site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीति तरंगित गरेको वर्ष, पार्टी फुटाउनेदेखि संसद् बचाउनेसम्मका फैसला
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वर्ष २०७७ नेपालीका लागि राम्रो वर्ष मानिँदैन । कोरोना कहरका कारण धेरै नेपालीले समस्या भोग्नुपर्‍यो । वर्षका धेरैदिन घरभित्रै बिताउनुपर्‍यो ।

तर यो बीचमा नेपालको इतिहासमा दूरगामी असर पार्नेखालका राजनीतिक घटना भएका छन् । 

कोरोना महामारीका कारण लामो समय प्रभावित बनेको न्यायपालिका भने यो वर्षभर नै राजनीतिक मुद्दाका कारण केन्द्रमा रह्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सर्वोच्च अदालतले गरेका केही फैसला यस्ता छन्, जसले राजनीतिको कोर्ष नै बदलिदियो ।  सर्वोच्च अदालतका केही फैसलाको भव्य स्वागत भयो भने केही आदेश र फैसलालाई लिएर आलोचना पनि भयो । 

प्रतिनिधिसभा विघटन बदरदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई अलग पार्टी बनाइदिने काम सर्वोच्चबाट भयो ।

Royal Enfield Island Ad

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइँदा होस् वा प्रतिनिधिसभा विघटन गर्दा वा नेकपा नाम विवादको विषय होस्, सर्वोच्चनै मुख्य केन्द्रमा थियो । 

उसो त, यो वर्ष सर्वोच्च अदालतमा केही रोचक आदेश भए । 

नेपालको न्यायिक इतिहासमै पहिलोपटक चारजना पूर्वप्रधानन्यायाधीशलाई अदालतको अवहेलनामा लिखित जवाफ माग गरियो । 

आफैँ अदालतको अवहेलनामा लिखित जवाफ लिएर चारजना पूर्वप्रधानन्यायाधीश सर्वोच्च पुगे । 

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत अदालत धाउनुपर्ने अवस्था आयो । 

सभामुख आफैँ सरकारविरुद्ध रिट लिएर सर्वोच्च पुगेको दृष्य पनि यो वर्षको रोचक भएको अदालतकै कर्मचारी बताउँछन् ।

त्यस्तै, ज्यान मुद्दामा थुनामा रहेका रञ्जन कोइरालाई उन्मुक्ति दिने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलाशको फैसला पनि आलोचनामा पर्‍यो । 

पार्टी फुटाल्ने त्यो फैसला ...

पार्टी दर्ता र विभाजनको विषय मूलतः निर्वाचन आयोगको हो । तर, सत्तारुढ दल नेकपा भने सर्वोच्च अदालतले फुटाइदियो वर्ष ०७७ मा । सर्वोच्च अदालतले ०७७ फागुन २३ गते नेकपा नाम विवादको मुद्दामा गरेको फैसलाको चर्चा र आलोचना दुवै भयो । 

न्यायाधीशहरु कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले दुईवर्षअघि दर्ता भएको मुद्दामा सत्तारुढ नेकपाभित्र चरम विवाद रहेकै बेला फागुन २३ गते फैसला सुनायो । 

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नयाँ गठन भएको थियो– नेकपा । 

त्यही नाममा निर्वाचन आयोगमा अर्को पार्टी पहिले नै दर्ता थियो, ऋषि कट्टेलकोे । आफ्नो पार्टीको नामसँग मिल्दो नाम अर्को पनि दिइएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपामा आधिकारिकता विवाद उत्कर्षमा रहेका बेला सर्वोच्चले यस्तो फैसला सुनायो, जसले उनीहरुलाई अलग हुन सहज बनाइदियो । 

सर्वोच्चको सो फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतियो । कानुनका कतिपय जानकारले सर्वोच्चले नाम विवादको मुद्दामा एकता भइसकेको पार्टी विभाजन गर्ने गरि फैसला आएको भन्दै आलोचना पनि गरे । 

केही वरिष्ठ अधिवक्ताहरुले सो फैसलाले अदालत ‘अति सक्रिय’ बनेको भन्दै पुनरवलोकनका लागि पुष्पकमल दाहाललाई सुझाव दिए । दाहालले सो फैसला पुनरवलोकनका लागि रिट दायर गरे पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशले पुनरवलोकनको अनुमति दिन इन्कार गरेको थियो । 

पार्टी विभाजन गर्ने फैसलासँगै धुम्बाराही पार्टी कार्यालयमा आधिकारिकता दाबी गरिरहेका ओली र दाहालबीचको विवाद टुंगिएको थियो भने दाहालतिर लागेका माधव नेपाल नेतृत्वको समूह पनि एमालेमै फर्कन बाध्य भएको थियो । त्यसो त, यो फैसलाले माधव नेपाल र प्रचण्ड एक ठाउँ उभिँदा कमजोर बनेका ओली एकाएक ‘शक्तिशाली’ देखिएका थिए भने सबैभन्दा संकटमा नेता नेपाल परे । माधव नेपाल र प्रचण्डको सहकार्य पनि टुट्यो । 

संसद् पुनःस्थापनाको फैसला 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हठात् प्रतिनिधिसभा विघटन गरिदिइन् । 

आफुलाई असहयोग गरेको भन्दै पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरिदिएपछि सो विरुद्ध सर्वोच्च अदालतमा दर्जनबढी रिट दायर भए । माघ ४ गतेबाट विघटनको मुद्दामा सर्वोच्चको संवैधानिक इजलाशमा निरन्तर सुनुवाई भयो । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्न निर्णय अवैधानिक ठहर गर्दै विघटनको निर्णय बदर गरिदियो । 

१३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन पनि परमादेश जारी भयो । 

सुरुमा संवैधानिक इजलाशमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि प्रश्न उठेपछि इजलाश छाडेका थिए । 

उनको ठाउँमा मल्लले संवैधानिक इजलाशमा बस्ने अवसर पाइन् । इजलाशले सर्वोच्च बारबाट २ र बार एसोसियसनबाट ३ गरी ५ जनाको एमिकस क्यूरी झिकाएको थियो । 

सर्वोच्चको यो फैसलालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड र माधव नेपाल समूहले स्वागत गरे । 

फैसलामा फरक मत रहे पनि प्रधानमन्त्री ओली निकटस्थहरुले पनि फैसला मान्ने प्रतिक्रिया दिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको पहिलो बैठकमा सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए । 

सर्वोच्चकै फैसलापछि ब्यूँतिएको प्रतिनिधिसभाको अधिवेशन अहिले चालू छ । 

चारजना पूर्वप्रधानन्यायाधीशलाई अदालतको अवहेलनाको अभियोग

प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विपक्षमा विज्ञप्ति जारी गरे । 

‘प्रतिनिधिसभा विघटन गर्ने असामान्य राजनीतिक एवम् संवैधानिक गतिरोधको रुपमा लिनुपर्छ भन्ने हाम्रो धारणा छ । देशको प्रजातन्त्र, कानुनी राज्य र विकासको लागि यस्तो कार्य फेरि कहिल्यै दोहोरिन नपाउने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित सबैको ध्यानाकर्षणको लागि अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको थियो । 

विज्ञप्ति जारी गरेको भन्दै उनीहरुविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर भयो । सो रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले ०७७ माघ १५ गते ७ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन आदेश गर्‍यो । 

नेपालको न्यायिक इतिहासमा यसरी पूर्वप्रधानन्यायाधीशलाई अदालतको अवहेलना मुद्दामा आफैँ लिखित जवाफ लिएर उपस्थित हुन भनेको सम्भवतः यो पहिलो घटना हो । कतिपय यो आदेशलाई अवहेलनाको डण्डा देखाएर तह लगाउन खोजेको भन्दै आलोचना पनि गरे । 

तर, पूर्व प्रधानन्यायाधीशहरुले भने अदालतको आदेशको सम्मान गर्दै आफै उपस्थित भएर लिखित जवाफ पेश गरेका थिए । 

त्यस्तै, प्रधानमन्त्री ओलीसँग पनि अदालतको अवहेलनामा आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न शर्माकै इजलाशले आदेश गरेकोे थियो । प्रधानमन्त्री ओली आफैँ लिखित जवाफ लिएर सर्वोच्च पुगेका थिए । 

फैसलाभन्दा फरक मतको चर्चा !

प्रतिनिधिसभामा पराजित वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइएपछि सर्वत्र आलोचना भयो । सर्वोच्च अदालतमा उनको नियुक्ति अवैधानिक भन्दै रिट दायर भयो । सो रिटमा इजलाशमा विभाजित बन्न पुग्यो । प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ गौतमको नियुक्ति संविधानसम्मत रहेको पक्षमा उभिए । 

तर, सोही संवैधानिक इजलाशमा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले भने गम्भीर संवैधानिक नैतिकताको प्रश्न उठाउँदै सो फैसलामा फरक मत लेखे । 

प्रतिनिधिसभाको निर्वाचनमा उमेदवार भइ पराजित भएको व्यक्तिलाई सोही प्रतिनिधिसभाको कार्यकालमा अर्को ताजा जनादेश प्राप्त नहुँदै सोही संघीय संसदको राष्ट्रियसभा सदस्य पदमा मनोनयन गर्नु प्रचलित संविधान र निर्वाचनसम्बन्धी कानुनको भावना अुनुकल नहुने न्यायाधीश खतिवडाको तर्क थियो । 

त्यसो गर्दा जनादेश प्रतिकूल कार्य गरेको हुने उनले फरक मतमा लेखेका छन् । संवैधानिक इजलाशमा खतिवडा बाहेकका न्यायाधीश गौतमको पक्षमा उभिएपछि उनका लागि राष्ट्रियसभा प्रवेश सहज बन्यो । गौतम अहिले राष्ट्रियसभा सदस्य छन् । 

र, यो पनि

रञ्जन कोइरालालाई सफाइ

प्रधानन्यायाधीश राणासहितकै इजलाशले गरेको अर्को एउटा फैसला पनि वर्ष ०७७ मा आलोचना भयो । 

गत असार १५ गते प्रधानन्यायाधिश राणा र न्यायाधीश तेजबहादुर केसकिो इजलाशले पत्नी हत्या ठहर भएपछि सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका रञ्जन कोइरालालाई साढे ८ वर्ष कैद सजाय दिँदा सजायको मक्सद पूरा हुने आदेश गर्‍यो ।  

“जन्मकैदको सजाय गर्दा चर्को पर्न जानेजस्तो चित्तमा लागेको हुँदा ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मक्सद पूरा हुने देखिएकोले रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ,” फैसलामा भनिएको थियो । 

यो फैसलाको पनि कानूनका जानकारहरुले चर्को आलोचना गरेका थिए । सशस्त्र प्रहरीको तत्कालीन डीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङमा लगि शव जलाएका थिए । तर, फैसलामा मृतक ढकाललाई पनि दोषी देखाइयो ।  

भ्रष्टाचार खोज्न बनेको समिति बेपत्ता !

प्रधानन्यायाधीश राणाले गत साउन ३० गते न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार एवं बिचौलिया प्रवृत्ति रोक्न भन्दै समिति गठन गरे । 

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिलाई तीन महिना समयावधि दिइएको थियो । तर, समितिको प्रभावकारिता भने देखिएको छैन ।  अहिलेसम्म समितिले काम टुंगो लगाएको छैन । 

नेपाल बार एसोसियसनले अदालतमा भ्रष्टाचार र विचौलियाको बिगबिगी रहेको भन्दै प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएपपिछ समिति बनाइएको थियो । 

समितिलाई ‘न्यायपालिकामा हु्नसक्ने विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलापहरु तथा त्यसको रोकथामका उपायहरुका सम्बन्धमा यसअघि भएका प्रतिवेदनहरुसमेतको अध्ययन गरी त्यस्ता क्रियाकलाप रोक्न कानुनी, संरचनागतलगायत उपयुक्त र प्रभावकारी उपायहरुसहितको प्रतिवेदन तीनमहिनाभित्र पेस गर्न’ कार्यादेश दिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro