काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले यही वैशाख १५ (भोलि) देखि केवल टेलिभिजन प्रसारकहरूलाई एनालग सिस्टमबाट डिजिटलमा जान स्मरण गराएको छ । मन्त्रालयले काठमाडौं उपत्यकासहित ललितपुर, पोखरा, वीरगन्ज र विराटनगरमा पहिलो चरणमा केवल टिभीलाई डिजिटलमा लैजान लागेको हो ।
सरकारले वैशाख १५ देखि डिजिटल टिभी अनिवार्य गरे पनि सबै सेवा प्रदायक यसका लागि तयार भइसकेका छन् । केही सेवा प्रदायकले १५ गतेबाट एनालग टेलिभिजन बन्द हुने विज्ञापन प्रशारण गरिरहेका भए पनि कतिपयले न ग्राहकलाई त्यसबारे जानकारी गराएका छन्, न त आफ्नो तर्फबाट तयारी गरेका छन् ।
सञ्चार मन्त्रालयले पनि १५ गतेबाट सबै केवल टेलिभिजन डिजिटल प्रविधिमा गइनहाल्ने बताउँदै आएको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले एनालग सिग्नल प्रदायकलाई डिजिटल प्रविधिमा जान चाहे वैशाख १५ गतेभित्र निःशुल्क डिजिटल प्रविधिमा जान सक्ने तर त्यसपछि भने कर छुट र भन्सारलगायत सुविधामा छुट नदिने भनेको बताए ।
डिजिटल टेलिभिजनको सेवा दिइरहेकाहरू भने मन्त्रालयले कुरा फेरेको आरोप लगाउँछन् । डिस होमका महाप्रबन्धक कल्याण अधिकारीले डिजिटल प्रविधिको लोकप्रियता देखेर केही अत्तालिएको तर्क गरे । अहिले नेपालमा करिब ८ सय केवल टिभी रहेको र कतिपय दर्तासमेत नभई गैरकानुनी रूपमा चलिरहेको उनको दाबी छ ।
“डिजिटल प्रविधिमा आउँदा सरकार र ग्राहक दुवैलाई फाइदा हुन्छ । कतिपय एनालगमा रहेका केवल टेलिभिजनले ग्राहक संख्या लुकाएर राजस्व छली गर्दै आएका थिए । अब यो अवस्था रहँदैन,” उनले भने, “अरुले १० करोड राजस्व तिर्दा हामीले सोही अवधिमा एक अर्ब राजस्व तिरेका छौं ।”
सञ्चार मन्त्रालयले एनालगमा रहँदा प्रविधिको पक्षमा पछि परेको भन्दै यसलाई ‘अपग्रेड’ गर्दै लैजाने योजनाअनुरूप यो कार्यक्रम ल्याइएको बताएको छ ।
प्रवक्ता ढकालले भने, “साविकका नगरपालिकामा यो कार्यक्रम ६ महिनाभित्र लागु गर्नुपर्छ । बाँकी क्षेत्रमा ०७५ वैशाख १५ गतेसम्म लागु गर्नुपर्नेछ । कसले सरकारले भनेको मान्दैन, त्यो १६ गतेबाट थाहा हुन्छ ।”
डिजिटल केवलमा गएपछि सरकारको करमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको ढकालले बताए । “अहिले नेपालमा करिब ७० लाख टेलिभिजन सेट छन् । तर, केवल अपरेटरले २० लाख पनि टेलिभिजन ग्राहक देखाउँदैनन्,” उनले भने, “डिजिटलमा गएपछि यसरी ग्राहक लुकाएर कर छल्ने अवस्था रहँदैन । मन्त्रालयमा बसेर हामी कति ग्राहक छन्, अनुगमन गर्न सक्छौं । कर छल्न कसैले पनि सक्दैन ।”
मन्त्रालयले गरेको आग्रहसँगै केवल टेलिभिजनहरूले डिजिटलमा जाने प्रक्रिया सुरु गरेका छन् । केवल टेलिभिजन एसोसिएसनका अनुसार अहिले धेरै केवल टेलिभिजनहरू डिजिटल सिस्टममा जान सुरु गरिसकेका छन् ।
“बाँकी रहेका केवल टेलिभिजन पनि डिजिटलमा जाने तयारीमा छन्,” एसोसिएसनका अध्यक्ष सुधीर पराजुलीले भने । सरकारले अनिवार्य रूपमा डिजिटलमा जान सूचना जारी गरेपछि केवल टेलिभिजनहरूले आफ्नो सिग्नल डिजिटल प्रविधिमार्फत पठाउन सुरु गरिसकेको पराजुलीको भनाइ छ । “डिजिटल प्रविधिमा एनलगमा जस्तो केवल तारबाट टेलिभजनको सिग्नल नआउने हुँदा अहिले ‘सेटअप बक्स’ को माग भइरहेको छ,” अध्यक्ष पराजुलीले भने, “यसका लागि ग्राहकले ‘सेटअप बक्स’ राख्नुपर्छ ।”
एनालग प्रविधिमा सेवा सञ्चालन गरिरहेका केवल टेलिभिजनमा जान निकै खर्चिलो पर्ने बताइएको छ । दुई वटा च्यानल सञ्चालन गर्ने एउटा केवल टेलिभिजनका लागि कम्तिमा एक अर्ब र राम्रो सामान राखेर गुणस्तरीय सेवा दिने हो भने ५ अर्बसम्म खर्च लाग्ने गरेको सम्बद्ध व्यवसायीहरूले बताएका छन् ।
डिस होमका महाप्रवन्धक अधिकारीले डिजिटलमा जाँदा ग्राहकका लागि आवश्यक पर्ने सेटअप बक्स, एन्टेनालगायत आवश्यक सामग्री डिस होमले प्याकेजमा २ हजार ९ सय ९९ मा दिइएको जानकारी दिए । यही ‘सेटअप बक्स’ बजारमा ३५ सय देखि ४५ सयसम्म बिभिन्न कम्पनीले बेचिरहेका छन् ।
टेलिकम्युनिकेसन क्षेत्रको प्रवद्र्धन तथा नियन्त्रण गर्ने संस्था इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले सन् २०१७ को डिसेम्बरबाट एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केवल टेलिभिजन सञ्चालनमा ल्याउनुपर्ने बाध्यता छ । नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो ।