site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अक्षरका दाना 

चाचु ढुंगाना 


पूर्णविराम लागेका 
इच्छा, रहरहरूलाई
प्रौढशिक्षाले गर्दा 
फेरि 

Argakhachi Cement Island Ad

जिन्दगीको 
कखरा
बाह्रखरी 
क का कि 
कलाई आकार का 
ह्रस्वदीर्घ
अ आ इसँगै 
सिक्दै छु 

इकारउकार गुन्दै  
उकालीओराली
घरधन्दा 
मेलापात
ढिकीजाँतो
लितपोत
अर्मपर्म गर्दै  

कनीकुथी 
लाटी माइलीको
छोराको चिठी
पढेर सुनाउन 
सक्ने भएकी छु

बैँसालु छोरीको
सुसाइड नोट  
मनमनै वाचन गर्न 

बाकसमा फिरेका लासको 
ज्वरो अरबको
थर्मोमिटरमा नाप्न 

अनि,
आफ्नो नाम लेखेर
डिको दिँदै छु ।     .
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०७:४५
प्रतिक्रिया दिनुहोस्