पोखरा । मंसिर १४ गते हुने कास्की २ को उपचुनावमा २१ जना उमेदवारहरु प्रतिस्पर्धामा छन् ।
प्रतिनिधि सभा उपनिर्वाचन हुने एकमात्र क्षेत्र भएका कारण यहाँका उमेदवारहरु हरेक हिसाबले केन्द्रमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नै अहिलेसम्मका मुख्य प्रतिष्पर्धी देखिएका छन् । विगतको चुनावको गणितका आधारमा पनि यी दुई दलले मात्र जमानत जोगाएका थिए ।
नेकपाबाट स्व. रवीन्द्र अधिकारीपत्नी विद्या भट्टराई र नेपाली कांग्रेसका तर्फबाट पाका नेता खेमराज पौडेलबीचको प्रतिष्पर्धा रोचक हुने देखिन्छ । आधिकारिक उमेदवार घोषणापछि निर्वाचन कार्यक्रम नै बनाएर अहिले यी दुवै उमेदवार चुनावमा होमिएका छन् । आवधिक निर्वाचन नभइ उपनिर्वाचन भएका कारण यसपटकको चुनावमा चुनावी घोषणापत्र कुनै दलको पनि छैन भन्दा हुन्छ । उमेदवारले जे बोल्यो, त्यही घोषणापत्रलाई दलगत रुप दिइएको छ ।
यसकारण, यहाँ उमेदवारको बोली र मतदाता फकाउने रणनीति बनाउनमा नै दलहरु लागिपरेका छन् । नेकपाकी उमेदवार विद्या भट्टराईले घरदैलो वा टोलैपिच्छेका सभा कहिँपनि दिवंगत पति रवीन्द्रको नाम छुटाउँदिनन् । “रवीन्द्रका अधुरा सपना साकार पार्छु,” यही वाक्यलाई प्रयोग गरेर सहानुभूति बटुल्ने प्रयासमा नेकपा प्रयत्नरत छ । यसबाहेक निर्माणाधीन पोखरा विमानस्थल, सिर्जनाचोकमा आकाशेपुल नै अहिलेसम्म नेकपा उमेदवारले देखाएका योजना हुन् ।
नेकपाको मात्रै होइन, कांग्रेसको पनि एजेन्डा केही छैन । विद्या भट्टराईलाई काउण्टर दिन खेमराजले प्रायः एक वाक्य प्रयोग गर्छन्, “सपना रवीन्द्रका मात्र होइन, हाम्रा पनि हुन्छन्, सपना कसका हुँदैनन र ?” पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । सन्, २०२१ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ यस विमानस्थलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । पर्यटन मन्त्रीमा बहाल रहँदा रवीन्द्र अधिकारीले यस विमानस्थललाई विशेष प्राथमिकता र चासो दिएका थिए ।
यही कुरालाई नेकपाले मतदातामाझ फिँजाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँ समृद्धिको ढोका खुल्ने, रोजगारी सिर्जना हुने, अर्थतन्त्र बढ्ने र यसको प्रत्यक्ष फाइदा पोखरेलीलाई नै हुने कुरा मतदातालाई बुझाउँदै र यसको कारकको रुपमा रवीन्द्रलाई नै चित्रित गरिरहेको छ नेकपा ।
विद्या भन्छिन्, “उहाँका थुप्रै सपनाहरु थिए, अब म कस्केलीकी छोरी भएर आएकी छु, रवीन्द्रका सपनाहरु पूरा गर्न मलाई साथ दिनुहोस् ।”
पोखरेली जनताको पनि विमानस्थल निर्माणमा उत्तिकै भूमिका छ । धर्ना दिनेदेखि लिएर विमानस्थल निर्माणमा ढिलाइ हुन नदिन यहाँका शिक्षित जनताले आवश्यक बेलामा दबाब पनि दिन्छन् । “धर्ना दिन हामी पनि गएका थियौँ, रवीन्द्रमात्र होइन पोखरेली जनताको धर्ना र दबाबले नै यहाँ विमानस्थल बनेको हो ।” खेमराजले काउण्टर गर्ने गरेका छन् ।
विशेषतः मुख्य दुई दलका उमेदवारहरु एजेण्डा गौण राखेर एकअर्काको बोलीलाई नै काउण्टर दिँदै मतदाता फकाउनमा व्यस्त छन् । विद्याले मतदातासँग सिर्जनाचोकमा आकाशे पुल बनाइने घोषणा गरेकी छन् । सिर्जनाचोकमा आकाशेपुल बनाएर ट्राफिक व्यवस्थापन गर्न, यात्रुलाई सहज आवतजावत गर्न रवीन्द्र अधिकारीले निर्वाचन पूर्वाधार बापत ५० लाख रुपैयाँ विनियोजन गरेका थिए ।
महानगरले २ करोड थपेर सिर्जनाचोकमा आकाशे पुल बनाउने घोषणा गरेको गएको फागुनमा हो ।
आकाशेपुल सुुरुमा आरसिसी स्ट्रक्चरमा बनाउने भनिएता पनि अहिले भने त्यसको स्वरुप फेरेर स्टिल स्ट्रक्चरको बनाइने भएको छ । अझै चारमहिनासम्म यो काम पुरा नहुने पोखरा महानगरपालिकाले जानकारी दिएको छ ।
यता, पोखरा चक्रपथ भने दुई दशकदेखि घुमिरहेको छ । महानगरले नै चक्रपथको योजना अगाडि सार्दै, त्यसलाई थन्क्याउने र फेरि नयाँ योजना सार्वजनिक गर्ने गरेको छ । केही महिनाअघिमात्रै चक्रपथको बारेमा प्रदेशका मुख्यमन्त्री सहितको बैठकमा छलफल भएको थियो । त्यसपछि यसको प्रगती शून्य छ ।
खेमराजको विकास निर्माणको योजना खासै छैन् । सामान्यरुपमा सुकुम्बासी टोलमा खानेपानी, रातोपूर्जा दिलाउने आश्वासन उनको छ । सुकुम्बासी आयोगको अध्यक्ष हुँदा उनले सेतोपूर्जा उपलब्ध गराएका थिए । अहिले चुनाव जिताए रातोपूर्जा नै दिने आश्वासन उनले मतदातालाई दिएका छन् । कास्की २ क्षेत्रभित्र महानगरका ११ वटा वडा पर्दछन् । ०७४ को स्थानीय तहको निर्वाचनमा ११ मध्ये ७ वटा वडामा नेकपा र ४ वटा वडामा कांग्रेसले जितेको थियो ।
तर, पछिल्ला समय सत्तारुढ नेकपा सरकारका केही अलोकप्रिय काम, कर, महंगीलगायतका विषयका कारण नेकपालाई चुनौती भने कम छैन । सत्ता चलाईरहेको सरकारलाई कास्की २ को उपनिर्वाचन जसरी पनि जित्ने र सरकार लोकप्रिय रहेको सन्देश दिन ठुलो चुनौती छ ।
यता, यसपटक भने कांग्रेसको वास्तविक परिक्षण हुने विश्लेषण कांग्रेसकै कार्यकर्तामाझ पनि चलिरहेको छ । अन्तर्घात यसपटक नहुने र सरकारको अलोकप्रियताको फाइदा उठाएर चुनाव जित्ने दाउमा कांग्रेस छ । तर, भद्रगोल भातृसंस्था, प्रतिपक्षीको शून्य भूमिका जस्ता कारण कांग्रेस पनि अछुतो भने छैन ।
गत चुनावमा करिब ९ हजार मतान्तरलाई उल्टाएर चुनाव जित्नु कांग्रेसको लागि फलामे च्युरा चपाएसरह नै हो । दुवै शीर्ष पार्टीको कमजोरीलाई नै एजेण्डा बनाएर चुनाव जित्ने दाउमा भने साना दल रहेका छन् । सामाजिक सञ्जालमा सबैभन्दा बढी र घरदैलोमा व्यस्त साझा पार्टीले यसपटक आक्रामक प्रचार गरिरहेको छ ।
“वैकल्पिक शक्ति” को रुपमा उदाउने साझा अघिल्लो चुनाव हेर्दा हजार मत पनि कटाउन सकेको थिएन, जबकी त्यतिबेलाको चुनावमा विवेकशील र साझा पार्टी एक भएर चुनाव लडेका थिए ।
यसपटक साझाले रजनी केसीलाई उम्मेदवार बनाएको छ । नयाँ शक्ति र संघीय समाजवादी एकीकरण पछिको समाजवादी पार्टी नेपालले ई. धर्मराज गुरुङलाई उमेदवार बनाएको छ । ईलेक्ट्रिकल ईन्जिनियर पृष्ठभूमिका गुरुङ विदेशी निकायका काम गरिसकेका व्यक्ति हुन् । साना दल सबैको एजेण्डा र स्वर भने एउटै छ, “ठूला दलले केही गर्दैनन्, यसपटक हामीलाई मत दिएर हेर्नुहोस् ।”