site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ सभामुख कहिले ? सरकार मौन बस्दा अन्योल बढ्यो
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभा सभामुखविहीन भएको दुईमहिना बितिसक्दा पनि नयाँ सभामुख चयन प्रक्रियाको अन्योल भने कायमै छ । संसद सभामुखविहीन हुँदा सभामुखले मात्र गर्न मिल्ने काममा बाधा पुगेको छ भने संसदको पाँचौं अधिवेशन समेत अन्योलमा परेको छ । 

संसदको चौथो अधिवेशन असोज २ गते सम्पन्न भएको थियो । त्यसको १२ दिनपछि अर्थात् असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयलसमक्ष राजिनामा बुझाएका थिए । उनको राजिनामाको कारण थियो– आफ्नै सचिवालयमा कार्यरत एक महिलासँग जबरजस्ती करणीको अभियोग । 

असोज १५ मा संसद् सचिवालयले सभामुख महराको राजिनामा सूचनापत्रमा प्रकाशन गरेको थियो । काठमाडौं जिल्ला अदालतको आदेशपछि महरा अहिले जबरजस्ती करणी उद्योगमा पुर्पक्षका लागि कारागारमा छन् । 

KFC Island Ad
NIC Asia

दुई महिनासम्म नयाँ सभामुख चयन गर्नका लागि कुनै प्रक्रिया नै अघि नबढेको संसद सचिवालय स्रोत बताउँछ ।  सभामुख नहुँदा उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखले गर्ने भनेर प्रष्ट तोकिएका केही कामहरु गर्न खोजेको भन्दै आलोचना भएको थियो ।  सभामुखले बोलाउनुपर्ने बैठक संविधानको भावनाविपरीत तुम्बाहाम्फेले बोलाएको भन्दै उनी संलग्न दल नेकपाकै कतिपय नेताले आलोचना गरेका थिए ।

नेपालको संविधानले संसद् बैठकबाहेक सभामुख रिक्त रहेको अवस्थामा अन्य (सभामुखले अध्यक्षता गर्ने) निकायको अध्यक्षता गर्न अधिकार प्रदान गरेको छैन ।  उपसभामुख तुम्बाहाम्फेले राष्ट्रिय सूचना आयोगको पदाधिकारी नियुक्ति सिफारिस सम्बन्धी बैठकको अध्यक्षता गरेको भन्दै उनको आलोचना भएको थियो । 

Royal Enfield Island Ad

संविधानको धारा–९१ मा सभामुख उपसभामुखको काम, कर्तव्य र अधिकार छुट्टयाइएको छ । धारा ९१ को उपधारा (४) प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्ने उल्लेख छ । संसद बैठक आह्वान भएमा भने उपसभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता बस्न भने समस्या छैन । 

बैठक बोलाउन किन ढिलाइ ?

संसद बैठक नबसिकन सभामुख चयन गर्न मिल्दैन । सभामुख चयनका लागि संसद् बैठक अनिवार्य हुन्छ । त्यसका लागि सरकारले संसद् बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ । त्यसैले सरकारले चाहेमा तत्कालै संसद् बैठक डाक्न सक्छ । तर, सरकारले चासो नदेखाएसम्म संसद् बैठक आह्वान हुन सक्दैन । त्यसो भएमा सभामुख चयनको प्रक्रिया थप लम्बिने देखिन्छ । 

संसद् सचिवालका प्रवक्ता डा. रोजनाथ पाण्डे बैठक कहिले बस्छ भन्नेबारे अन्योल व्यक्त गर्छन् । बैठक आह्वानको सूचना सरकारबाट आउनुपर्ने भए पनि अहिलेसम्म नआएको उनले बताए । त्यस्तो सूचना आएमा संसद् सचिवालयलाई बैठक सञ्चालनका लागि संसद् सचिवालय तयारी अवस्थामै रहेको पाण्डेले बताए ।
“बैठक आह्वान भएमा हामीले तयारी गर्छौँ, उपसभामुखले बैठकको अध्यक्षता गर्नुहुन्छ,” उनले भने । 

संसद् सचिवालय र उपसभामुख तुम्बाहाम्फे बैठक सञ्चालनका लागि तयार देखिए पनि सभामुखको विषयले सरकारलाई बैठक आह्वान गर्न संकट परेको छ । 

कसलाई सभामुख बनाउने भन्ने विषयमा नेकपाभित्र पूर्वमाओवादी र पूर्वएमालेबीचमै मत भिन्नता छ । महिला नेतृहरु उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने पक्षमा देखिएका छन् । जसले गर्दा सभामुख छान्नका लागि नेकपाभित्र गम्भीर छलफल नै हुन सकेको छैन ।

तर प्रधानमन्त्रीसहित शीर्ष नेताहरु भने तुम्बाहाम्फेलाई राजिनामा गराएर नयाँ सभामुख चयन प्रक्रिया अघि बढाउनुपर्ने मनस्थितिमा रहेको उच्च स्रोत बताउँछ ।

त्यसका लागि प्रधानमन्त्री ओलीले उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री बन्न आग्रह गर्दा उनले अस्वीकार गरेको स्रोतको दाबी छ । मन्त्रिपरिषद् पुनर्गठन गर्ने दिन बिहान पनि प्रधानमन्त्री ओलीले उपसभामुखसँग छलफल गरेका थिए ।

सभामुख र उपसभामुख अलग अलग पार्टीको हुनुपर्ने र दुर्ई पदमा एक महिला भए अर्को पुरुष हुनुपर्ने व्यवस्था छ । 

यसअघिका सभामुख महरा तत्कालीन माओवादी केन्द्रबाट र उपसभामुख तुम्बाहाम्फे तत्कालीन एमालेबाट भएका थिए । पछि पार्टी एकता भएपछि एउटै पार्टीबाट सभामुख र उपसभामुख भएको भन्दै विरोधसमेत भएको थियो । उपसभामुख तुम्बाहाम्फे नै रहेमा नेकपाले सभामुख अर्को पार्टीलाई दिनुपर्ने कानुनी बाध्यता छ । उपसभामुख तुम्बाहाम्फेलाई राजिनामा गराउने चर्चा नेकपाभित्र चले पनि उनले राजिनामा नदिने संकेत गरिसकेकी छन् । 

तुम्बाहाम्फेको उपसभामुखबाट उसै राजिनामा नदिने अडान र नेकपाको सभामुख अरुलाई नदिने चाहनाका कारण नेकपा सभामुखका बारेमा निर्णयमा पुग्न सकेको छैन । पूर्वमाओवादीले समेत सभामुखमा दाबी गरिरहेको छ । पूर्वएमालेबाटै भएकाले तुम्बाहाम्फेलाई उपसभामुखबाट सभामुखमा लैजान पनि चुनौती देखिएको छ । 
फागुनमा राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकिँदैछ । सरकारले जति ढिलो गर्दा पनि फागुनअघि नै हिउँदे बैठक आह्वान गर्नुपर्ने बाध्यता छ । 

सभामुख नहुँदाको असर

सभामुख पद रिक्त हुँदा संघीय संसद्को चौथो अधिवेशनबाट पारित भएका पाँचवटा विधेयक प्रमाणीकरण हुनबाट रोकिएका छन् । सभामुखले प्रमाणीकरण गरेपछि मात्र विधेयक राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक प्रावधान छ  । सभामुख नहुँदा के–के असर परेको छ त ?  संसद सचिवालका प्रवक्ता पाण्डेले भने, “अहिले पाँचवटा विधेयक प्रमाणीकरणका लागि पठाउन सकिएको छैन । 

संसदीय समितिहरुलाई विभिन्न अनुगमनमा पठाउनका लागि फाइल स्वीकृत गर्न सकिएको छैन । सांसदहरुलाई स्वदेश वा विदेश पठाउनका लागि सभामुखबाट नोमिनेसन गर्ने चलन छ । त्यो कामहरु रोकिएको छ ।” चौथो अधिवेशनबाट विधेयक पारित भएपछि प्राविधिक काम भइरहेकै बेला सभामुख महराले राजिनामा दिएका थिए । 

प्रवक्ता पाण्डेका अनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्नेसम्बन्धी विधेयक, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको सुपरीवेक्षण तथा सञ्चालनसम्बन्धी दुई महत्त्वपूर्ण विधेयक प्रमाणीकरण भएका छैनन् ।  यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयक, औद्योगिक व्यवसाय विधेयक र भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक प्रमाणीकरण हुन सकेका छैनन् । विधेयक पारितपछि सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro