पोखरा । गत बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाको चुनावी सभालाई सम्बोधन गर्न पोखरा आए । उनीसँगै नेकपा उपाध्यक्ष वामदेव गौतम र नेता सुवासचन्द्र नेम्वाङ पनि सँगै आएका थिए । कास्की २ को उपचुनावको सन्दर्भमा नेकपाले उक्त दिन प्रदर्शनी केन्द्र नयाँबजारमा बृहत् चुनावी सभाको आयोजना गरेको थियो ।
दिनको करिब साढे १२ पछि चुनावी सभा परिसरभित्रको डोम नजिकै ठुलो आवाजका साथ बम विस्फोट भयो । त्यतिबेला नेकपाका नेता नेम्वाङले सभालाई सम्बोधन गर्दै थिए । मानवीय क्षति नभएता पनि त्यहाँको विस्फोटले चुनावी सभा परिसर बाहिर रहेको बसको सिसा फुट्यो । विस्फोटको केही बेरमा नै प्रहरीले तत्काल एकजनालाई पक्राउ गरेको थियो ।
त्यसपछि चुनावी सभा सकेर प्रचण्ड र नेम्वाङ हेलिकप्टरमा धरानको चुनाव प्रचारको लागि लागे ।
डीएसपी प्रदेश कार्यालयमा तानिए
चुनावी सभामा भएको विस्फोटबाट सभा परिसर बाहिरको बसमा क्षति पुग्यो । पाँचजना घाइते समेत भए । घाइते हुने सबै म्याग्दीका थिए । उनीहरु अहिले उपचारपछि डिस्चार्ज भइसकेका छन् । विस्फोट भएको उक्त क्षेत्र बैदाम प्रहरी कार्यालय अन्तर्गत पर्दछ । त्यसको २ दिनअघि मात्रै पनि पोखरा महानगर वडा नं. ३३ का अध्यक्ष शिव आचार्यको वडा नं. १७ मा रहेको घरमा विस्फोट भयो । विस्फोटबाट गाडीमा क्षति पुगेको छ । यो क्षेत्र पनि बैदाम प्रहरी कार्यालय अन्तर्गत नै पर्दछ । यसका इञ्चार्ज हुन् डीएसपी कोमल शाह ।
बुधबार प्रचण्डले सम्बोधन गर्ने कार्यक्रममा विस्फोट भएपछि शाहलाई भोलिपल्टै अर्थात् बिहीबारदेखि प्रदेश प्रहरी कार्यालयमा तानिएको छ । स्रोतका अनुसार उनलाई प्रदेशमा तान्नुको कारण, ‘प्रचण्डको कार्यक्रममा विस्फोट हुनु’ हो । उनले सुरक्षा दिन नसकेको आरोप छ ।“प्रदर्शनी केन्द्रमा विस्फोट भएको स्थान बैदामको एरिया हो, सुरक्षा राम्रो गर्न सकेन भनेर हेडक्वार्टरले त हैन, प्रदेश प्रहरी कार्यालयले ल्याएको हो,” स्रोतले बतायो ।
“हेडक्वार्टर वा गृहले गरेको होइन, आन्तरिक प्रदेश कार्यालयले गर्ने कुरा डीआईजीले गर्ने कुरा हो, शीर्ष नेता आउनु र विस्फोट हुनु पनि एउटा कारण हो,” स्रोतले बतायो ।
प्रदेश प्रहरी प्रमुख डीआईजीपी विनोद घिमिरेले भने खेलकूदको जिम्मेवारीको लागि ल्याइएको र बैदाम प्रहरी कार्यालय पनि हेर्ने बताए । “होइन यस्तो हो उहाँलाई खेलकुदको जिम्मेवारी पनि तोकिदिएको हो के, उहाँ समितिमा बस्नुभा’छ, समितिको कार्यालय डेस्क त यहाँ गर्नुप¥यो नि मैले । त्यहीँको (बैदाम प्रहरी) को काम पनि गर्नुहुन्छ । अनि यो अनुगमन समिति, जम्मै यो सबै रंगशालाको खेलकुदको सुरक्षा छ नि । त्यसमा खटाइदिएको हो । सरुवा गरिदियो भनिदिएछन्,” उनको जवाफ थियो ।
प्रदेश र जिल्ला प्रहरीमा बेमेल
विस्फोटको आधारमा तत्काल नै एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । तर, उनको पक्राउ विस्फोटमा संलग्न भएकै आधारमा नभएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । कार्यालयका प्रवक्ता डीएसपी राजकुमार केसीले भने, “पक्राउ गरेको छैन त, विस्फोटपछि त १०–१५ जना भन्दा पनि बढी पक्राउ ग¥यौँ, तर त्यही केसलाई भनेर कसैलाई पक्रेका चाहिँ छैनौँ ।”
यता प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले भने बम विस्फोटपछि ६–७ जनालाई पक्राउ गरिएको बताए । “होे, अस्तिको घटनाका ६–७ जनालाई थुनामा राखेर अनुसन्धान गरिरहेका छौँ, टोली अझै खटाएका छौँ,” उनले भने ।
यता, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक रेग्मीले चाहिँ जिल्लालाई नै थाहा भएको बताए । “त्यतिबेला तत्काल एकजनालाई पक्राउ गरेको हो भन्ने सुनेको हो मैले, को के भन्ने विस्तृत अनुसन्धान हामीले यहाँबाट गरेका छैनौँ, सम्बन्धित जिल्लालाई सोध्नुपर्ला,” उनले भने ।
प्रदेश प्रहरीका प्रवक्ताको जवाफपछि जिल्लाका प्रवक्तालाई सम्पर्क गर्दा उनले भने, “त्यही त उताको कुरा उतैबाट भेरिफाई गर्नुपर्छ । मैले बुझेको मैले भन्ने हो, उता बुझेको उतै सोध्नुहोस् ।”
जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरीबीचको बेमेल यसअघि तिहारको बेलामा जुवा अपरेसनमा पनि देखिइसकेको छ । त्यतिबेला अनुसन्धानतर्फ प्रदेशकै उत्कृष्ट ठहरिएका असई सन्तोष सुवेदीसहित तीनजना जुवाको रकम लुकाएपछि निलम्बनमा परेका थिए ।
प्रहरी स्रोतका अनुसार उक्त काण्डमा प्रदेश प्रहरी कार्यालयका अधिकारी पनि संलग्न थिए, तर निलम्बनमा चाहिँ जिल्लाका मात्र परेका हुन, डीआईजी र जिल्लाको मेल नभएका कारण केही जोगिए, केही निलम्बनमा परे ।