पोखरा । निर्धारित समयभन्दा चार वर्ष ढिलागरी पोखरामा मेलम्चीपछिको दोस्रो ठूलो आयोजनाको शुक्रबार उद्घाटन गरिएको छ । २०७३ फागुन ४ गते जापानी सहयोग नियोग (जाइका)ले कास्कीको पोखरामा खानेपानी वितरण सुधार परियोजनाका लाग्ने लागत रकम अनुदान स्वरुप दिने विषयमा सहमति भएको थियो ।
जाइकाले उक्त परियोजनाका लागि नेपाल सरकारलाई चार अर्ब ५२ करोड (जापानी ऐन चार अर्ब ८१ करोड तीन लाख) अनुदान सहयोग गर्ने सहमति भएको थियो । अनुदान लिने सहमति हुँदाताका नै सन् २०२० भित्र परियोजना निर्माण सक्ने र पोखरेलीलाई पिउन मिल्ने पानी वितरण भइसक्ने अनुमान थियो । तर, निर्धारित समयभन्दा चार वर्षपछि सम्पन्न उक्त परियोजना शुक्रबार खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन् ।
१२ किलोमिटर टाढा मर्दीखोलाको पानी ल्याएर पोखरेलीलाई वितरण गर्ने यो आयोजनाको संरचना निर्माणका सबै काम सकिएको छ । खानेपानी संस्थान पोखराका प्रमुख आशिष कार्कीले संरचनागत काम ९९ प्रतिशत सम्पन्न भएको जानकारी दिए ।
हाल पोखराको सहरी भेगको १९ वटा वडामा आठ करोड ७० लाख लिटर पानीको माग छ । जसमध्ये ६ करोड ७७ लाख लिटर पानी मात्र उपलब्ध छ । खानेपानी संस्थानले मर्दी खोलाबाटै थप ५० लाख लिटर पानी पोखरा ल्याउन अर्को आयोजनाको टेन्डर खुलाइसकेको छ ।
मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधै पिउन सकिने पानी पुर्याउने आयोजनाको लक्ष्य हो । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरिने आयोजनाअन्तर्गत पानीको मुहान मर्दीखोलाबाट ग्रिट च्याम्बर हुँदै ल्याइएको पानी पुरुन्चौरमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा शुद्धीकरण गरिन्छ ।
यसअघि मर्दी खोलाबाट २० इन्च र १६ इन्च क्षमताका दुई वटा ठूला पाइपबाट चार करोड ४० लाख लिटर पानी करिब १० किलोमिटर टाढा बिन्ध्यावाासिनीस्थित ट्यांकीमा खसालेर सामान्य क्लोरिनेशन गरेर वितरण गरिँदै आएको थियो ।
हाल भने पानीलाई पोखरा महानगरपालिका हेम्जामा निर्माण गरिएको ग्रिड च्याम्बरमा खसालिन्छ । यहाँ खोलाबाट पानीसँगै आएका ढुंगा, गिट्टी, रुखका हाँगाबिँगा तथा झारपात छानिन्छ । त्यसपछि सेडिमेन्टेसन ट्यांकीमा पठाएर पानी थिग्राएर बालुवा सिल्ट र धमिलोपन हटाउने कार्य हुन्छ ।
त्यसपछि पुरनचौरमा बनाइएको स्लो स्यान्ड फिल्ट्रेसन युनिटमा पानीलाई थप प्रशोधन गरिन्छ । मसिनो बालुवा, मोटो बालुवा, गिट्टी र अझ ठूलो गिट्टी गरी पाँचवटा तहमा पानी छानिएर ६ वटा पोखरीमा पानी राखिने बताइएको छ ।
ती पोखरीमा पानीलाई क्लोरिनेशन गरी अर्को पोखरीमा पुर्याएपछि पानीको शुद्धीकरण प्रक्रिया पूरा हुन्छ । यसरी शुद्धीकरण गरिएको पानी वितरण प्रणाली भएर उपभोक्ताको घरघरको धारामा पुग्छ ।
शुद्धीकरण गरिएको पानी जम्मा गर्न पोखरा–११ फूलबारी, वडा ५ पस्र्याङ र वडा १५ कोलपाटनमा २०/२० लाख लिटर क्षमताका तीन वटा रिजर्भवायर ट्यांकी निर्माण गरिएको छ ।
मर्दीखोला मुहानबाट २० र १६ इञ्चका छुट्टाछुट्टै दुई पाइपमार्फत पोखरा बजारमा पानी ल्याएर वितरण हुन्छ । पोखराको ८० प्रतिशत उपभोक्ताका घरमा मर्दीको पानी वितरण हुनेछ ।
मेलम्चीपछिको ठूलो भनिएको यो आयोजनाबाट पोखरा महानगरको वडा नम्बर १ देखि १९ सम्म करिब पाँच लाख जनसंख्या लाभान्वित हुने अपेक्षा खानेपानी संस्थानको छ ।
पानी शुद्धीकरणको यो आयोजना निर्माण भएसँगै अब पाँच लाख जनसंख्याले धाराबाट सिधै पिउन सक्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । पानी शुद्धीकरणको लागि निर्माण भएको यो आयोजनाअन्तर्गत ११० किलोमिटर पाइप बिच्छ्याएर पानी वितरण हुनेछ ।
खानेपानी भण्डारण गर्न पोखराको फूलबारी, पस्र्याङ र कोलपाटनमा ओभरहेड ट्यांकी निर्माण गरिएको छ । यी मध्ये कोलपाटनको ओभरहेड ट्यांकी भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण सञ्चालनमा आउनेछैन ।
पोखरा १५, कोलपाटनमा बनेको ट्यांकी चाहिँ नेपाल नागरिक उड्डयन प्राधिकरणले भत्काउनुपर्ने बताएपछि अलपत्र रहेको छ । नागरिक उड्डयन प्राधिकरणले ३१ मिटर अग्लो ट्यांकी काटेर १५ मिटरमा *झार्नुपर्ने अडान लिए पनि त्यस्तैमा हस्तान्तरण गरिएको हो ।*
कोलपाटनको ३१ दशमलव आठ मिटर अग्लो ओभरहेड ट्यांकीबाट ट्यांकीबाट पोखराका १०, १४, १५ र १७ का करिब ३४ हजार जनसंख्यालाई खानेपानी वितरण गर्ने लक्ष्य थियो । २०७६ कात्तिकमा ट्यांकी निर्माण थालिएको थियो । तर, उड्डयन प्राधिकरणका कारण यो ट्यांकी भने अलपत्र परेको छ ।
बाँकी दुई ठाउँबाट भने पानी वितरण सुरु भइसकेको कार्कीले जानकारी दिए । यो आयोजना सन् २०१७ मा पोखराको जनसंख्यालाई आधार मानी निर्माण सुरु गरिएको तर हाल पोखराको जनसंख्या वृद्धि भएको हुँदा आयोजनाले मात्र पानी पर्याप्त नहुने उनको भनाइ छ ।
पोखराको विकासमा जापानी सहयोग परियोजना जाइकाको योगदान ठूलो छ । जाइकाकै अनुदानमा निर्माण भएको यो आयोजनाले पोखराबासीलाई ठूलो राहत मिलेको छ । यसै आयोजनाकै कारण पोखरा र जापानका नागरिकबीचको सम्बन्ध अझ प्रगाढ बन्ने जाइकाकी उपप्रमुख तानाका तोमातोले बताइन् ।
जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थानअन्तर्गत सम्पन्न पोखरा खानेपानी सुधार आयोजनाका संरचनाहरूको उद्घाटन गर्दै मन्त्री यादवले पोखरेलीले अब शुद्ध पानी पिउन पाउने बताए । “माछापुच्छ्रेको काखबाट शुद्ध खानेपानी पोखरामा ल्याएका छौँ, आजबाट शुद्ध र सुरक्षित खानेपानी बितरण सुरु भएको छ, जुन पानी शुद्ध अनि सफा छ, सिधै धाराबाट पिउन सकिने छ,” उनले भने ।
यो आयोजनाबाट अब वर्षातमा हिलो मिसिएको पानी खानुपर्ने बाध्यता हटेको मन्त्री यादवले बताए । मेलम्चीपछिको ठूलो परियोजना सम्पन्न भएकोमा उनले खुसी व्यक्ति गरे ।
“सरकार पोखराबासीलाई शुद्ध खानेपानी खुवाउन तयार छ, हामीले मेलम्चीपछिको ठूलो आयोजना सम्पन्न गरी पोखराबासीलाई शुद्ध पानी खुवाउन सफल भएका छौँ । अब पोखराबासीले हिलो मिसिएको पानी खानुपर्ने अवस्था आउने छैन्, आजबाट हिलो मिसिएको पानी धारामा आउँछ भन्ने गुनासो पनि समाप्त भएको छ ,” उनले भने ।
*सच्याइएको