कुनै घटनाको जानकारी पाएको केही मिनेटमै अनलाइनमार्फत समाचार ब्रेक गर्ने हाम्रो दायित्व थियो । कुनै महत्त्वपूर्ण वा ठूलो घटना हुँदा आफ्नो मिडियामार्फत त्यसलाई छिटो सम्प्रेषण गरेर यो दायित्व पूरा गर्न सबै पत्रकारले हतार गर्छन् नै !
अनलाइनको डेस्कमा बस्नेले रिपोर्टरले फिल्डबाट पठाएको वा जानकारी गराएको समाचारलाई पठाउँछ वा लेखेर पोस्ट गर्छ ।
तर एक दिन यस्तो राष्ट्रिय विपत्ति आइलाग्यो, हामी मिडियाकर्मी पनि त्यसबाट पीडित भयौं । भूकम्पले देशलाई छिया–छिया पार्यो । हजारौंको ज्यान गयो । तर सानो घटना हुँदा पनि तात्तातै पाठकसम्म पुग्ने बानी लागेका हामी यो घटनाका बेला करिब डेढ घण्टा बाहिरै बस्नु पर्यो ।
.....
शनिबारका दिन भूकम्प आउँदा म अफिस पुगिसकेको थिइनँ । दिउँसो साढे १२–१ बजेसम्म अफिस पुग्ने मेरो सोच थियो । बिहान एकजना बिरामी दिदीलाई भेट्न जोरपाटी पुगेको थिएँ । उहाँसँग बसेर गफ गर्दै थियौं । एक्कासि आवाजसहित हल्लाउन थाल्यो । अनि बिरामीलाई कता के गर्ने ? उनका साना बच्चाहरू थिए । सबै बाहिर भाग्न खोजे । मैले घरभित्रै रोकेँ । कसैलाई ढोकामा बस्न भनेँ । कसैलाई घरको पिलर नजिक !
सबै पाँच जना एउटै ढोकामा थिए । म कोठाभित्र अलमलमा परेँ र थुचुक्क बसेँ । एउटा सानो टि–टेबल थियो, त्यसले टाउको छेकेँ । भुइँतलामै थियौं । बाँचिन्छ भन्ने त लागेको थिएन । तर घर बलियो रै’छ र बाँचियो ।
हामी भूकम्प रोकिएपछि मात्रै बाहिर निस्क्यौं । वरपर केही घर भत्किएका रहेछन् । केही चर्किएका । पर्खालहरू लडेका । हामी भएकै घरको पनि माथिल्लो तलाबाट फूलका गमला र इँट्टा झरेका थिए । बाहिर निस्केको भए के हुन्थ्यो भन्न सकिन्नथ्यो । अगाडि खुल्ला ठाउँ नहुँदा बाहिर ननिस्कनु नै ठिक रहेछ भन्ने लाग्यो ।
पहिले १९९० साल र २०४५ सालका भूकम्पबारे केही पढिएको थियो । त्यस्तै विभिन्न देशमा गएका भूकम्म र यसबाट बच्ने उपाय पनि सुन्दै आएका हौं । तर त्यो दिन आफैले भोग्नुप¥यो ।
भूकम्प कति रेक्टर स्केलको गयो ? कहाँ होला केन्द्र ? कति क्षति भयो होला ? मनमा एकदम हुट्हुटी भयो । जान्न मन लाग्यो । यताउता साथी र आफन्तलाई फोन गर्न खोजेँ, लागेन ।
त्यसपछि के गर्ने ? साँच्चि धरहरा के भयो होला ? सँगै भएका साथी चन्द्र नेपालीसँग सोधेँ । उनले भने, ‘‘धरहरा लड्यो, पक्का !’’
मलाई विश्वास लागेन । तर पनि भूकम्प कत्रो गयो र कति क्षति भयो भनेर अनुमान लगाउने एउटा मात्रै माध्यम धरहरा हो भन्ने लाग्यो । र, अफिस पुग्न पनि ढिला भयो । समाचार राखे कि राखेनन्, अनलाइनमा । ज्यान बँचेपछि आफ्नो जिम्मेवारी सम्झिएँ ।
भूकम्पको पराकम्पन गइरहेको थियो । तर पनि बाटोमा हेर्दै र फोटो खिच्दै सुन्धारातिर हिँड्यौं ।
सबै मान्छे बाटोमा उभिएका थिए । जोरपाटी–बौद्ध–चाबहिल हुँदै रत्नपार्कसम्म आइपुग्दा बाटोमा केही पुराना घरबाहेक त्यति क्षति भएको पाइएन । त्यसैले त्यति ठूलो क्षति भएजस्तो लागेन मलाई ।
तर जब पुरानो बसपार्क नजिक आइपुग्दा सधै टलक्क टल्कने धरहरा ढलेको थाहा पाएँ, मनमा एकदमै चिसो पस्यो । मुटु भुक्भुक् हान्यो । मोटरसाइकलको पछाडि बसेर फोटो खिचिरहेका साथी चन्द्रलाई भनेँ, ‘‘बर्बाद भएछ । कति मान्छे के भए होलान् ?’’
धरहरा ढलेको देख्दा नेपालीको मन र गौरव नै लडेको महसुस गरेँ ।
अर्को कुरा धरहराको फेंदमा बसेर कैयौं पटक गफ गरे पनि धरहरा चढेको थिइनँ । मेरो त्यो रहर पनि पूरा भएन । एकपटक मात्रै त्यो सोचें । बाँकी कति क्षति भयो देशभर भनेर निकै चिन्ता लाग्यो ।
धरहराबाट घाइते र पुरिएका मान्छेको उद्धार चलिरहेको थियो । कसैले एम्बुलेन्समा त, कसैले बाइकमा घाइतेलाई कुदाउँदै थिए । पुलिसले अगाडि छिर्न रोकेको थियो ।
हामी सहिदगेट पुग्यौं ।
मलाई अफिसमा के भयो होला भन्ने लाग्यो । मैले सुन्धारा बागदरबारमा रहेको नागरिक न्युजको अफिसमा जाने सोच बनाएँ ।
त्यसकै अगाडि रहेको सिटिसी मल निकै चर्किएको रहेछ । तर पनि मोटरसाइकल लिएर भित्र गएँ । भित्र जाँदा नागरिकका प्रमुख संवाददाता विश्वमणि सर बाहिरपट्टि बसिराख्नुभएको रहेछ । १÷२ जना गार्ड दाइहरूलाई देखेँ ।
विश्वमणि सर भूकम्प मापन केन्द्रका कर्मचारीसँग कुरा गरेर अनलाइनमा समाचार पोस्ट गर्न पाए हुन्थ्यो भनेर बस्नुभएको रहेछ ।
उहाँले हातमै कति रेक्टरको भूकम्प गएको र केन्द्र कहाँ भन्ने टिप्नुभएको रहेछ ।
क्षतिको विवरण आउने बेला भएको थिएन । पराकम्पनहरू आइरहेकै थिए । दुई तल्ला माथि चढेर समाचार पोस्ट गर्नु थियो । गार्ड दाइहरू माथि जान डराउनुभयो ।
मैले हेलमेट लगाएकै थिएँ । दुई तल्ला माथि जाने आँट गरें । त्यसैबेला फोटोग्राफर विजय राई दाइ पनि ढलेको धरहराको फोटो लिएर आइपुग्नुभयो । र, गार्ड दाइहरूसहित माथि चढ्यौं ।
अफिसको भर्याङ पनि चर्किएको थियो । केही ठाउँमा रगतका टाटा देखिए । हामी मन दह्रो गरेर माथि चढ्यौं ।
ढिलै भए पनि अनलाइनमार्फत आफूसम्म आइपुगेको आधिकारिक जानकारी दिऊँ भन्ने लाग्यो । अनि मैले कम्प्युटर खोलेर लेख्न थालेँ । विश्वमणि सरले भन्नुभयो ।
विजय दाइले धरहराको फोटो दिनुभयो । र, हामीले “नेपालमा ७.६ रेक्टर स्केलको भूकम्प, गोरखा केन्द्रबिन्दु” शीर्षक राखेर समाचार लेख्यौं । विश्वमणि सरले भन्दै गर्दा मेरो हात काँपिरहेको थियो । पराकम्पन आइरहेकै थियो । मैले हेलमेट लगाएकै थिएँ ।
४ लाइनको समाचार लेख्दा लेख्दै पनि भाग्नका लागि हामी दुई–तीन पटक ढोकासम्म पुग्यौं । तर फेरि फर्केर आउँदै कुर्सीमा पनि नबसी समाचार लेखियो । गार्ड दाइले बेला बेला ‘सर भूकम्प आयो आउनुस्,’ भन्नुहुन्थ्यो । भाषागत त्रुटि हेर्न पनि भ्याएनौं ।
र, धरहराको ढलेको र केही घाइते तथा ज्यान गएकाहरूको फोटो पोस्ट गर्यौं । विजय दाइ फोटो दिएर बीच बाटोमा उभिएर ‘अशोक भागौं छिटो’ भन्नुहुन्थ्यो । उहाँले एउटा त फोटो खिच्नुपर्यो भनेर क्यामेर क्लिक क्लिक गर्दै अघि बढ्नुभयो ।
पेजमा समाचार पोस्ट गरेपछि फेसबुक पेजमा पनि गर्नुपर्ने । त्यसका लागि फेसबुक खोलेँ । पछि पोस्ट गर्दा त नागरिकको पेजमा नभई आफ्नै पेजमा पो पोस्ट गरिएछ !
त्यो बेलुका मात्रै थाहा पाएँ ।
त्यसपछि पनि पराकम्पन आउन छाडेन । त्यसपछि अफिसको माथि चढ्ने आँट गरिएन ।
आफू बाँचेपछि थोरै नै भए पनि सूचना दिन सकेकोमा आत्मसन्तुष्टि मिल्यो ।
त्यतिबेलासम्म मेरो कोठामा बस्ने भाइबहिनीसँग सम्पर्क हुन सकेको थिएन । बहिनी परीक्षा दिन गएकी थिइन् । उनलाई खोज्न म बागबजार नै पुगेँ । भाइ दरबारमार्गमा काम गथ्र्यो । उसलाई पनि त्यहीँ पुगेर भेटेँ ।
गाउँबाट बुबाले पनि बारम्बार फोन गर्नुभएको रहेछ । सम्पर्क हुन सकेको रहेनछ । भूकम्प गएको ३ घण्टापछि सबैसँग सम्पर्क भयो । सबै जना सकुशल नै भएको खबर पाएँ ।
त्यसपछि भूकम्पले के–के क्षति पुर्यायो भनेर हेर्न र बुझ्न खोज्यौं । तर खास सूचना पाउन सकेका थिएनौं । बेलुकासम्म अफिस नजिकै बस्यौं । बेलुका ८ बजेतिर सबैजस्तै घरबाहिर चौरमा घरभेटीसहित सबै मिलेर बस्यौं । त्यसरी नै कोठा बाहिरै बसेर १ महिना बित्यो ।
दिउँसो भूकम्पको दुःखद समाचार लेख्यौं र बेलुका खुल्ला चौरमा बस्यौं । कहिले चाउचाउ मात्रै खायौं । कहिले के !
हामी कुनै क्षति नभएकालाई त खासै केही भएन । त्यस दिनको घटनाबाहेक दुःख बिर्सिंयौं । तर आफ्नो गास, बास र कपास उडेका पीडितहरूको अवस्था अहिलेसम्म पनि उस्तै देख्दा दुःख लाग्छ ।
धरहरा पुनर्निर्माण के हुँदै छ कुन्नि ! बाहिरबाट हेर्दा त्यो भत्किएर बाँकी भएको अवशेषले ओत पाएको छैन । हजारौं मठमन्दिर, सरकारी भवन र स्कुल ढलेकै अवस्थामा छन् ।
दुई वर्षपछि भूकम्पलाई सम्झिँदा पनि सरकारले पुनर्निर्माणको कामलाई गति दिन नसक्नु दुःखद छ ।
पुनर्निर्माणको कामलाई अगाडि बढाएर पीडितको दुःख छिटो बिर्साउन सरकार र पुनर्निर्माण प्राधिकरण सफल होऊन्, शुभकामना !