पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नक्सा छापेको आरोप लगाएका छन् । कालापानी र लिपुलेकको नक्सा आफूतिर पारेर भारतले नक्सा सार्वजनिक गरेपछि अहिले सर्वत्र विरोध भइरहेको छ । यस्तो अवस्थामा पनि सरकारले कुनै ठोस पहल नचालेको र चुप बस्नुको पछाडि प्रधानमन्त्री ओलीकै हात रहेको दाबी देउवाको छ ।
“ओली राष्ट्रवादी नै हैनन्, ओलीले भारतसँग भित्रभित्र सल्लाह गरेर भारतले नक्सा छापेको हो । भारतले नक्सा छापेको ओलीसँग सल्लाह गरेरै छापेको हो, त्यसै छाप्छ ? ओलीको सहमतिबिना छाप्नै सक्दैन,” शनिबार पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “म प्रधानमन्त्री भएकै बेला महाकाली सन्धि भएको हो । महाकाली सन्धिमा महाकालीलाई सीमा नदी मानेको छ । कालापानी, महाकालीपूर्वको जमिन हो । कसरी नक्सा छापियो, महाकाली सन्धिपछि त्यस्तो (नक्सा) छापिएको थियो ?”
महाकालीपूर्वको कालापानी र लिपुलेक भारतलाई बुझाएर प्रधानमन्त्री ओलीले सबैभन्दा ठूलो राष्ट्रघात गरेको आरोप पनि उनले लगाए । उनले नेपालको एक इञ्च पनि जानु हुँदैन भन्दै त्यसको लागि खबरदारी गर्नुपर्ने औंल्याए ।
यस्तै, संवैधानिक आयोगलाई पंगु बनाउन खोजिएको समेत उनको आरोप छ । “ओलीले राष्ट्रवाद राष्ट्रवाद भने, खै त राष्ट्रवादमा अडिएका ? त्यही राष्ट्रवादको नारामा जनतालाई उल्लु बनाएर जिताएका (नेकपालाई) हैनन्, कहाँ छ राष्ट्रवाद ?” देउवाले थपे, “उनको (ओली) राष्ट्रवाद त कालापानीमा गएर समपर्णवादमा घुँडा टेकेको छ । लम्पसारवादमा परिणत भएको छ ।”
उपनिर्वाचन सरकार बन्ने र सरकार हार्ने नभए पनि यो सरकार कति अलोकप्रिय भएको छ भन्ने ऐना देखाउने चुनाव भएको बताउँदै नेपाली कांग्रेसका उमेदवारलाई जिताउन उनले आग्रह गरे । उनले ओली सरकार आएपछि के–के न गर्छु भनेर हिँडे पनि भ्रष्टाचार र लुटतन्त्र मात्रै मच्चाएको बताए ।