पोखरा । कांग्रेस केन्द्रीय समितिले आधिकारिक उमेदवार टुंगो नलगाउँदासम्म कास्कीमा व्यापक चर्चा थियो, तीन राजमध्ये एकजनाले टिकट पाउने निश्चित हो । कार्यकर्तादेखि नेतामाझ चर्चित बनेका तीन राजमध्ये एक थिए देवराज चालिसे, अर्का धनराज गुरुङ अनि उपनिर्वाचनका उमेदवार खेमराज पौडेल ।
तीनै ‘राज’ हरुको चर्चा समयानुसार चलि नै रह्यो । अघिल्ला निर्वाचनमा उमेदवार बनेका देवराज चालिसे स्वभाविक उमेदवार नै थिए । कांग्रेसका प्रभावशाली नेता धनराज गुरुङ पनि इच्छुक थिए । निष्ठाको राजनीति गरेका खेमराजको नाम पनि कास्की कांग्रेसले केन्द्रमा पठाएको थियो ।
कास्की कांग्रेसले १६ जना उमेदवारका आकांक्षीको नाम केन्द्रमा पठाउँदा धनराज गुरुङ भने त्यसमा परेका थिएनन् । पार्टीले टिकट दिएको खण्डमा चुनाव लड्ने मनसाय गुरुङको थियो । मनोनयनको एक दिनअघिसम्म पनि धनराज त्यसको लागि लबिङ्मै थिए । उमेदवारी दर्ताको मिति नजिकिँदै जाँदा गुरुङको सम्भावना भने कमजोर बन्दै थियो । कारण, कास्की कांग्रेसले बाहिरी जिल्लाका उमेदवारको जिमेवारी नलिने चेतावनी नै दिएको थियो ।
अन्ततः गुरुङ आफैंले उम्मेदवारी नदिने घोषणा गरे ।
अब बाँकी रहे दुई ‘राज’ !
कात्तिक २० गते कांग्रेसले आधिकारिक रुपमा उमेदवार घोषणा गनुपूर्व खेमराज र देवराज दुवैको सम्भावना उस्तै थियो । दुवै सशक्त दाबेदार थिए । देवराज अघिल्लो चुनाव आफ्नो पक्षमा नभए ापनि पाँच वर्षको लागि म नै उमेदवार हुँ भन्ने तर्क राखेका थिए । ६० वर्ष लामो राजनीति र एकपटक पनि संसदीय चुनावमा भाग लिन नपाएका खेमराजलाई भने सहानूभुति पनि थियो र संसदीय चुनाव लड्ने इच्छा पनि ।
अन्ततः कात्तिक २० गते दिउँसो २ बजेतिर कांग्रेसले आधिकारिक उमेदवारको रुपमा ‘खेमराज’ लाई उठाउने निर्णय गर्यो ।
खेमरजा अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । जनताका घरघरमा पुगेर मत मागिरहेका छन् । सरकारका अलोकप्रिय कदमको मार जनताले भोग्नुपरेको उनले बताएका छन् । १० दिनयता लगातार चुनावी घरदैलोमा व्यस्त खेमराज सोमबार वडा नं. ३३ मा मत माग्न पुगे । वडा नं. ३३ भरतपोखरी, दिवंगत रविन्द्र अधिकारीको जन्मस्थान पनि हो । त्यहाँ खेमराज मत माग्दै थिए, ‘जय नेपाल’ भन्दै झुल्किए धनराज गुरुङ । देवराज चालिसेचाहिँ लगातार चुनावी अभियानमा सँगै हिँडिरेहका छन् ।
चुनावका दाबेदार तीन ‘राज’ को भेट आकस्मिक थियो । कार्यकर्ता उत्साहित भएर नारा घन्काए । यी तीनैजनाको भेट भरतपोखरीको जिब्रेढुंगामा भएको थियो । भेटपछि तीनै जना नेताले एकअर्कामा अंकमाल गरे । यो चुनावमा प्रमुख दावेदार रहेका धनराज, देवराज र टिकट पाएका खेमराजको भेट हुँदा अन्य नेता कार्यकर्तामा खुशीको सीमा नै रहेन । उमेदवारको मुहारमा पनि औधी खुशी देखिन्थ्यो ।
कार्यकर्ताको माझमा तीन राज ‘पार्टीको थ्री स्टार अर्थात तीन नक्षत्र’ भन्ने चर्चा पनि भयो । कार्यकर्ताको उत्साह देखेर यी तीनै नेताले आ–आफ्नो हातमा हात मिलाउँदै ‘गुरु’ लाई जसरी जिताउँछौं भन्ने अठोट गरे । धेरैबेर यी तीनै नेता घरदैलोमा खटिए । कार्यकर्ता मात्र उत्साहित भएनन्, मतदाता पनि अभियानमा थपिए । विभिन्न स्थानमा आयोजित कोणसभामा पनि धनराज र देवराजले उमेदवार खेमराजको प्रशंसा गरे ।
कोणसभामा धनराज र देवराजले खेमराजलाई सादगी, निष्ठावान, त्यागी, सन्त, सबैले सम्मान गर्न लायक व्यक्तित्व जस्ता शब्दले प्रशंसा गरेका थिए । नेता धनराजले “यत्तिका महान व्यक्तित्वलाई यो पटक जिताउन नसके इतिहासले धिक्कार्ने” बताएका थिए ।
केन्द्रीय नेताहरु पोखरा आउने
नेपाल तरुण दल कास्की क्षेत्र नं. २ ले मंसिर ६ गते चुनावीसभा आयोजना गरेको छ । पोखरा–७ स्थित राष्ट्रबैंक चोक र रत्नचोकको बीचमा सडक डिभिजन कार्यालय अगाडि कार्यक्रम हुने बताइएको छ ।
सभालाई कांग्रेस नेताहरू गगन थापा, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उदय समशेर राणा, विद्वान गुरुङलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
तस्बिर : धनराज गुरुङको फेसबुकबाट