site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रेमको निर्माण !

भौतिक विलास र प्रविधिले आजको विश्व एक कारखानामा रूपान्तर भएको त्यति धेरै भएको त छैन, तर यस्तो लाग्छ– संसार हिजैदेखि यस्तो थियो । सदैव यस्तै रहनेछ ।

दैनिक नवीन प्रविधिको प्रयोगले हामी पनि प्राविधिक हुँदै गएको कुरा पक्कै मनन भएको हुनुपर्छ । नत्र बिहान शतप्रतिशत सत्य भएको कुरा बेलुकी शतप्रतिशत असत्य भएको भ्रामक कुरा हाम्रो मस्तिष्कले पक्कै विश्वास गर्दैनथ्यो ।

आजको युगका हामी यही बिहान–बेलुकाको फरक कुरासँग द्वन्द्वरत रहन विवश छौँ । जुनसुकै समाज होस्, धर्तीको जुनसुकै कुनो किन नहोस्, हामीलाई प्रविधिले हाम्रो मानसिकता समेत प्राविधिक र क्षणिक बनाइरहेछ ।

मानवीय संवेदनालाई परिमुग्ध पार्नु मानव इतिहासकै कलंकित कुरा हो । तर, हामी प्रमुग्धकै दिशामा छौँ । प्रविधिइतर हुने हैसियत कसैको छैन आजको युगमा । तर, हामी प्रविधिकै प्रयोगलाई साधन बनाएर जीवनको अन्तर्य केलाउन पनि सक्छौँ ।

तपाईं हुनुहुन्छ र तपाईंको तन्दुरुस्ती तपाईंसँगै छ भने तपाईंले आफूलाई हेर्ने आफ्नो प्रेमलाई हेर्ने समय निकाल्नैपर्छ ।

समय र मान्छेको जीवन पानीमा कोरिएको रेखा हो । न भेट्टाउन सकियो न त देखाउन सकिन्छ कसैलाई । तपाईंको अनुभूति अरू कसैले गरेकै हुँदैन । अझ जोवन या यौवन त त्योभन्दा कम । समयको भेलले यसरी हुत्याउँछ नि, हुत्तिनेलाई समेत थाहा हुँदैन ।

म त्यसरी नै हुत्तिएको हुँ र किनार लागेको अनुभूतिको स्तरमा भेट्छु आज आफूलाई । जसलाई म खुलेर सम्बोधन गर्छु, उसलाई मेरो बारेमा सबै थाहा छ । यो उसको र मेरो पनि भ्रम हुनसक्छ ।

भ्रम सदैव नकारात्मक हुँदैन रहेछ । उनलाई जबजब म फुर्सदमा नियाल्छु, उनी पूर्ण आध्यात्मिक मौनमा गइसकेकी हुन् जस्तो प्रतीत हुन्छ । म आफू यो जगत्को कोलाहलमा रमाइरहेको छु अथवा रमाइरहेको देखिएको छु ।

म हरेक दिन एकै दिनचर्या दोहोर्‍याइरहेछु, जो मान्छेले वर्षौंअघि सुरु गरेको थियो । यो क्रम अधिकांश मान्छेको अन्त्यसम्म चलिरहनेछ । यो दैनिकको निरन्तरता देखेर बेलाबेला मेरो मानसिकतामा आत्महत्याको कुरा आउँछ ।

मान्छेहरू आजको दिनमा यति धेरै उदार छन् कि एक शब्द आत्महत्याका विरुद्ध सल्लाह, सुझाव र सहानुभूति दिन तम्तयार भएर बसेका छन् । मानौँ, उनीहरू आत्महत्या रोक्नकै लागि अवतार लिएका हुन् ।

आवरणमा रमाउन सिकेका मान्छेहरू कठोर सत्यसँग डराउँछन् । बरु, हत्या गर्न सजिलो ठान्छन् । जीवजनावर र मान्छे मार्नु या हत्या गर्नुचाहिँ सतही हत्या हो ।

उनीहरूले दैनिक कति विचारको हत्या गरे ? कति प्रेमको हत्या गरे ? कति सदाचारको हत्या गरे ? त्यसको हिसाब राख्ने मनको समेत कैयौँपटक भएको हत्याको हिसाब कोसँग होला ?

जब एकै शैलीमा, एकै अनुभूतिमा, एकै स्वादमा सधैँभरि जीवनलाई लतार्नु छ भने आत्महत्याको बारेमा सोच्नु स्वाभाविक हुन्छ । कि त चरणबद्ध रूपमा जीवन बाँच्ने कलाको बाटोमा हिँड्ने साहस गर्नुपर्‍यो ।

पौराणिक पात्र सिसिफसजस्तो एउटा ढुंगो पहाडमाथि लानु र फेरि त्यो ढुंगा फेदीमा झार्नुको दैनन्दिनी मृत्युपूर्वसम्म निरन्तर गर्ने एक पाषाण मानवभन्दा के अर्थमा भिन्न छु म ?

अथवा, तिमी अर्थात् उनी पनि । यो चक्रमा सामेल छन् उनी पनि, त्यही भोजन त्यही निद्रा । त्यही क्रोध त्यही घृणा र भय । त्यही प्रणय त्यही मैथुन । त्यसबाट माथि उठ्न आफैँलाई एक अध्यात्मको बाटोमा हिँडेको आभासमा छन् उनी ।

मेरा लागि (सायद उनका लागि पनि) जीवनमा दुईपल्ट सुन्दर इन्द्रेणी लाग्यो । हामीभित्रका पीडा, हर्ष र विस्मय अनुभव गर्ने संवेदना क्षमता आफसे आफ तीव्र भएको थियो ।

आकर्षणको कमजोरी र तीव्रता दुवैमा हेर्नलायक थियो । इन्द्रेणीका रङ कहाँ स्थायी हुन्थे र ! भौतिक दूरी र अनुपस्थितिका स्मृतिले थपेका भावहरू काव्यात्मक हुनु स्वाभाविक थियो ।

ती क्षणिक मधुर पल टुटेपछि यो हृदयस्थिति काव्यात्मक अभिव्यक्तिका लागि एक व्याकुल स्थिति हो । उनका मुद्रा र अभिव्यक्तिहरू कविताको कति नजिक थिए ।

तर, मैले त्यसलाई कुनै आकार दिन सकिनँ । त्यस्ता उर्वर पललाई उनले पनि अक्षरको आकार दिन सकिनन् । आखिर आकार पनि त अस्थायी हो । त्यसलाई पनि पछ्याउने र सजाउनेको अभावमा निष्प्राण र निष्प्रभावी हुन्छ । कति खण्डकाव्य र महाकाव्य अलिखित भएर बसेका होलान्, कसलाई पो फुर्सद छ र खोजी बस्ने ।

उसो त नारीको रहस्यमय जीवनभित्र सधैँ एकनासको काव्य निहित हुन्छ । लुकिरहेकै हुन्छ । त्यसलाई सूक्ष्मदर्शी कवि या कलाकारले मात्र दृश्यचित्रमा उतार्ने हो ।

उनलाई थाहा छ, सौन्दर्यको मुख्य सर्त रुग्ण चेतनाबाट मुक्त हुनु हो । जुनसुकै प्रकारको संकीर्णता र मत आग्रह सौन्दर्यको साधक होइन, बाधक हो । उनलाई धन, यौवन, मान र शारीरिक तथा स्थुल सौन्दर्यका सीमाहरूबारे राम्रो ज्ञान छ, थियो ।

संसारमा कमजोर पुरुषको कमजोरी नै सुन्दरताको आकर्षण हो । आकर्षणका बाटा अनेकौँ छन् । लालायित हुनुका पाटा विविध छन् । आफ्नो नखरा प्रदर्शन गरेर कमजोर नारीहरूलाई ईष्र्यालु बनाउने प्रपञ्च छैन उनीसँग । उनले थप यो कुरा पनि थाहा पाएको हुनुपर्छ कि धेरै सुन्दर शरीर भएका नारीहरूले संसारमा आफ्नै लागि र अरूका लागि पनि आनन्दभन्दा कष्ट बढी ल्याएका हुन्छन् ।

उनलाई थाहा मात्र होइन, पलपल स्थायी अनुभूत होस्, यौवनसँग बाँधिएको सौन्दर्य क्षणभंगुर हुन्छ । यौवन गइसकेर पनि उनलाई ऐना हेर्न मन लागिरहोस् । उनलाई पुराना शृंगारका सीमित साधन फ्याँकिदिन मन नलागोस् ।

संसारमा सजिने भनेका स्मृति मात्रै हुन्, कुनै भौतिक त कुनै वैचारिक । त्यसैले त विगत प्रिय लाग्छ जोकोहीलाई । संसारका लिखित अभिलेखको आधार भनेकै स्मृति हो ।

यी कामनाहरू उनीसम्म पुग्न पाउलान् या नपाउलान्, तर सोचाइको धागो एउटै छ भने लेखेर देखाउन पर्दैन । अनुरोध, आदेश या अपेक्षा राख्नै पर्दैन । उनका हरेक सूर्योदय नयाँ होऊन् । प्रत्येक काम दोहोरिएको भान नहोस् । जिन्दगी भ्रम हो, ठिकै छ एक भ्रम थपियोस् कि उनको जीवनमा आएको प्रत्येक पल नयाँ हो ।

जहाँ म उपस्थित भएर उनलाई जीवनका आयाममा नवीनता थपिरहूँ । कल्पना गर्छु कि म पुगेको छु उनका प्रत्येक ढुकढुकीमा । र, उनी छन् मेरा हरेक तन्तुका सूक्ष्म चालमा ।

अतीत र भविष्य त जीवन र मृत्युजस्तै हो, यी दुवै कुरालाई एक स्थानमा जोड्नु छ भने मन र बुद्धि एकै स्थानमा केन्द्रित गर्न जरुरी हुन्छ । यो एक गहन जीवनदर्शन मात्र होइन, भोगाइको अभिन्न यथार्थ पनि हो । उसलाई थाहा छ, यो संसार दुई कुरामा अडिएको छ ।

ब्रह्माण्ड बाह्य र आन्तरिक भएर रहेको छ । अनुभव हुने गरी धर्ती र आकाश छ । प्रकाश बुझाउन उज्यालो अँध्यारो छ । अनुभूत गर्न सुख र दुःख मात्र छ । जन्म र मृत्यु जीवनका दुई सत्य हुन् । ध्यान र तप मनलाई स्थिर राख्ने दुइटा तत्त्व हुन् ।

गणितमा प्लस माइनस सबैभन्दा महत्त्वपूर्ण छन् । कुनै कुरा बन्न त्यो वस्तुको आवश्यकता अनिवार्य छ । प्रत्येक उत्पादनमा सुधार आवश्यक छ । ठोस, तरल, ग्यासबाहेक जीव र वनस्पतिको जीवनचक्रमा पुरुष र स्त्री अंश हुन्छ । दुवै भिन्न पनि छन्, एकाकार पनि छन् । दृश्य पनि दुइटा छन् । केही नदेखिनु पनि देखिनु हो ।

मान्छेले मात्र आफूलाई अब्बल र बुद्धिमान ठान्छ । तर, यो धर्तीका जुनसुकै जीव र वनस्पतिलाई उसको जीवन चल्न/चलाउन मान्छेले सहयोग गर्नुपरेको छैन । धर्म कहिलेकाहीँ कानुनको रूपमा थियो । आचरण आज पनि कानुन हो । जतिसुकै कामदारलाई रोजगारी दिनुहोस्, तपाईंको चरित्र बनाइदिन सक्दैनन् उनीहरू ।

संसारका हरेक मान्छे भिन्न हुन् । भिन्नताको भ्रम अर्धसत्य हो । जोकोही आफूलाई विशेष सम्झन्छ । मौलिक विशेषता भएको व्यक्तिले कामले चिनाउँछ आफूलाई । मान्छे अनुहारले चिन्न कहिल्यै सकिन्न । व्यवहार र चरित्र चिन्न लामोछोटो संगत अपरिहार्य छ ।

दार्शनिकहरू आत्मज्ञानीभन्दा चिन्तन र तर्कशील हुन्छन् । तर्कको वकालत र भोगाइमा समानता हुनेहरू नै ज्ञानको नजिक हुन्छन् ।

प्रशंसाको उकालो र आलोचनाको ओरालोहरू सबैको जीवनमा आउँछन् । यस्तो बेला नै हो अहम् जोगाउनुपर्ने, उम्लिन र चुहिनबाट । नत्र अहम् मात्र एउटा यस्तो बल हो, आफैँमा निहीत हुन्छ र जो कसैले मोलमोलाइ गर्न सक्दैन ।

आफ्नो वैचारिकीको आयतन बढाउन मान्छेले अनेकौँ उपाय गर्छ । देखाउने र वास्तविक कुरामा समानता पाउनु आजको युगको सबैभन्दा ठूलो आश्चर्य हो । उनका यी धाराप्रवाह युक्तिले मलाई मौनताको शिविरमा लैजान्छ ।

उनी साँच्चिकै एउटा लिखित किताब भइदिएकी भए म नामसहित पढ्न सुझाउँथेँ । उनी त एक अलिखित ग्रन्थ हुन् । उनको आयामका पाना कुनै अक्षरले कोचाकोच हुन्छन् त कुनै बिल्कुलै खाली ।

तर, ती खाली पानामा पनि म विचित्रको चित्र सजाउँछु । सायद प्रेम भनेको यही होला । उनको स्पष्ट भनाइ हुन्छ– म प्रेमिका भए पनि तपाईंको शारीरिक दुखाइ बाँड्न सक्दिनँ । सानो ठेस पनि तपाईं आफूले मात्र सहनुपर्छ । ठेसभन्दा जटिल समस्याबाट जोगाउन आफ्नो स्वास्थ्यसँग सजग रहनुहोस् ।

स्वच्छ भोजन, प्रशस्त पानी र भरपुर निद्राले तपाईंलाई स्वस्थ राख्नेछ । मानसिक विचलन भए आउनुहोस्, मिलेर छलफल गरी समाधान खोजौँला । तपाईंले सानो झुट बोल्नुभएको म थाहा पाउनेछु । त्यो थाहापछि म सम्पर्कविहीन भएँ भने दुःखित नहुनुहोला ।

तपाईं आफ्नो घर मजबुत बनाउन मलाई प्रयोग गर्नुहोस् । कमजोर या भताभुंग पार्न होइन । मेरो अनुपस्थितिले मजबुती बढ्छ भने त्यो तपाईं पनि स्वीकार्नुहोस् र मलाई पनि स्वीकार हुनेछ ।

प्रेम कहीँ कतै बिझाउनु हुँदैन । प्रेमले कसैलाई कोप्छ भने त्यो प्रेम नै हुन सक्दैन ।

आज प्रेम र यौन मुछिएको छ । यौनसम्पर्कबिनाको प्रेम प्रेमिल हुन नसकेको देखिन्छ । त्यहाँ भनिने र बोलिने प्रेम मात्र छ । यौनको माग मात्र छ । माग हुने र आपूर्ति नहुने व्यवस्था कहिल्यै टिक्दैन ।

तर, प्रेम कुनै व्यवस्था होइन । यौनसम्पर्क मान्छेका लागि अति नै ठूलो उत्सव हो । तर, यहाँ बिहे उत्सव हुन्छ, यौन व्यवहार दालभात तरकारी अर्थात् भतेर हुन्छ । तपाईं अहिले जे हुनुहुन्छ शारीरिक रूपमा बाआमाको मिश्रित जिन र उहाँहरूको यौनसम्पर्क हुने बेलाको उहाँहरूको मानसिकताको उपज पनि ।

अझ बढी तपाईंको विचार, बुद्धि र विवेकशील व्यवहार पूरै तपाईंको बाआमाको आहारविहार र विचारमा निर्धारित हुन्छ । त्यसैले त एकजोडी आमाबाका सन्तान भिन्नभिन्न सोच र शैलीका हुन्छन् । कम्पनी होइन, जीवन प्रक्रिया ताकि एकै ब्रान्डको उत्पादन होस् ।

यौन व्यवहार व्यवस्थित र योजनाबद्ध हुनु आफ्नो र भावी सन्ततिको जीवनका लागि पनि निकै महत्त्वपूर्ण छ । यसमा लज्जा लपेटेर यसलाई तहसनहस नपारेको राम्रो । उनीसँग जुनसुकै विषयमा तर्क गर्न पाउनु नै मेरो आनन्द हो । आखिर प्रेमको अर्को नाम आनन्द पनि रहेछ ।

मान्छेका अनुभूतिमा छाएका दुई कुरामा एउटा कुरा स्पष्ट छ, अर्को अस्पष्ट अर्थात् खोज्नुपर्ने अवस्थामा छ । यसलाई मान्छेले विपरीत मान्दै आयो । अँध्यारोलाई, दुःखलाई, माइनसलाई बुझ्न यसको अर्को पाटोलाई धेरै महत्त्व दिइयो ।

दुःख त्यहीँनेर हुन गयो । दुवै कुरा एक अर्कोसँग जोडिएका हुन्छन् भन्ने बुझाइको अभावमा अल्झियो मान्छे । त्यसैले त उसलाई आज पनि उस्तै लाग्छ रे, अन्धकार दिन र चहकिलो रात ।

फेर्ने सासदेखि लाग्ने आससम्मलाई गुरु मान्छे ऊ । गुरु हुँ भनेर आउनेमा गुरु देख्न नसकेपछि आँखा चिम्लेर खोजी गरेकी हो उसले ।

अनि, प्रत्येक पाइलामा, प्रत्येक दृश्यमा, आँखा खोल्दा होस् बन्द गर्दा जे भेटिन्छ सबैमा गुरु पाएपछि उसको खोजको यात्रा स्थिर छ आजकल । कस्तो विरोधाभासपूर्ण कुरा नि स्थिर यात्रा !

हो, उनको मनदेखि हेर्दा यहाँ कुनै कुरा विरोधाभासपूर्ण छैन । सबै सामान्य छ, पूर्ण छ । के हुनुपर्छ, कति हुनुपर्छ सब कुरा योजनाबद्ध छ । बन्द सिसाभित्रको चिनीमा रहेको कमिलो हेर्नु त कति बेलै रोकिएको हुँदैन ।

आजको मानव समाज ती कमिलाभन्दा के–के कुरामा फरक छ ? तर्कका कारखानाको अभाव आजको मानव मस्तिष्कलाई छैन ।

उनलाई मैले एक प्रेमिका भनेको छु । म उनको निजत्व दर्साउने आकारप्रकार, तौल, उचाइ, छालाको रङ र नाक, आँखाको परिचय दिन आवश्यक ठान्दिनँ । यसले तपाईंको मनमा अनावश्यक निर्णयको स्थान बन्न जान्छ ।

बरु, यसो गरौँ– उल्लेख्य यावत् गुणले भरिएको/भरिएकी प्रेमीप्रेमिका बनाऊँ । कृपया तपाईं अर्को निर्णयमा नपुगिहाल्नुहोस् । कल्पनाको दहमा तैरिएर यथार्थको तह भुलेको नठानियोस् ।

संसारमा तपाईंको कोही त छ तपाईंलाई मन पराउने अथवा तपाईंले मन पराएको, प्रेम गरेको । प्रेम भन्दै छु म, माया होइन ल ! माया र प्रेम भिन्न कुरा हो । जसको बयान यसअघि धेरैतिर भएको छ ।

एकजना भए पुग्छ । तपाईंको प्रिय हुने मान्छे यत्तिको छ भने तपाईं उसलाई निर्धक्क प्रेमी या प्रेमिकाको परिचय दिन सक्नुहुन्छ । पतिलाई प्रेमी र पत्नीलाई प्रेमिकामा रूपान्तरित पनि गर्न सक्नुहुनेछ ।

प्रेमिल सम्बन्ध र प्रेमिल कुराको सजावट नै भिन्न हुन्छ । हुनसक्छ उल्लेख्य गुण तपाईंको प्रेमीमा नहोलान्, तर आफूमा रोप्न पनि त सक्नुहुनेछ । यदि, त्यसो भयो भने तपाईं खोज्न कतै भौँतारिनु पर्दैन । बरु, ढुक्कले उसैसँग मनोविनोद गर्न सक्नुहुनेछ ।

मान्छेले भन्ने गरेको, गणितले गन्ने गरेको जीवनको उत्तराद्र्धमा यत्तिको प्रेमिका भेट्नुलाई कम्तीमा म यो जीवनको एक उपलब्धि ठान्दछु । उसलाई भेट्न भूगोलको दूरी कहिल्यै बाधक बनेन । मलाई कहिल्यै अराजक पनि हुनु परेन । कसैको मन या आँखामा बिझाउनु परेन ।

तर, एउटा रूपान्तरण सदैव खाँचो हुन्छ । मान्छेको मन पानीजस्तै हो । बन्द गरेको धाराबाट एक थोपा मात्र पानी चुहिए पनि धारा बिग्रेको मानिन्छ र नयाँ धारा फेर्नुपर्ने हुन्छ ।

हाम्रो मानसिक स्थिति एक धाराजस्तै त हो, मन चुहाइरहने । खुला भएको बेला, पानी बगिरहेको बेला धारो बिग्रेको थाहै हुँदैन । हामी कतै बगिरहेका पो छौँ कि, कतै खुला रूपमा कतै बन्द अवस्थामा थोपा थोपाको रूपमा ?

जवाफ आफूबाहेक कतै भेटिने स्थान नै छैन ।

(कागकोट, डोल्पा)

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro