वज्राचार्य । राजनले खोज्न थाले न्ह्यूलाई । तर भेटिएनन् न्ह्यू । गीतसंगीतबारे उनलाई थाहा थिएन, तर त्यहीबेला गीतकार को, संगीत कसको र गायक को हो ? उनलाई कौतुहल हुन्थ्यो ।
कहाँ सिक्ने होला त ?
धेरैपछि पत्तो लाग्यो, साधना कला केन्द्र । कसले पढाउँछ थाहा थिएन । तर उनी भर्ना भए । “पहिलो दिन कक्षामा गएर बसिरहेका थिए । पढाउन आए न्ह्यू वज्राचार्य,” राजन त्यो दिनको खुसी सुनाउँछन्, “कस्तो संयोग, म जसलाई खोज्न भौतारिरहेको थिएँ । उहाँ नै कक्षामा आउनुभयो ।”
तर, न्ह्यूलाई राजनले आफूले तपाईंलाई नै खोजिरहेको भनेनन् ।
सायद उनले खोजेको नै संगीत रहेछ । संगीतका सुर र ताल पक्डिए । संगीतका सरगमहरूमा रमाए । अरुले भन्दा राम्रो गरेछन् । ६ महिना सिकेपछि छात्रवृत्ति पाए तीन वर्षका लागि । न्ह्यू वज्राचार्यको दोस्रो ब्याचको उत्कृष्ट विद्यार्थी भए । साधना कला केन्द्रमा समर क्लास नै उनले लिन थाले ।
न्ह्यू भन्थे, ‘गितार बजाएर मात्रै हुँदैन । कम्पोज पनि गर । जस्तो जान्दछौ त्यस्तै गर । भएन, बिग्रियो भने म मिलाइदिउँला । कम्पोज गरेनौं भने जतिसुकै सिक गिटारिस्ट मात्रै हुन्छौ ।’
गितारमा वेस्टन क्लासिकल कोर्ष गरिसकेपछि न्ह्यूले भने, “अब मैले जानेको जति सिकाइसकें, अब जाओ ।”
न्ह्यूले नै भनेका थिए, “अब इस्टर्न क्लासिकल पनि सिक ।”
त्यसपछि राजन पुगे गुरुदेव कामतको शरणमा । तीन वर्ष साधना गरे त्यहाँ पनि । गुरुदेव कामतपछि राजनले रोजे गान्दर्भ संगीत विद्यालय । चन्दन श्रेष्ठसँग संगीतको थप ज्ञान लिए अर्को तीन वर्ष ।
संगीत कक्षामा बसेर मात्रै होइन साथीसंगतीबाट पनि ज्ञान लिन सकिन्थ्यो । सुरेश अधिकारीसँग पनि उनले संगत गरे ।
० ० ०
संगीतका सुरहरूमा वर्षौं खेले पनि राजनलाई गायक हुने रहर भने पलाएन । म्युजिक डाइरेक्टर हुने चहाना थियो । सिक्दै गर्दा नै दुईटा गीत कम्पोज गरे । अरुलाईगाउन दिए । ०५४ मा राजनले व्यान्ड फर्म गरे, ‘निषाद्’ । ब्यान्डमा राजनसँगै थिए, दिवाकर श्रेष्ठ, मणि कर्माचार्य, सुदीप कर्माचार्य थिए । ब्यान्डको भोकलिस्ट र बेस गिटारिस्ट थिए, राजन ।
यही ब्यान्डले ‘नजरको पहिलो भेटमा’ बोलको गीत रेकर्ड पनि गर्यो । गीतको भिडियो पनि निर्माण गरे । रेडियो र टेलिभिजनमा गीत राम्रै बज्यो । पत्रपत्रिकामा पनि राम्रै कभरेज भयो । सानोतिनो पहिचान बन्यो उनीहरूको ।
‘निषाद्’ले एउटा एल्बम निकाल्यो । मुनलाइट म्युजिकले क्यासेट बजारमा ल्याएको थियो । क्यासेटमा उनले साइन त गरे, तर कति क्यासेट बिक्री भयो उनलाई थाहै भएन । राजनले पो संगीतलाई करिअर सोचिसकेका थिए । अरुका लागि त त्यो रहरैरहरमा केही समय लागेको क्षेत्र न थियो । सबैले छोड्दै गए । राजन एक्लो भए ।
सोलो एल्बम निकाल्ने तयारी थाले । दिदीले गीत लेखिन् । राजनले कम्पोज गरे । एरेन्ज गरे । म्युजिक ट्रयाक तयार पारे । अब उनलाई चाहियो, गायक ।
“आफ्नो पैसा परेपछि आफैं गाऊ, किन अरु खोज्नू ।” लागि गरिदिने दिदीले भनेपछि मान्नै पर्यो । गीत लेख्ने पनि दिदी नै थिइन् । ०५६ वैशाख १ गते एल्बम ‘रोहिणी’ भोलम–१ रिलिज गरे । गीत लेख्ने दिदी राहिणीको नामबाट जुरेको थियो, एल्बमको नाम ।
‘बसमा छैन मेरा मन’ यो एल्बममा रहेको गीत मजाले चल्यो । वर्षकै हिट गीतका रुपमा पत्रपत्रिकाले छापे । राजनले अवार्ड पाए । त्यो भन्दा पनि ठूलो त उनले पाए, इज्जत ।
राजनमा अचानक धुन निस्कियो । उनी आफैंलाई मन पर्यो । दिदीले पनि मन पराइन् । राजनले भने, “यो धुनमा गीत लेख्नु पर्यो ।” दिदीले एकएक हरफ गरेर केही दिनमा पूरा गरिन् ।
“दिदी एक हरफ फुर्न बित्तिकै मेरो कोठाको ढोका ढक्ढक्याउँदै राजन सुन त– अर्को लाइन आयो भन्दै सुनाउनुहुन्थ्यो, त्यसरी बनेको गीत थियो त्यो,” राजनले ‘बसमा छैन मेरा मन’ जन्मिदाको प्रसंग सुनाउँदा खुसीका धर्साहरू उनको मुहारमा प्रष्टै अनुभूत गर्न सकिन्थ्यो ।
“मेरो परिचय नै यही हो । अहिले पनि मलाई यही गीतले चिन्छन्, स्रोता दर्शकले,” राजन नोस्टाल्जिक हुन्छन् ।
अर्को एल्बम पनि बजारमा ल्याए राजनले । नाम थियो– ईशान । तर ठीक त्यहीबेला दरबार हत्याकाण्ड भयो । ‘ईशान’को नामोनिशान रहेन । यो एल्बमा गीत लेख्ने, गाउने, कम्पोज तथा एरेन्ज सबै आफैंले गरेका थिए राजनले ।
० ० ०
‘ईशान’ पछि राजनको विवाह भयो । विवाहसँगै काँधमा जिम्मेवारी थपियो । बुवाआमाको पैसामा गीत गाउँदै हिँडेका उनलाई अब त्यो सुविधा रहेन । काम सुरु गरे । ओपस स्टुडियोमा रेकडिस्टको काम गर्न थाले । रोयल टोन स्टुडियोमा पनि रेकडिस्ट भएरै जागिर खाए । त्यही समय च्यानल नेपालमा प्रवेश गरे राजन, प्रोगाम प्रोड्युसर तथा प्रिजेन्टरका रुपमा ।
करिब तीन वर्ष काम गर्दा उनले त्यहाँ ‘नाद’ चलाए । गीतसंगीतको गहीराएमा गएर चलाइएको कार्यक्रम थियो, ‘नाद’ । यसमा उनले नेपाली गीतसंगीत र बाजागाजाको इतिहास खोतले । संगीतका मर्मज्ञहरूसँग अन्तर्वार्ता गरे । संगीत प्रवीण नरराज ढकाल, सितार बादक विजय वैद्य, गुलाम अलीको गीतमा हार्मोनियम ट्युन गर्ने व्यक्तिदेखि डमरुबादक खोजेर अन्तर्वार्ता लिए । संगीतको विद्यार्थी भएकाले आफूलाई काम लाग्ने कुरा पनि सोद्थे अन्तर्वार्तामा । जागिर गर्दाको तीन वर्षलाई राजन ‘पेड स्टडी’का रुपमा लिन्छन्, अहिले ।
च्यानल नेपाल बन्द हुने अवस्थामा पुग्यो । साथीहरू भर्खर खुलेको कान्तिपुर टेलिभिजनतिर लागे । राजनलाई भने अरु टेलिभिजन जान मन लागेन । “आफूलाई अप्ठ्यारो परेका बेला जागिर दिएको टेलिभिजन छोडेर अन्त जानुभन्दा यो पेसा नै ब्रेक गरेर म्युजिकमै फर्किन्छु भन्ने निर्णय गरेँ,” भावुक भएर पुरानै काममा यू–टर्न गरेको निर्णय सुनाए राजनले ।
० ० ०
राजन गीतसंगीतको कार्यक्रम त गरिरहेका थिए । तर गीतसंगीतको कामबाट टाढिएको तीन वर्ष बितिसकेको थियो । उनले गीत गाउँदाभन्दा दर्शकको रुचि बदलिसकेको थियो । अनिल सिंहका गीत चलिरहेको समय थियो । उनले सोचे मैले गाए जस्ता गीत चल्लान् र अब ? त्यस्तो कम्पोज बिक्ला र अब ?
गाउने त रहर थिएन नै कम्पोज पनि गर्ने कि नगर्ने ? मनमा द्विविधा थियो । एरेन्जमेन्ट गर्दा पो राम्रो होला उनले सोचे । यसअघि उनले जति पनि गीतमा काम गरेका थिए, सबै आफ्नै लागि मात्रै गरेका थिए । पैसा लिएर अरुको काम गरेका थिएनन् ।
अब गर्नै पर्यो । सकियोस् अथवा नसकियोस् । उनीसँग मिङ्मा शेर्पा जोडिन आइपुगे दुईटा गीत लिएर । कम्पोज आइपुगेपछि उनले त्यसमा बाजागाजा मिलाउन थाले । एरेज्मेन्ट तयार भयो । गीत बाहिर आयो । गीत थिए, ‘छम छम पाउजु बनाउँदै’ र ‘नमुना बनाइदेऊ’ ।यी गीत एरेन्जमेन्ट गर्दा उनले प्रति गीत ३५ सय रुपैयाँ लिएको सम्झना छ उनलाई ।
दुईटै गीत ‘सुपर हिट’ भए । सायद राजनलाई एरेन्जमेन्ट विधाले स्विकार गर्यो । यस्तै बुझे उनले । राजनलाई कामको ओइरो लाग्न थाल्यो । डमीको सिडी थाक लाग्थे । एरेन्जमेन्टकै लागि उनलाई ६ महिनासम्म कुर्न थालियो । बिहान स्टुडियो छिरेका उनी भोलिपल्ट बिहान भाले बासेपछि अब त सुत्नुपर्यो भनेर सुत्थे ।
त्यसपछि उनलाई लाग्यो मिहिनेत अनुसार पारिश्रमिक कम भयो । चार हजारबाट बढाएर आठ हजार बनाए । “मैले आठ हजार रुपैयाँ लिन थालेपछि मान्छे यति धेरै भनेर तर्सिन थाले । केही कम पनि भयो होला काम लिएर आउनेको संख्या । तर कामको अभाव र प्रेसर कहिल्यै भएन,” उनी भन्छन् ।
रोज मोक्तानका गीत पनि गरिसकेका थिए उनले । थुप्रै सेलोमा काम गरेका उनी सेलोमा परिवर्तन ल्याउन आफ्नो एरेन्जमेन्टले काम गरेको सुनाउँछन् । ‘मै ठूली भैछु रे’ को रिमिक्समा राजनले १२ हजार लिए । ‘बनमा फूल्यो फूल’ पनि उनैले गरे । यी दुईटै गीत हिट भए ।
० ० ०
एरेन्जमेन्टको काम गरिरहेका बेला कान्तिपुर टेलिभिजनबाट अडियो को–अर्डिनेटरको अफर आयो । लोडसेडिङले देश थलिएको थियो । त्यसको असर उनको काममा पनि परेको थियो । कम्तीमा महिना मरेपछि तलब त आउँछ भनेर ‘हुन्छ’ भने उनले । तर उनले फुर्सदमा आफ्नो काम पनि गर्न पाउनुपर्ने सर्त राखेका थिए, भुषण दाहालसँग । उनलाई अनुमति थियो ।
दुई वर्ष कान्तिपुरमा काम गरेपछि १८ घण्टाको लोडसेडिङ, राजनीतिक अस्थिरता आदिले गर्दा उनलाई नेपाल बस्न मन लागेन । परिवारसहित ०६५ मा लन्डन उडे । पराईभूमि नेपाल जस्तो किन हुन्थ्यो र ? भएन । तीन महिना बेरोजगार भए ।
नेपाली कम्युनिटीमा साउन्डको केही काम त गरे । तर त्यो नै व्यवसाय हुँदैन थियो ।पछि काम त पाए तर बिस्कुट फ्याक्ट्रीमा । लन्डनमा पनि राजनलाई संगीत मोहले तानिरह्यो । उनी आफूले म्युजिक रोजेको भन्दा पनि म्युजिकले आफूलाई रोजेको भन्न रुचाउँछन् । “म्युजिक रोज्ने मान्छे थुप्रै छन् । म्युजिक रोजेर केही हुँदोरहेनछ । म्युजिकले चाहिँ रोज्नुपर्दोरहेछ,” राजन भन्छन्, “देवताले भक्त छान्छन् भने जस्तै रहेछ यो पनि ।”
तीन वर्ष बित्यो । तर उनको मन रम्न सकेन । लन्डन सहर त चमकदमक थियो । तर आठ घण्टा उभिएर काम गर्ने उनको जिन्दगी निरश निरश थियो । त्यसपछि उनले कठोरभएर निर्णय गरे– नेपाल फर्किन्छु । राम्राराम्रा सामान किने । लन्डन पुगेका सुगम पोखरेल र अविनाश घिसिङलाई माइकलगायत केही विद्युतीय सामग्री पठाइदिए । केही आफू आउँदा ल्याए ।
० ० ०
तीन वर्षपछि नेपाल फर्किएर बागबजारमा उनले कार्यथलो बनाए । ताराप्रकाश लिम्बूको कम्पोजमा एउटा गीत आयो । उनले एरेन्जमेन्ट गरे । दीपक लिम्बूले गाए । गीत थियो– मैले माया गर्न जानिन होला । तेस्रो इनिङ्सको पहिलो गीत नै ‘सुपरहिट’ भयो ।
पहिलो गीत नै दर्शकले औधी रुचाएपछि उनले एउटै गीतको २५ हजार रुपैयाँ लिन थाले ।
‘सुर्के थैली’ नेपालमा युट्युबमा पहिलोपटक एक करोडपटक हेरिएको गीत थियो । त्यसलगत्तै अर्को त्यस्तै गीत हिट भयो, ‘पूर्वपश्चिम रेल’ । यी गीतलाई पनि पछि पार्दै अर्को गीत आयो, ‘कुटुमा कुटु’ । यी तीनवटै गीतको एरेन्जमेन्ट राजन ईशान कै हो ।
‘गोजीमा दाम छैन’, ‘पिलायो साथीले’, ‘ओई झुमा’, ‘प्रियतमा’, ‘चोरेर लग्यो यो मन कसैले’, ‘चरीले काफल खायो’ लगायत उनले एरेन्ज गरेका दर्जनौं गीत हिट भए ।
एरेन्जरको नाम खासै आउँदैन । अहिले जति म्युजिक भिडियोमा उल्लेख हुन थालेको छ, त्यो राख्नुपर्छ भनेर जोडबल गर्नेमध्येका अगुवा नै उनै हुन् । दोस्रो कम्पोजरका रुपमा एरेन्जर हो भन्छन् राजन ।
एरेन्ज गर्ने कुनै सूत्र हुँदैन, यो त कलाकै एउटा पाटो हो । कहिले हप्ता पनि कट्न सक्छ एउटै एरेन्जमेन्टका लागि भने कुनै दिन आधा घण्टामै पनि सकिन्छ ।
शब्द र संगीत राम्रो छ भने एरेन्जमेन्ट पनि राम्रो हुन्छ, गीत नै राम्रो छैन भने एरेन्जमेन्ट पनि राम्रो हुँदैन । एरेन्जरको मुडमा पनि भर पर्ने राजनको अनुभव छ । “टेन्सन छैन र दिमाग चङ्गा छ भने एरेन्जमेन्ट पनि राम्रो हुन्छ । तनावमा एरेन्ज गरेको छ, त्यसको प्रतिछाया देखिहाल्छ,” राजन सुनाउँछन्, “कति त तपाईंले गीत छोयो कि हिट हुन्छ भन्दै आइपुग्छन् । तर त्यसो होइन । गीतले एरेन्ज तान्ने हो, एरेन्जले गीत तान्ने होइन ।”
जति धेरै विश्वास गरेर राजनसम्म संगीतकर्मी आउँछन्, त्यति धेरै दबाब महसुस हुन्छ उनलाई । “मलाई कसैले ३५ हजार रुपैयाँ तिरेर एरेन्ज गराउँछ भने त्यो मलाई गरेको विश्वास हो । मलाई तिरेको पैसा मेरो कामले मैले उसलाई फिर्ता गर्नु मेरो धर्म हो । सकिन भने मेरो काम र मप्रतिको विश्वास नै संकटमा पर्छ । मलाई दबाब दिने यही कुराले मात्रै हो,” उनी भन्छन्, “मैले गरेका धेरै त्यस्ता गीत पनि छन्, जो सोचेको भन्दा धेरै सफल पनि भएका छन् । राम्रा गीतलाई धेरै फूलबुट्टा भर्नै पर्दैैन ।”
० ० ०
‘सुर्के थैली’ले युट्युबमा पहिलो रेकर्ड बनायो । राजनराज शिवाकोटीले आफ्नो एल्बमका लागि भनेर राजनसमक्ष ल्याएका थिए । गीत सुनेर राजनले शिवाकोटीलाई भनेका थिए, “मितज्यू यस्तो खालको गीत चल्ने बेला भयो अब, यो गीत चल्छ ।उचित समयमा तपाईंले बजारमा ल्याउन लाग्नुभयो ।”
यसो भन्नुको कारण पनि छ राजनसँग । नेपाली प्याटर्नको गीत हराएको धेरै भइसकेको थियो । दर्शकले आफ्नै लवजको गीत सुन्ने बेला भइसक्यो । ‘सुर्के थैली’ चलेपछि राजनराजलाई दबाब थियो, अर्को गीत कसरी चलाउने ? एउटा गीत त झुक्किएर पनि चलिहाल्छ नि भन्ने टिप्पणीले उनी तनावमा थिए ।
‘पूर्वपश्चिम रेल’को शब्द र कम्पोज ल्याएर सुनाए । राजनले एरेन्ज गरे । आत्तिरहेका राजनराजलाई उनले भने, “यो गीत सुपरहिट हुन्छ मितज्यू सिरक ओडेर सुते हुन्छ ।”
गीत रिलिजको दिन राजन अमेरिका थिए । राजनराज नेपालबाट मेसेन्जरमा कल गर्थे । आज गीत रिलिज छ...., कस्तो हुने हो... । साँझ फेरि कल गरेर भन्थे, ...घण्टा भइसक्यो ८० हजार मात्रै भ्युज छ । राजन सम्झाउँथे, “सियोर सट हिट हो किन आत्तिराको ?” नभन्दै गीत सोचेजस्तै लोकप्रिय भयो ।
आसिफ साहले चलचित्र बनाउँदा त्यसको सांगीतिक पक्ष राजनले हेर्छन् । ‘२ रुपैयाँ’ बनाउने भए । राजनराजसँग राजनले गीत मागे । राजनराजले भने, “मसँग एउटा दामी गीत छ ।”
सुन्नबित्तिकै राजनराजलाई मनपर्यो । आसिफले पनि मन पराए । सबैलाई सँगै राखेर उनले एरेन्ज गरे । त्यहीबेला अरुले भने यो गीत पनि करोड भ्युज जान्छ । राजनले भने, “यो करोड होइन सुरुमै दुई करोडबाट काउन्ट हुन्छ ।” गीत थियो, ‘कुटुमा कुटु’ । नभन्दै यो युट्युबको रेकर्ड ब्रेकर गीत बन्यो । ‘कुटुमा कुटु’ युट्युबमा १२ करोडभन्दा धेरै पटक हेरिसकिएको गीत हो ।
राजन पनि गायक हुन् । पहिलो पहिचान नै गायकको रूपमा बन्यो । उनले ‘कुटुमा कुटु’मा राजनराजलाई साथ दिएका छन् । अहिले पनि उनी गीत गाउन सक्छन् । गीत गाएपछि स्टेज उक्लिन सकिन्छ । देशविदेश घुम्न पाइन्छ । ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ भने जस्तै नाम पनि हुन्छ, दाम पनि । तर अहँ उनलाई यो मोह पलाएन । बरु उनलाई हरेक गीत एरेन्ज गरेपछि मनमा एउटै प्रश्न आउँछ, राम्रो गायक÷गायिकाको किन खडेरी छ ?