पोखरा । चुनावी चर्चा रहेको पोखरामा अहिले शीर्ष नेताहरुले चर्चा गर्ने विषय छ, लिपुलेक र कालापानीलाई समेटेर भारतले सार्वजनिक गरेको राजनीतिक नक्साको । शनिबार देउवाको कडा अभिव्यक्ति, आइतबार सरकारका प्रवक्ताको जवाफपछि फेरि आइतबार नै पूर्वप्रधानमन्त्री रहिसकेका डा. बाबुराम भट्टराईले पनि यो कुरालाई छुटाएनन् ।
केही दिनअघि डा. भट्टराई पनि पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री केपीशर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा समेत सहभागी बनेका थिए । उक्त बैठकको स्मरण गर्दै डा. भट्टराईले आफूले दुईवटा विकल्प दिएको बताए ।
समाजवादी पार्टीको चुनावी सभामा डा. भट्टराईले राखेको कुरा संक्षेपमा :
मैले सुरुमा नै उहाँलाई भने, प्रधानमन्त्रीजी तपाईं त आफूलाई राष्ट्रवादी भन्नुहुन्छ, राष्ट्रवादी नै सही, तपाईंले यसको रक्षा कसरी गर्नुहुन्छ ? मैले उहाँलाई भनेको थिएँ, देशको भूमिको रक्षा गर्ने र देशमा आएका विदेशी सेनाको तैनाथीलाई हल गर्ने दुईवटा बाटो हुन्छ, एउटा बाटो भनेको बलियो देशले आफ्नो सेनाको प्रयोग गरेर आफ्नो सीमाबाट हटाउने, अर्को बाटो भनेको छिमेकीसँग लडेर हामीलाई फाइदा छैन्, वार्ता संवादबाट नै हल गरेर समाधान हुन्छ भने कुटनीतिक तरिकाले हल गर्नुपर्छ, तपाईले एक बाटो रोज्नुहोस भनेको थिएँ । कर्मचारी तहबाट यसको हल हुँदैन । तपाईंले सिधै प्रधानमन्त्री मोदीसँग कुरा गरेर हल गर्नुहोस भनेको थिएँ । यसमा सबैले सहमति जनाउनुभयो ।
आजको मितिसम्म हिजोमात्र अखबारमा छुस्स आयो, उहाँले चाहीँ कसैले थाहा नपाउने गरि डिप्लोमेटिक नोट, जुन सामान्य खालको कर्मचारीले लेख्ने नोट हुन्छ । त्यो लेखेर पठाउनुभएको छ रे, त्योभन्दा बाहेक उहाँले अहिलेसम्म कुनै राजनीतिक पहल चाहिँ गर्नुभएको छैन् । अनि बाहिर हामीलाई देखाउन उहाँले के भन्नुभएको थियो अखबारमा, ‘मैले भारतीय सेना फिर्ता लैजाउ भनेर भन्दिएँ, जमिन फिर्ता गराएरै छाड्छु भनेर बाहिर भाषण गर्नुभयो ।
यति कुरा सीधा भन्न नसक्ने अनि 'लाछी बाउ'ले आफ्नो घरमा आएर धाक लगाएजस्तो गरेर हाम्रा प्रधानमन्त्रीले हामीलाई बाहिर राष्ट्रवादको ठुलो डंका पिट्ने भित्र लत्रक्क परेर सत्ताको डरले लत्रिएर बस्ने ? यस्तो खालको नक्कली राष्ट्रवादबाट कहिले मुक्त हुने ?
‘प्रचण्डले एमालेको चौतारीमा भारी बिसाए’
दुईतिहाई बहुमतका साथ सत्ता चलाइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनै समयका सहयोद्धा एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘एमालेको चौतारीमा भारी बिसाउन गएको’ भन्दै टिप्पणी गरेका छन् ।
समाजवादी पार्टीका उमेदवारलाई मत माग्न र सभा सम्बोधन गर्न पोखरा आएका भट्टराईले नेकपा अहिले ठूलो शक्तिजस्तो भ्रम देखिएको बताए ।
“गत निर्वाचनमा चरम राष्ट्रवादको नारा दिएर केपी ओलीको नेतृत्वमा नेकपा आयो र मेरै पुराना मित्र प्रचण्डजी जोसँग मैले झण्डै ३३ वर्षसँगै काम गरे । उहाँसमेत जनयुद्धबाट थाकेर अब फेरि त्यही एमालेको चौतारीमा भारी बिसाउन जानुभयो । र त्यसपछि जुन ठूलो शक्तिजस्तो देखिन पुग्यो । त्यही भ्रमका कारण जनताले एकैठाउँमा आएको कम्युनिष्ट पार्टीलाई मत दिएपछि देशको छिटो भलो हुन्छ कि भनेर नेकपा डबललाई मतदान गर्नुभयो । तर, दुई वर्ष बितिसक्यो । दुई-दुई वर्षसम्म तपाईंले यो सरकारबाट के प्राप्त गर्नुभयो ?” उनले प्रश्न गरे ।
प्रश्नमात्र होइन, कम्युनिष्टको नाममा भ्रष्टाचार गर्ने स्वभाव नै परिचयजस्तो बनिसकेको उनले आरोप लगाए ।
“आफूलाई कम्युनिष्ट भन्ने तर व्यवहारमा हाम्रा साथीहरु ठूला-ठूला भ्रष्टाचारका काण्ड गर्न सुहाउँछ । बालुवाटारको जग्गा प्रकरण महासचिवले नै मिलेर हडप्नुभयो भनेर तथ्यले भनको छ । वाइडबडी प्रकरणमा अहिले सत्तामा भएका मान्छेहरुको नै संलग्नतामा चार अर्बभन्दा बढी भ्रष्टाचार भयो के त्यो कम्युनिष्टले गर्न मिल्थ्यो ? कहाँ गयो त्यो ३३ किलो सुन ? बुढिगण्डकी प्रकरण मेरै पालामा अगाडि बढेको हो, तर कम्युनिष्ट साथीहरुले कमिसन खाएर बदनाम कम्पनीलाई दिएपछि अहिले अलपत्र परेको छ । एनसेल प्रकरणको पूँजीगत लाभकरमा पनि उहाँहरुले नै मिलेमतो गरेर यता उता पार्नुभयो,” उनले थपे, “मैले भन्न खोजेको के हो भने, कम्युनिष्टहरु जसले श्रममा विश्वास गर्छन्, कमाई नगरेको धन खान हुँदैन भन्छन्, उहाँहरुको सत्तामा यस्तो गर्न मिल्छ ? पञ्चले, राजाले, कांग्रेसले पनि केही हदसम्म गरे भने, उहाँहरुको स्वभाव, जात, चिन्तन नै त्यस्तो हो भन्न सकिन्छ ।”
उनले कांग्रेसले बाटो बिराएको टिप्पणी गरे ।
“कांग्रेस र एमालेलाई पटकपटक व्योहोरिसकेकै हो हामीले, कांग्रेसले २०४८ पछि पटक-पटक हेरेकै हो, पूर्ण बहुमत पनि दिएकै हो । उसले सरकार पनि चलायो तर म उबारे धेरै कुरा भन्न चाहान्न् । कांग्रेस आफैँ थाकेर बीपी कोइरालाको पुस्ता सकिएपछि बाटो बिराएर अलमलिएको छ,” उनको तर्क थियो ।
पटकपटक सत्तासीन ठूला दलहरुका कारण मुलुक भ्रष्टाचारमा डुबेको हुँदा त्यसको विकल्पमा समाजवादी पार्टी आएको र समाजवादी पार्टीले नै देशको हित गर्न सक्ने उनले दाबी गरे ।
समाजवादी पार्टीले यहाँ ईन्जिनियर पृष्ठभूमिका धर्मराज गुरुङलाई उमेदवार बनाएको छ । समाजवादी पार्टीका संघीय परिषदका अर्का अध्यक्ष उपेन्द्र यादवले सत्तामा रहेर नै संविधानमा पहिचानसहितको जातीय व्यवस्थाको लागि संघर्ष गर्ने बताए ।