काठमाडौं । खुसी नहोऔँ त २० वर्षपछि चुनाव हुन लागेको छ, हाँसौँ भने भूकम्पले थला बसालेको शरीर उठाउने तागत छैन । यो व्यथा हो, सिन्धुपाल्चोकबासीको ।
वैशाख ३१ को स्थानीय निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोकमा विस्तारै चुनावी सरगर्मी बढ्दै छ । भूकम्पले ध्वस्त बनाएको गाउँ बस्तीमा निर्वाचनका राता–सेता झन्डाहरू फरफराउन थालेका छन् । दलहरूलाई चुनावी चटारोले छाएको छ ।
दुई वर्षमा पनि पुनःनिर्माण न्यून
वैशाख १२ गते विनासकारी भूकम्प गएको दुई वर्ष पूरा हुँदैछ । तर, जिल्लामा दश प्रतिशत पुनःनिर्माण पनि हुन सकेको छैन । आवास अनुदानअन्तर्गत दोस्रो किस्ता पाउनेको संख्या त मुस्किलले २०० जना मात्रै छ । विनासकारी भूकम्पले ७० हजार बढी घर खण्डहर बनाएको सरकारी तथ्याङ्क छ । पाँच सय बढी विद्यालय र अघिकांश स्वास्थ्य चौकी भग्नावशेषमा परिणत भए । ती कहिले बन्ने हुन्, यकिन छैन । आफन्त गुमाएका, अंगभंग भएकाको अनुहारमा उस्तै शोक र पीडा छ ।
नेकपा एमालेका नेता एवम् पूर्व जिल्ला कमिटी अध्यक्ष हस्त पण्डित निर्वाचनको सरगर्मी बढे पनि जनता खुलेर हाँस्न नसकेको बताउँछन् । “भूकम्प गएको दुई वर्षसम्म पनि न बस्ने बास छ, न घर बन्ने टुंगो नै छ । यस्तो परिस्थितिमा उहाँहरू कसरी उत्साहित हुन सक्नुहुन्छ ?” उनको प्रश्न थियो । तथापि स्थानीय निर्वाचनपछि पुनः निर्माणले गति लिने, घर बन्ने हो कि भन्ने आशा जगाएको उनको भनाइ छ ।
“हामी पनि अप्ठ्यारोमा छौँ । भत्किएको घर बनाउन नसकेर बारिको पाटामा आश्रय लिइरहेकाहरूको टहरा अघिल्तिर के भनेर भोट माग्न जाने ?,” उनले अप्ठ्यारो व्यक्त गरे ।
त्यसैले स्थानीय पार्टीले पुनःनिर्माणकै एजेन्डालाई प्राथमिकता दिनुपर्ने उनको तर्क छ । “एमालेले सुरक्षित, सामुहिक, एकीकृत बस्तीकै अवधारणा अघि बढाइरहेको छ । सरकारले पनि त्यस विषयलाई उच्च प्राथमिकता दिनुपर्छ,” उनले थपे ।
यता नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाको भावना पनि त्यस्तै छ । निर्वाचनले सिन्धुबासी रुन्चे हाँसो हास्न बाध्य भएको उनी बताउँछन् । “जिल्लामा पुनःनिर्माण शून्य प्रायः छ । २०० जनाले मात्रै दोस्रो किस्ता पाएका छन् । घरै छैन, कुन खुसीका लागि भोट हाल्नु भन्नेजस्तो अन्यौलता पनि छ,” उनले भने ।
पुनःनिर्माणको पैसा निर्वाचनमा खर्च गरेको हल्ला
अहिले सिन्धुपाल्चोकमा व्यापक हल्ला छ, जनता निराश छन् । सरकारले पुनःनिर्माणको पैसा निर्वाचनमा खर्च गर्यो । त्यसले पनि जनतामा अन्योल, आशंका र निराशा रहेको सापकोटा अथ्र्याउँछन् । “तैपनि २० वर्षपछि निर्वाचन हुन लागेकाले उहाँहरूमा चुनावपछि निर्वाचित हुने जनप्रतिनिधिले पुनःनिर्माणलाई प्राथमिकता दिन्छन् कि भन्ने आशा छ । विस्तारै उत्साहित हुँदै हुनुहुन्छ,” उनले थपे ।
दलहरूले पुनःनिर्माणलाई नै प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । माओवादी केन्द्र सिन्धुपाल्चोकले स्थानीय स्रोत साधन परिचालनमार्फत समृद्धि हासिल गर्ने र पुनःनिर्माणलाई गति दिने एजेन्डा अघि सार्ने जानकारी दिए ।
बाढी पहिरोले क्षतविक्षत
०७२ वैशाख १२ गते र २९को विनासकारी भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकलाई बाढी पहिरोले पनि वीदिर्ण बनायो । त्यसो त जुरेको पहाड खसेर बस्ती नै उजाड पारेको चोट पनि छ सिन्धुसँग । ती सबै घाउलाई चुनावमार्फत खाटा बसाउने दाउमा छ सिन्धुपाल्चोक ।
त्यसैले पनि पीडितहरू निर्वाचनका लागि उत्साहित भएको बताउँछन् सिन्धुपाल्चोकका सांसद् मोहनबहादुर बस्नेत । उनी भन्छन्, “जनप्रतिनिधि नहुँदा नै पुनःनिर्माणले गतिलिन नसकेको हो । निर्वाचन पछाडि सिन्धुले विकासमा फड्को मार्छ ।”
उमेदवारकै घर छैन
सिन्धुपाल्चोकमा अधिकांश स्थानीय चुनावका प्रत्यासीहरूकै बस्ने बास छैन । कति टहरामा, खेतका गह्रामा बसिरहेका छन् । र, उनीहरूको आश पनि त्यस्तै छ– निर्वाचनपछि पुनःनिर्माणले गति लिन्छ कि ! पीडितहरूको दिन फर्कन्छ कि ! त्यसैले पनि पीडितहरूलाई निर्वाचनले उत्साह सञ्चार गरेको छ ।
एमाले नेता हस्त पण्डितका अनुसार अधिकांश उमेदवारकै घर छैनन् । उनी भन्छन्, “नगरपालिकाको हकमा नगरपालिकाको नियम बाधक छ । दश चोटी नधाई नक्सा पास हुँदैन । सडक किनारमा कति जग्गा छाड्नुपर्ने हो भन्ने अन्योल छ । सरकारले रकम निकासा गर्न सकेको पनि छैन ।”
सरकारको मापदण्ड नै पुनःनिर्माणको बाधक भएको उनको तर्क थियो । सरकारले स्थानीय भूबनोट, स्रोत÷साधनको उपलब्धता मुताविकका मापदण्ड तयार पार्न नसक्दा र भूकम्पपीडितलाई प्राथमिकता दिन नसक्दा पुनःनिर्माण सुस्त बनेको उनी तर्क गर्छन् ।
दलहरूको चुनाव तयारी
३ नगरपालिका र ९ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा कांग्रेस, एमाले र माओवादी केन्द्र निर्वाचनका अभियान लिएर गाउँबस्ती जान थालेका छन् । पण्डितका अनुसार एमाले अहिले उमेदवारको छनोट गर्न व्यस्त छ । र, एमालेले दुई–तीन दिनभित्रै उमेदवार टुंग्याउने उनको भनाइ थियो ।
त्यस्तै, कांग्रेसले पनि एक हप्ताभित्र उमेदवारको छिनोफानो गर्ने सांसद तथा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले बताए । यता माओवादी केन्द्रको भने स्थानीय स्तरबाट उमेदवार सिफारिस भइसकेको छ र केही दिनमै जिल्ला कमिटीको बैठकले त्यसलाई अन्तिम रूप दिने केन्द्रका जिल्ला नेता माधव सापकोटाले जानकारी दिए ।
फाइल तस्बिर