काठमाडौं । नेकपा एमालेले चुनाव नसार्न चेतावनी दिएको छ । गाउँ–गाउँमा निर्वाचनको सरगर्मी बढिसकेको र जनता निर्वाचनका लागि उत्साहित भइसकेको अवस्थामा चुनाव सार्न नहुने एमालेले बताएको हो । एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले कुनै हालतमा निर्वाचन नसर्ने र तोकिएकै समयमा निर्वाचन भएरै छाड्ने जिकिर गरे ।
“सरकार निर्वाचनबाट भाग्ने, सार्ने बहाना बनाउन सक्ने अवस्था छैन,” उनले भने, “निर्वाचन सार्नुपर्छ भन्नेहरू कुन मुख लिएर चुनावमा जान्छन् हामी पछि हेर्छौं !”
उनले मधेसी मोर्चालाई विश्वासमा लिन नसक्नु सरकारको असक्षमता भएको तर्क गरे । “उहाँहरूको पनि चुनाव चिन्ह छ, निर्वाचनबाट भाग्ने होइन, मत माग्ने हो,” उनले भने, “मोर्चा चुनावबाट तर्सनुपर्दैन ।”
एक प्रसंगमा उनले तराईमा चुनाव गराउन नसक्ने गृहमन्त्री पदमा बस्न नमिल्ने जिकिर गरे । “उहाँले चुनाव गराउन सक्नुहुन्न भने पदबाट राजीनामा दिए हुन्छ,” उनले भने, “अर्को गृहमन्त्री आएर चुनाव गराउनुहुन्छ ।” उनले चुनाव विथोल्न, लाठी, भाटा जुलुस निकाल्छु भन्नेलाई सरकारले तह लगाउनुपर्ने बताए । “हाम्रो संविधानले लाठी भाटा लिएर सडकमा आउन दिएको छैन । निर्वाचन विरोधी त्यस्ता गतिविधि तत्काल रोक्नुपर्छ,” उनले थपे ।
एमालेको तयारी आक्रामक
एमाले देशैभर चुनाव जित्ने तयारीका साथ लागेको भट्टराईले बताए । एमालेको देशैभर प्रचारात्मक, आमसभा, कोणसभा भइराखेको उनले जानकारी दिए । त्यस्तै ९० प्रतिशत वडाध्यक्ष, वडासदस्यहरू निर्विरोध भइसकेको उनले बताए । ६० प्रतिशत गाउँपालिका प्रमुख, उपप्रमुखहरू सर्वसम्मत छानिएको एमालेले जनाएको छ ।
बाँकी दुई तीनदिन भित्रमै टुंगो लाग्ने भट्टराईको भनाइ छ । “नगरपालिकाका मेयर उपमेयर ७ गते टुंगो लाग्छन्,” उनले भने, “१२ गते बस्ने स्थायी कमिटीको बैठकले महानगर÷उपमहानगरको उमेदवार टुंगो लगाउने छ ।”
घोषणापत्रमा बुद्धिजीवीको राय
एमालेले घोषणापत्रलाई अन्तिम रूप दिने तयारी थालेको जनाएको छ । भट्टराईले भने, “घोषणापत्रको पहिलो ड्राफ्ट सकियो । हामी विज्ञसँग राय÷सुझाव र परामर्श लिँदैछौँ । उहाँहरूको सल्लाह मुताविक यो हप्ताभित्रमा घोषणापत्रलाई अन्तिम रूप दिन्छौँ ।
निर्वाचन परिचालन समिति गठन र प्रचार–प्रसार व्यवस्थित
एमालेले अधिकांश वडा तहमा निर्वाचन परिचाल समिति गठन, निर्वाचन समितिको कार्यालय गठन गरिसकेको र बाँकी स्थानमा केहीदिनभित्रै उक्त कार्य गरिसक्न निर्देशन दिएको जनाएको छ ।
र, निर्वाचन परिचालन समितिमा पाका, बुद्धिजीवी, सञ्चारकर्मी, पेशाकर्मीहरूलाई राख्न जोड दिएको भट्टराईको भनाइ छ । त्यस्तै केही दिनभित्रै पार्टी मुख्यालयमा सञ्चार डेस्क (मिडिया सेन्टर) स्थापना गर्ने र सूचना उपलब्ध गराउने उनले जानकारी दिए । हरेक महानगर, उपमहानगर, नगर र गाउँपालिकामा सम्भव भएसम्म सञ्चारकर्मीलाई सूचना उपलब्ध गराउने एमालेले निर्देशनसमेत दिएको छ ।