
काठमाडौं । एउटा स्मार्टवाच एपमार्फत मानिसले मदिरा पिउने बानीका बारेमा स्पष्ट अवस्था प्रस्तुत गर्न सकिने शोधकर्ताले बताएका छन् ।
बेलायतको ब्रिस्टल विश्वविद्यालयले ‘अल्कोवाच’ एपमार्फत ३२ मानिसमा त्यसबारे परीक्षण गरेको थियो । यो परीक्षण १२ हप्तासम्म चलाइएको थियो । ती सहभागी सहरको ‘चिल्ड्रेन अफ द ९०’ स्वास्थ्य अध्ययनका सदस्य थिए ।
अनुसन्धानमा सहभागीलाई दिनमा पाँचपटक उनीहरूले कति मदिरा पिए, कहाँ र सामाजिक वा अरू अवसरमा पिएका थिए भन्ने बारेमा रेकर्ड राख्न प्रेरित गरिएको बीबीसीले जनाएको छ ।
डा. एन्डी स्किनरले भने, “स्मार्टवाच–आधारित डाटा संकलन विधिले शोधकर्तालाई स्वास्थ्यसम्बन्धी धेरै व्यवहार पत्ता लगाउन र समस्या तथा अस्वस्थ पिउने बानीजस्ता महत्त्वपूर्ण विषयमा नयाँ उपाय विकास गर्न मद्दत गर्न सक्छ ।”
यो विश्वविद्यालयले यसअघि निर्माण गरेको धूमपानको लत छोड्न मद्दत गर्ने एप्लिकेसनको अर्को चरण भएको बताइएको छ ।
अल्कोवाच अध्ययनका प्रमुख शोधकर्ता क्रिस स्टोनले भने, “हामीले एउटा एप्लिकेसन बनाएका छौँ, जसले मानिसको मदिरा पिउने व्यवहारका बारेमा छिटो र सरल प्रश्न सोध्छ ।”
उनले थपे, “मानिसले पिउँदै गर्दा डाटा संकलन गर्नु परम्परागत तरिकाभन्दा उत्तम तरिका हो ।”
यो एप भविष्यमा सार्वजनिक रूपमा प्रयोग गर्दै यसका डाटा बेलायतको राष्ट्रिय स्वस्थ्य सेवा (एनएचएस)मा उपलब्ध गराएर मानिसको मदिरा पिउने बानीको सुपरिवेक्षण गर्न सकिने अपेक्षा छ ।