site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मायामा माया, सृष्टिभित्रका दृष्टि र ठहरे हुए लम्हे

मायामा माया
(मुक्तकसंग्रह : नानीबाबा अधिकारी)
कवि नानीबाबा अधिकारीको पहिलो मुक्तककृति ‘मायामा माया’ केही समयअघि सार्वजनिक गरिएको छ । नानीबाबा सेवानिवृत्त शिक्षक हुन् ।

कृतिकार नानीबाबाले पुस्तकभित्र आफ्नो मन्तव्यमा लेखेकी छन्, “...कहिले कविता त कहिले मुक्तक लेखेर स्कुल, कलेजमा साथीहरूलाई सुनाउँदा उनीहरू खुसी भए । केही साथीहरूले वा...वा गर्थे । कसैले साह्रै राम्रो छ भनिदिन्थे । मन झनै फुरुङग हुन्थ्यो । अनि झन् लेखन कार्यमा हात चल्दै जान थाल्यो । ... ।”

कृतिको भूमिकामा कवि साहित्यकार विधान आचार्यले लेखेका छन्, “नेपाली साहित्यमा देखिएका मुक्तकमा शृङ्गारिक, पे्रमिल वा मायाका भावका मुक्तकको बाहुल्य छ । समकालीन राजनीतिक वा सामाजिक व्यङ्ग्य चेतना अर्को पक्ष हो । यी दुईभन्दा बढी भेदहरूमा समकालीन मुक्तक कम्ती मात्र प्रस्तुत छन् । तर मुक्तककार नानीबाबा अधिकारीले यस कृतिमा समेटेका मुक्तकहरू भने माया, प्रेम वा शृङ्गारिक भावले मात्र पूर्ण छन् ।”

पुस्तकमा मुक्तककार रामकाजी कोनेले लेखेका छन्, “आफ्नो प्रथम प्रयासमा नै प्रेम र प्रणयका अति गहकिला मुक्तकहरू पस्किन सक्ने मुक्तककारबाट नेपाली मुक्तक साहित्यले आगामी दिनमा अझ स्तरीय मुक्तकहरू पाउने अपेक्षा राख्न सकिन्छ । ... ।”

यो कृतिभित्र ४५० मुक्तक पढ्न सकिन्छ ।

नेपाल स्रष्टा समाजद्वारा प्रकाशित ११८ पृष्ठको कृतिको मूल्य २९९/– रुपैयाँ राखिएको छ ।

०००

सृष्टिभित्रका दृष्टि
(पाठकीय दृष्टिकोण : विष्णु ओली)
विभिन्न पुस्तक ल्याइसकेका विष्णु ओलीको अर्को किताब हो, ‘सृष्टिभित्रका दृष्टि’ । यो पुस्तकमा उनले लेखेका विभिन्न किताबमाथिको टिप्पणी र उनका पुस्तकमा लेखिएका पाठकीय समीक्षालाई दुई भागमा प्रस्तुत गरेका छन् ।

मेरो भन्नुमा लेखक ओलीले लेखेका छन्, “प्रस्तुत पुस्तकलाई दुई खण्डमा विभक्त गरी पहिलो भागमा आफूले अध्ययन गरेका पुस्तकहरूका बारेमा आफ्ना विचारहरू प्रस्तुत गरेको छु भने पुस्तकको दोस्रो भागमा मैले लेखेका पुस्तकहरूका बारेमा विभिन्न महानुभावहरूले व्यक्त गर्नुभएका विचारलाई समेटेको छु । ... ।”

यो पुस्तकमा कुल ३९ समीक्षात्मक आलेख प्रस्तुत छन् ।

श्रीमती देवी ओलीद्वारा प्रकाशित १६८ पृष्ठको यो पुस्तकको मूल्य १७५/– रुपैयाँ राखिएको छ ।

०००

प्रगीत
(गीतसंग्रह : बुद्धिसागर पौड्याल)
गीतकार बुद्धिसागर पौड्यालको गीतहरूको संग्रह हो, ‘प्रगीत’ । उनको यो पुस्तक केही समयअगाडि बजारमा ल्याइएको हो ।

आफ्नो मन्तव्यमा कृतिकार पौड्यालले लेखेका छन्, “मेरा त्यसबखतदेखिका साथै यस पुस्तकका भएका रचनाहरू प्रेमिल भावनात्मक जीवन परिवेशसँग मेल खाने र विशेषगरी प्रेम, माया प्रीति अनि मिलन बिछोडसँग सम्बन्धित पक्षका यथार्थसँग बेरिएका वा जेलिएका छन् । बैँसालु मनका भावना र उकुसमुकुस नै यसको मुहान हो ।”

पुस्तकको ब्लर्बमा साहित्यकार शीतल गिरीले लेखेका छन्, “अलिक पृथक् गीतमा रमाउनु, गीतमा दर्शन खोज्नु भनेको नयाँ कुरा अपनाउनु पनि हो । प्रचलित मूल्यहरूको आवश्यकता आज अनिवार्य भएर यस संग्रहमा प्रकट भएको छ । ... ।”

साहित्यकार खोलाघरे साहिँलोले भूमिकामा लेखेका छन्, “प्रगीत संग्रहभित्र समावेश गीतहरू अधिकांश शृङ्गार र सप्लावित छन् । यी गीतहरू धेरैजसो एकालापी छन् । युवाहरूमा गीतका शब्दहरूले बढी छुने र त्यसमा पनि प्रेमभावका गीतहरू मानिसको उमेरका हिसाबले यौवनमा बढी प्रिय लाग्ने हुँदा यहाँ भएका गीतहरू युवा मनलाई नै लक्ष्यमा राखेर लेखिएका हुन् जस्तो लाग्छ । ... ।”

ओरिएन्टल पब्लिकेसन हाउसद्वारा प्रकाशित १६४ पृष्ठको यो गीतसंग्रहको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

बाँसुरीको धुन
(कथासंग्रह : टीकाराम रेग्मी)
साहित्यकार टीकाराम रेग्मीद्वारा लेखिएका कथाहरूको संग्रह हो, ‘बाँसुरीको धुन’ । यो कथाकृति रेग्मीको पाँचौँ पुस्तक हो ।

आफ्नै कलममा कथाकार रेग्मीले लेखेका छन्, “संसार उज्यालो छ । प्रेमिल छ । उत्साहवर्धक छ । कर्मयोगीका लागि हरेक क्षण बहुमूल्य छ, हरेक गन्तव्य सम्भवन छ र स्वर्ग यहीँ छ । सुख यहीँ छ । खुसियाली यहीँ छ । आनन्द यहीँ छ ।  प्रकृतिसँगै हृदय पनि प्रकाशमय छ । चेतना स्फटिक छ । चिन्तन गतिशील छ । हरेक प्रभातीकिरणसँगै नयाँ जीवन प्राप्त छ । हरेक जीवनका आफ्नै लक्ष छन् र ती सबै आफ्नै लक्षप्राप्तिका लागि गतिमान छन् । ... ।”

रेग्मीले यो कृतिमार्फत १५ कथा पस्किएका छन् ।

सुनवर्षी बुक हाउसद्वारा प्रकाशित २२४ पृष्ठको यो पुस्तकको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।

०००

ठहरे हुए लम्हे
(गजलसंग्रह : बसन्त सागर)
गजलकार तथा कवि बसन्त सागर (बसन्त चौधरी)को नवीनतम गजलसंग्रह हो, ‘ठहरे हुए लम्हे’ । गीत र कविताका माध्यमबाट आफ्ना भावना पोख्दै आएका बसन्तको यो गजलकृति हिन्दी र उर्दु भाषामा छ ।

यो कृतिभित्र देवनागरी र उर्दु लिपिमा गजल पढ्न सकिन्छ । उनका यसअघि थुप्रै काव्यकृति तथा निबन्धसंग्रह सार्वजनिक भइसकेको छ ।

बसन्त सागरले आफ्नो भनाइमा लेखेका छन्, “ठहरे हुए लम्हे, मात्रै शब्दहरूको संकलन होइन, बरु मेरा भावनाहरू तथा अनुभवहरूको दस्तावेज हो । मलाई आशा छ यस संग्रहका गजलहरूले तपाईंको हृदयलाई छुनेछ, तपाईंको अनुभूतिलाई झक्झकाउने छ र तपाईंलाई आफैँभित्र हेर्ने एउटा नयाँ दृष्टिकोण दिनेछ ।”

उर्दु एकेडेमी नेपालका अध्यक्ष इम्तियाज वफाले पुस्तकमा आफ्नो विचार राखेका छन् ।

यो कृतिभित्र ८२ गजल छन् । एउटा गजलको सेरले भन्छ–
जान ये क्या मुस्कुरा कर ले गये
जाते–जाते दिल चुराकर ले गये

उर्दु एकेडेमी नेपालद्वारा प्रकाशित १८० पृष्ठको यो कृतिको मूल्य ३२५/– रुपैयाँ राखिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro