काठमाडौं । अरुले बनाएका चलचित्रको समीक्षा गर्दै आएका दीपेन्द्र लामा अहिले आफैं चलचित्र निर्देशक भएका छन् । उनले बनाएको चलचित्र ‘घामपानी’ यही वैशाख १ गते रिलिज हुँदैछ । सोही दिन अर्का फेस भ्यालु बोकेका दीपेन्द्र के खनालको पनि चलचित्र रिलिज हुँदैछ ।
वैशाख १ गते नै प्रियंका कार्की र निखिल उप्रेती स्टारर चलचित्र ‘राधे’ पनि प्रर्दशन हुँदैछ ।
खनालको ‘लभ लभ लभ’ र लामाको ‘घामपानी’ आशालाग्दा भनेर अपेक्षा गरिएका चलचित्र हुन् । उता ‘राधे’ पनि सिंगल थिएटरमा आशाको नजरले हेरिएको चलचित्र हो । सिंगल स्क्रिनमा निखिलको चार्म अझै पनि उत्तिकै छ । कुनै समय उनका एक्सन चलचित्रको दबदवा नेपाली चलचित्र उद्योगमा थियो ।
अहिले सबै आ–आफ्नै तरिकाले फिल्मको प्रोमोशनमा लागेका छन् ।
वार्षिक डेढ सयभन्दा बढी चलचित्रले अहिले निर्माण इजाजत लिन थालिसकेका छन् । निर्माण इजाजतकै अनुपातमा चलचित्र निर्माण र प्रदर्शन नभए पनि पछिल्ला वर्षमा हरेक हप्ताजसो नेपाली चलचित्र एकै दिन दुई÷तीनवटा सम्म प्रदर्शन हुन थालेका छन् ।
सोही दिन अर्ब नजिकको बजेटमा बनेका बलिउड र हलिउडका चलचित्र पनि प्रदर्शनमा आउँछन् । एउटै हलमा लाग्ने यी सबै चलचित्र एक अर्काका विकल्पका रूपमा प्रदर्शन भइरहेका छन् । बिजनेसको अंकगणित यहीँबाट निर्धारण हुन्छ । नेपाली सानो बजेटमा बनेको चलचित्र भनेर दर्शकको भावनात्मक सम्बन्ध नेपाली चलचित्रमा देखिँदैन ।
यसको अर्थ हो, प्रतिस्पर्धा बढेको छ । दर्शकलाई हलसम्म र हल पुगेका दर्शकलाई आफ्नो चलचित्र स्क्रिनिङ भएको स्क्रिनसम्म पुर्याउन झनै चर्को प्रतिस्पर्धा छ ।
यो प्रतिस्पर्धा नेपालमा पनि देखिन थालेको छ । चलचित्र प्रदर्शन अगाडि ल्याइने विभिन्न अफर हुन् या कलाकारसँग डेटिङ, यी सबै चलचित्र प्रचारकै माध्यम हुन् । दर्शकसम्म चलचित्र पुर्याउने र दर्शकलाई हलसम्म तान्ने विज्ञापन रणनीति नै हुन् ।
केही समय अगाडि प्रदीप भट्टराईको चलचित्र ‘जात्रा’ ले कलाकारसँग डेटिङको अफर ल्यायो । सुटिङमा कलाकारले चढेको बाइक लक्की ड्रमार्फत दर्शकलाई दियो । त्यो प्रचारको एउटा रूप थियो ।
अहिले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लभ लभ लभ’ ले पनि विभिन्न अफर ल्यायो । भ्यालेन्टाइन अफर ल्याएको उसले त्यो भन्दा पनि अर्को आकर्षक अफर ल्यायो, नगद रुपैयाँको ।
लभ स्टोरी जानरामा बनेको चलचित्रकी निमातृ शर्मिला पाण्डेले दर्शकलाई आफ्नो वास्तविक प्रेमकथा लेखेर पठाउन आग्रह गर्दै एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिन् । उनले पुरस्कार राशिमात्रै घोषणा गरिनन्, राम्रो प्रेम कहानी प्राप्त भए त्यसलाई चलचित्र नै बनाउने उद्घोष समेत गरिन् ।
उनले दुई दिन अगाडि उत्कृष्ट प्रेम कथालाई पुरस्कार समेत प्रदान गरिन् ।
पुरस्कार वितरण समारोहमा निर्देशक खनालले चलचित्र बनाउने खालको प्रेमकथा भने प्राप्त नभएको बताए । यो पनि चलचित्र प्रचारकै एउटा साधन हो ।
नेपाली सिने बजारमा एउटा समस्या छ, त्यो हो सानो बजार । ठूलो बजार नभएका कारण मन खोलेर निर्माताले लगानी गर्न सक्तैनन् । यसको प्रत्यक्ष मार दर्शकले सेतो पर्दामा मात्रै देख्दैनन् । कलाकारको खल्तीमा पनि पर्छ । उनीहरु वर्षमै कम्तिमा ५÷७ वटा चलचित्रमा अभिनय गर्न बाध्य हुन्छन् । यसको अर्को प्रभाव पर्छ चलचित्रको प्रोमोशनमा ।
केही दिन अगाडि ‘घामपानी’ का निर्देशक लामा भन्दै थिए–मिडियाले दया र केकीलाई खेजिरहेका छन् । तर उहाँहरु काठमाडौंमा हुनुहुन्न । लिड रोलमा रहेका दयाहाङ राई र केकी अधिकारी नै नभएपछि उनलाई चलचित्रको प्रोमोशनमा केही सकस भएको देखिएको छ । (गृह जिल्ला भोजपुर पुगेका राई भने अहिले काठमाडौं आइसकेका छन् ।)
अष्ट्रेलियामा रहेकी केकी अधिकारी उतैबाट ‘घामपानी’ रिलिजको काउन्टडाउन पोस्टर आफ्नो फेसबुक पेजमा अपलोड गरिरहेकी छन् । यता नेपालमै रहेका दयाहाङले भने आफ्नो फेसबुक पेजको कभर फोटो पनि परिवर्तन गरेका छैनन् । अझै ‘लुट’ कै पोस्टर उनको कभर फोटोको रूपमा छ ।
भारतमा चलचित्र निर्माणको कुल बजेटको झण्डै ४०–५० प्रतिशत प्रचारमा खर्च गरिन्छ । तर, नेपालमा १५ प्रतिशत पनि विज्ञापनमा खर्च हुँदैन । त्यसैले चलचित्र निर्देशक तुलसी घिमिरे भन्छन्, ‘हामी चलचित्र राम्रो बनाएर पनि बेच्न जान्दैनौं । व्यापारिक घराना आकर्षित नभएसम्म चलचित्रले व्यावसायिक रूपमा उद्योगको रूप लिँदैन ।