
रामेश्वरी पन्त कुशल कथाकार र कवि हुन् । अझ अखबारी लेखनमा उनी परिचित छिन् । समसामयिक विषयका अतिरिक्त महिला लेखनका विषयमा उनी खरो रूपमा उत्रिन्छन् ।
उनैद्वारा लिखित ‘स्वस्थानी व्रतकथा नारीशक्तिको महिमा, नारीकै शोषण’ पुस्तक निकै मिहिनेतपूर्वक तयार पारिएको कृति हो ।
हामी हिन्दु धर्मावलम्बीहरू स्वस्थानी व्रतकथा नसुन्ने कमै छौँ होला । हाम्रो समाजमा बलियोसँग प्रभाव जमाउन सफल यो कृति कहिले र कसले लेख्यो भन्ने बारेमा पनि हामीलाई उत्तिकै जिज्ञासा लाग्ने गर्छ ।
नारीशक्तिको महिमा गाइएको यो पुस्तकमाथि विदेशीले समेत अध्ययन, अनुसन्धान गरेका छन् । लेखक पन्तले पनि समाजशास्त्रको स्नातकोत्तरमा स्वस्थानी व्रतकथाको विषयमाथि शोधपत्र लेखिन् ।
समसामयिक विषयलगायत नारीअस्तित्वका बारेमा लामो समयदेखि लेखनमा स्थापित उनले आफ्नो शोधपत्रलाई तह पार गर्ने माध्यमको रूपमा मात्र हेरिनन्, यसभित्रका सबल र दुर्बल पक्ष केलाएर पुस्तकको रूपमा प्रकाशन गरिन् । भाषाशैली र शिल्पपक्षमा राम्रो पकड भएकी उनले धार्मिक पुस्तक पनि आख्यानजस्तै ढंगमा लेखिन् ।
छवटा अध्यायभित्र विभिन्न उपशीर्षक राखेर स्वस्थानी कथाभित्रका विविध विषयबारे गहन अध्ययन गरिन् । एउटा सिंगो पुस्तकको बारेमा लामै समालोचनात्मक लेख लेख्न सकिन्थ्यो । तर, मैले यहाँ छोटो पाठकीय टिप्पणी मात्र समेट्ने प्रयास गरेकी छु ।
यो पुस्तकको सबैभन्दा सबल पक्ष महिलाको केन्द्रीयतामा रहेर पात्रहरूको अध्ययन गर्नु हो । मल्लकालीन युगमा अर्थात् करिब साढे चार सय वर्षअघि नेवारी भाषामा सर्वप्रथम स्वस्थानीदेवीको कथा लेखिएको कुरा उनले अध्ययनमा प्राप्त गरिन् ।
भक्तपुर, थिमीका एकजना नेवारले लेखेको थिमी कथाबाट यसको कथा लिइएको कुरा अध्ययनमा फेला पारिन् । सक्व अर्थात् साँखुमा स्वस्थानीदेवीको मन्दिर हुनु र यो ठाउँसँग स्वस्थानी देवीको ऐतिहासिकता जोडिनुले पनि विभिन्न अनुमान लगाउन सकिन्छ ।
महादेव पति पाउनका लागि विष्णुले पार्वतीलाई व्रत लिन प्रेरित गरेको कथा नै यसको मूलकथा हो भने यसभित्र थुप्रै उपकथाहरू रहेको सन्दर्भलाई उनले उल्लेख गरेकी छन् ।
यी कथाहरूमा महिलाको स्थान कहाँनेर छ, कसरी प्रस्तुत गरिएको छ, यिनमा कत्तिको सत्यता छ भनी अन्धानुकरण नगरी आलोचनात्मक चेतले यो पुस्तक लेखिएको छ ।
आजको दिनमा पनि स्वस्थानी व्रतकथाको महिमा घटेको छैन, बरु बढेको छ । यसअर्थमा यो कथाले नेपाली परम्परा र मौलिकतालाई जोगाएको पनि छ ।
सतीदेवी, पार्वती, गोमा, वृन्दा, चन्द्रावतीजस्ता नारी पात्रहरू र महादेव, विष्णु, जालन्धर, शिव शर्मा, नवराजजस्ता पुरुष पात्र आजका समाजका पात्रका रूपमा हेर्ने हो भने स्वस्थानी लेखनको समय र हालको समयमा खासै भिन्नता देखिँदैन । त्यहाँ पनि पुरुषलाई शक्तिशाली र मालिकको रूपमा देखाइएको छ भने महिला पात्रलाई सेविका र भोग्याको रूपमा मात्रै ।
पुरुषप्रधान समाजको मानसिकताबाट स्वस्थानी व्रतकथाको किताब लेखिएको हो । पितृवंशीय परम्परा, परिवारमा छोराको महत्त्व र बालविवाहलाई समाज स्वीकार्य मानिएको छ । जस्तोसुकै अयोग्य भए पनि बाबुआमाले खोजेको लोग्ने स्वीकार्नुपर्छ भन्दै पति नै सर्वस्व हो भन्ने मान्यता स्थापित गरिएको छ ।
महिलालाई सहनशील, कर्तव्यपरायण र चरित्रवान् पात्रको रूपमा उभ्याइएको छ । यी कुराहरूलाई पन्तले विभिन्न तर्कले खण्डन गरेकी छन् । एकातिर महिलाकै पूजाउपासना गर्ने, व्यवहारमा कागजीकी देवीको रूपमा मात्र हेर्ने, विभेदको आराधना गर्ने सामन्ती र पितृसत्तात्मक समाजप्रति प्रश्न गरेकी छन् ।
स्वस्थानी कथाका महिला पात्रले भोगेको बलात्कार र हिंसा, छोरीलाई बिहे गरेर पठाएपछि पैत्रिक सम्पत्तिमाथि हक निषेधजस्ता कुरा अहिलेका छोरीले पनि भोगिरहेका छन् । लगभग पाँच सय वर्षअघिको समाज र अहिलेको समाजमा खासै तात्त्विक भिन्नता नआएकोप्रति प्रश्न गरेकी छन् ।
अमेरिकी प्रोफेसर जेस्सिका वर्केन्होल्ज, लेन बेनेट, लिन्डा लुइसले साँखु र स्वस्थानी कथाबारे अध्ययन, अनुसन्धान गरेका छन् । पुस्तक प्रकाशन गरेका छन् ।
यही प्रेरणाले पनि पन्तले यो पुस्तक लेखेको देखिन्छ । उनको यो प्रयासले नेपाली साहित्यले गहकिलो कृति प्राप्त गरेको छ । लेखकले जति मिहिनेत गरेकी छन्, त्यति वर्णविन्यासमा देखिएको अत्यधिक त्रुटिले मिठो खाना खाँदा दाँतमा गाँसपिच्छे ढुंगा लागेजस्तो भएको छ । प्रकाशकले ध्यान नपुर्याउनु खेदजनक कार्य हो ।
पुस्तक विविध विषयमा लेखिनुपर्छ भन्ने मान्यतामा स्वस्थानी व्रतकथाबारे लेखिएको यो पुस्तक पाठकका लागि स्वादिलो खुराक हो । विश्वविद्यालयमा तह पार गर्ने प्रयोजनले वर्षैपिच्छे अनेक विषयमा शोध गरिए पनि ती प्रकाशकको ढोकासम्म आउँदैनन् ।
शिखा बुक्सबाट यो कृति प्रकाशित भएर बजारमा आयो । पाठकले पढ्ने अवसर पाए र आगामी दिनमा चर्चापरिचर्चा पनि भइरहला । बढीभन्दा बढी पाठकले यो पुस्तक खोजीखोजी पढून् र स्वस्थानीदेवीको बारेमा अझ बढी ज्ञान प्राप्त गरून् ।