विशेष
काठमाडौं । लागू पदार्थ ‘एम्फेटामाइन’ बनाउन प्रयोग हुने रसायन अन्तर्राष्ट्रिय तस्करलाई सप्लाइ गरेको अभियोगमा पक्राउ परेका रतन संघाई र फरार रहेका पवन संघाईको बैक खाता र उनीहरूको लकर प्रहरीले बन्द गराएको छ ।
“लागू पदार्थ बनाउन प्रयोग हुने रसायन तस्करलाई सप्लाइ गर्ने गरेको भेटिएपछि हामीले ३ महिनादेखि निगरानी बढाएका थियौं, त्यो साँचो सावित भयो,” लागू औषध नियन्त्रण ब्युरोका डीआईजी जयबहादुर चन्दले बाह्रखरीसँग भने, “पक्राउ परेका रतन र फरार रहेका पवनको बैंक खाता र लकर बन्द गर्न नेपाल राष्ट्र बैंकलाई हिजै पत्र पठाएका छौं ।”
चन्दका अनुसार रतन, पवन र आर्यन ल्याब फर्माको नाममा रहेको सबै चल/अचल सम्पत्ति प्रहरीले रोक्का गरेको छ ।
रतन र पवनको धेरैजसो कारोबार जनता बैंक, नेपाल एसबीआई बैंक र उनीहरूकै लगानी रहेको लक्ष्मी बैंकमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूको कारोबार रोक्का गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्य बैंकमा पनि कारोबार रहेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
संघाईको फर्मामा उत्पादित ४ सय ५२ किलो ‘प्रिकर्सर’ नामक सहायक रसायन ब्युरोले गएको शुक्रबार ललितपुरस्थित रतन संघाईको प्लास्टिक गोदाममा लुकाएर राखेको अवस्थामा फेला पारेको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३ १३:५८
प्रतिक्रिया दिनुहोस्