
तराई झर्नुमा मलाई आनन्द लाग्छ । उखरमाउलो गर्मी होस्, लू चलेको होस् अथवा शीतलहरीले सर्वत्र आक्रान्त होस्, खासै असर गरेको मलाई अनुभूत हुँदैन ।
जन्मेदेखि एउटा लामो कालखण्ड त्यही तराई भूमिमा बिताएँ । आज दुई/तीन दशक काठमाडौंमा बसेँ भन्दैमा मैले ‘ओहो, जनकपुरको गर्मी मलाई नसम्झाउनुस्, म त जनकपुर/जलेश्वर जानै सक्दिनँ !’ भन्न सुहाउँछ भन्ने लाग्दैन ।
त्यहीँ हुर्केको मलाई दुई/तीन दिनको बसाइले थप अरू दिन बस्न सहज बनाउँछ । त्यसैले वैशाख, जेठदेखिका तीन/चार महिना जनकपुर, वीरगन्ज, नेपालगन्ज, विराटनगर, भैरहवा जानुपर्दा मैले कहिल्यै नाइँ भनिनँ ।
बैंकको आलेप विभाग र सुपरिवेक्षण कार्यालयमा कार्यरत रहँदा जेठको भुंग्रोसरी तातोमा विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, सिरहा, राजविराजको बारबार चक्कर लगाएको छु मैले ।
०००
यो पनि हो जेठको महिना, साल २०६३ ।
बिहानै एयरपोर्ट पुग्नुपर्ने थियो । आठ बजेको काठमाडौं–सिमरा उडान भ्याउनुपर्ने । सात बजे त छिर्नैपर्यो । गौरीघाटस्थित कोठाबाट समयमै निस्किएँ ।
बुद्ध एयरको जेट स्ट्रीम विमानबाट सिमरा पुग्न धेर समय लाग्दैन । बढीमा १२/१५ मिनेट । त्यो बेला पनि ‘चकलेटै चुस्न भ्याइँदैन’ भनाइ चर्चित थियो ।
साढे सात नबज्दै राजेन्द्र दाइ (पराजुली) र म बोर्डिङ पास लिएर पर्खिरहेका थियौँ, वेटिङ एरियामा ।
कति बेला बोलाउँछन् ! म यही सोचिरहेको थिएँ ।
यो सोच्नुपर्ने कारण बनेको थियो, २०५० सालमा सिमरा उड्दाको प्रसंग । अनुहारमा अनायास चवन्नी मुस्कान फैलियो, १३ वर्षअघिको घटना सम्झिएर ।
राजेन्द्र दाइसँग बेलाबेला गफिए पनि मानसपटलमा ५० साल रुमल्लिरहेको थियो ।
अफिसकै कामको सिलसिलामा हामी सातजना टोली भएर वीरगन्ज जाँदै थियौँ । सुपरिवेक्षण कार्यालयले निरीक्षणका लागि हामीलाई खटाएको थियो । त्यो दिन पनि बिहान आठ बजेकै उडान समय तोकिएको थियो । जहाज थियो तत्कालीन शानेवानीको ।
साढे आठ वा नौमै उडे पनि भात खान वीरगन्ज पुगिन्थ्यो । त्यसैले कोठाबाट चिया मात्रै सुर्क्याएर हिँडेको थिएँ । लगभग सबैले चिया मात्र खाएका थिए ।
डोमेस्टिक एयरपोर्टमा कुरेर बस्नुबाहेक अर्को उपाय थिएन । दिन धमिलो पनि थिएन, अचेलको वातावरणीय प्रभावझैँ । हो, असार महिना भएकाले कालासेता बादलले आकाश ढाकिएको थियो ।
जहाजै उड्न नसक्ने गरी बादल लागेको होइन, किनभने अरू केही जहाजहरू ओहरदोहर गरिरहेकै थिए ।
यतिले मात्रै जहाज ढिलो हुनुपर्ने थिएन । तथापि, त्यस दिन हामीले आठ, नौ, दश गर्दै एयरपोर्टमै १२ बजायौँ !
यता, पेटमा बाह्र बजिरहेको थियो भोकले । महँगो भए पनि एक/दुई कप चिया र बिस्कुट उदरस्थ गरेका हौँ । तर, त्यतिले मात्रै पेट के मान्थ्यो !
शानेवानीका कर्मचारीहरूलाई ‘प्लेन कतिखेर उड्छ ?’ भनेर सोधिएको हो । तिनको जवाफ चित्तबुझ्दो कहिल्यै लागेन । तर, गर्न नै के सकिन्थ्यो र, पर्खिनुबाहेक ।
हामी सातसहित अरू पनि थिए सिमरा उड्ने । सबैको हालत उही थियो, खाली पेटमा अँध्यारो अनुहार !
करिब साढे १२ बजेतिर मात्रै आरएको एभ्रो विमानले हामीलाई बोक्यो । र, केही बेरपछि सिमरा हवाईअड्डामा ओराल्यो ।
भोको पेटलाई बल्ल सिमरा एयरपोर्टबाहिर रहेका केही होटेलहरूको सहारा मिल्यो । त्यसपछि मात्रै हामी वीरगन्जतिर लागेका थियौँ ।
करिब १३ वर्षपछि एयरपोर्टको प्रतीक्षालयमै यो घटना स्मरण गरिरहेको थिएँ र डराइरहेको थिएँ, कतै आज पनि १२ नै पो बजाउने हुन् कि !
त्यसो भएन । नौ नबज्दै सिमरामा ओर्लिएर राजेन्द्र दाइ र म मूल सडकमा पुगिसकेका थियौँ । र, गौर जाने बस समाइसकेका थियौँ । यहाँदेखि हाम्रो यात्रा रौतहटको गौरका लागि सुरु भएको थियो ।
बसमा खासै भीड थिएन । यात्रु चढाउँदै ओराल्दै बस एक/डेढ घण्टामा चन्द्रनिगाहपुर पुग्यो । र, गौरतिर मोडिएर रोकियो । चालक गाडीबाट ओर्लिए र चिया पसलमा छिरे ।
यो मौका छोडने कुरै भएन । ब्याग सिटमै राखेर हामी पनि चिया पसलमा छिर्यौँ । भोक मेट्नु थियो । त्यहीँ गुरुजीसँग कुरा गर्दै खाजा र चिया खायौँ ।
यसको करिब एक/डेढ घण्टाउप्रान्त हामी गौर बजारको चोकमा उभिएका थियाैँ । यहाँ बादल थिएन । चर्को घामको वर्चस्व थियो । सिमरामा पनि घाम नै थियो । बिहानी घाम भएकोले त्यति चर्को थिएन ।
यता, यो तीन/चार घण्टाको यात्रामा ज्यानमा टाँसिएको गन्जीले पसिना पिउनुसम्म पिइसकेको थियो । पसिना भ्याइ नभ्याइ ठाउँकुठाउँ बगिरहेको थियो, खहरेसरी !
गौर बस बिसौनीमा ओर्लिएपछि अलिअलि चलेको हावाले ठन्डा गरायो । भिजेको गन्जीले थोरै बतासमा पनि शीतल महसुस गराइरहेको थियो ।
गरम प्रदेश । चर्को र असह्य गर्मी अस्वाभाविक थिएन । अहिले त गर्मी मात्रै खप्नु थियो । साँझदेखि लामखुट्टेको निरन्तर आक्रमण खेप्न बाँकी नै थियो ।
यी यस्ता अप्ठ्यारो परिस्थिति जे भए पनि काम गर्नु थियो । गर्मीमा हामी नभए पनि अरू कोही न कोही त आउनै थियो । यसपालि हाम्रो भागमा पर्यो, गौर–गरुडा गर्मीको त्यो भुंग्रो ।
पहिलो काम कार्यालयमा पुगेर सम्पर्क गरिसकेपछि खाना खानु थियो । मधेसको नुनिलोपिरो चट्किलो खाना खाइसकेपछि बस्ने व्यवस्थाका लागि लज खोजियो ।
करिब पाँच मिनेटको दूरीमा रहेको एउटा लजमा लिएर गए अफिसकै एक मित्रले । भुइँतलामा एउटा कोठा देखाए सेठजीले । ठ्याम्मै घाम नलाग्ने त्यो कोठा चिसो न चिसो थियो । असनको कुनै घरको छिँडी कोठाझैँ !
पंखा चलाएपछि झनै चिसो महसुस भयो । झ्यालढोकामा मसिनो जाली लागेकाले लामखुट्टेको वर्चस्व खासै देखिएन । चिसो कोठा भएकाले अँध्यारो भए पनि त्यही कोठा छान्यौँ । अनि, सामान बिसायौँ ।
करिब छ/सात दिनको हाम्रो गौर बसाइ त्यही होटेलको चिसो छिँडीमा बित्यो । काम सिध्याउने चटारोले बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म अफिसतिरै भइन्थ्यो ।
कारण, हामी बस्ने होटेलमा खाना खुवाउँथेनन् । हाम्रो काम सुत्ने र बिहान फ्रेस भएर निस्कने मात्रै हुन्थ्यो ।
बीचमा आयो शुक्रबार । राजेन्द्र दाइ आफ्नो घर हेटौँडातिर लागे । उनी आइतबार मात्रै फर्किए ।
म भने गौर नै बसेँ । जनकपुर जाऊँजस्तो नलागेको होइन । तर, दाइ दुई घण्टामा घर पुग्थे । मलाई पाँच घण्टा लाग्थ्यो । त्यसैले मैले हिम्मत गरिनँ ।
त्यो सात/आठ दिन हाम्रो खानपानको ठेगान भएन । कहिले कुन होटेल त कहिले कुन । सुस्वादु खानाको खोजीमा एक साता यत्तिकै बित्यो । बरु, थरीथरीको चिसो भने चाखियो, सातु सर्बतदेखि तारगाछीबाट निकालिएको तारीसम्म ।
गौरको काम टुंग्याएपछिको गन्तव्य थियो, गरुडाबजार । चन्द्रनिगाहपुर र गौरको बीचमा रहेको यो बजारमा म २०५० साल चैतमा पहिलोपटक पुगेको थिएँ ।
हुनत ५० सालमै गौर पनि गएको हुँ । धु्रव नेपाल सर त्यहाँ शाखा प्रबन्धक थिए । एक रात गौर बसेर भोलिपल्ट गरुडा गएको थिएँ । आज पनि बेलाबखत नेपाल सर भेट हुँदा गौरको कुरा चल्छ ।
अनि, राराको कुरा पनि चल्छ । कारण, नेपाल सरले नै मलाई राराक्षेत्रको गमगढी शाखामा काजमा खटाएका थिए ।
आइतबार बिहानै पराजुली दाइ हेटौँडाबाट गौर आइपुगे । त्यसपछिका दुई दिनमा काम सकाएर हामी गरुडा पुग्नु थियो ।
गरुडामा पनि बाहिरै बस्नुपर्ने थियो । अफिसमा गेस्टरुम भए पनि हामी होटेलमै बस्थ्यौँ । तर, गरुडामा होटेल थिएन ।
बिहानै गरुडा पुगे पनि दिउँसोसम्म बस्ने टुंगो लागिरहेको थिएन । रात बिताउन मात्रै गरुडादेखि गौर जाने कुरो आउँथेन । त्यो झ्याउलो बोक्ने कुरै थिएन ।
जे होस्, तारतम्य मिल्यो । एकजना कर्मचारी बस्ने घरमै एउटा बेडरुम खाली रहेछ, त्यसैलाई होटेलका रूपमा हामीले चार दिन प्रयोग गर्यौँ । माथिल्लो तलामा रहेको त्यो कोठामा सुत्न भने अलिक सकस भयो ।
झुल लगाए पनि लामखुट्टेको ताण्डव हामीले झेल्नुपर्यो । हावा चल्छ भनेर झ्याल खोल्यो, लामखुट्टेको जुलुस कोठाभरि फैलिन्थ्यो । कारण, झ्यालमा जाली थिएन ।
कोठामा पंखा थियो, तर चाहिएको समयमा बिजुली हुन्थेन । गर्मीले भन्दा पनि लामखुट्टेले गर्दा त्यो चार दिन सकसपूर्ण काटियो ।
अबको यात्रा सिन्धुलीतिरको थियो । सिन्धुली पहाडी क्षेत्र । त्यहाँ त यतिसाह्रो लामखुट्टेको आतंक नहोला ! हामी यही गन्थन गर्दै बर्दिबासतर्फ जाने गाडी समाउन चपुर पुग्यौँ ।
माओवादी पार्टी मूलधारको राजनीतिमा भर्खर आएको थियो । त्यस दिन चपुरमा माओवादीले आयोजन गरेको र्याली र जुलुुसले बाटो बन्द थियो । पूर्व–पश्चिम दुवैतिरका बसहरू आइरहेका थिएनन् ।
राजेन्द्र दाइ र म अनि हामीजस्ता सयौँ मानिस पूर्व जाने गाडीको प्रतीक्षामा खडा थिए ।
समय घर्किरहेको थियो । तर, हाम्रो गन्तव्यतिरको गाडी कतै देखिएको थिएन ।