पोखरा । कास्की २ मा प्रतिनिधीसभाको उपनिर्वाचनका लागि मतदान हुन मात्र १३ दिन बाँकी छ । ७१ हजार आठ सय ७१ मतदाताले यहाँको चुनावी मैदानमा उत्रिएका २१ जनामध्ये एकजनालाई प्रतिनिधीको रुपमा चुन्नेछन् ।
२१ मध्ये १० जना उमेदवार भने स्वतन्त्र हुन् । उनीहरुसहित बाँकी ११ जना दलीय उमेदवारहरु अहिले मतदाता फकाएर चुनाव जित्नको लागि कुनै कसर बाँकी छाडेका छैनन् ।
सबै उमेदवारहरु यतिबेला घरदैलोमा जुटेका छन् । चुनाव जितेपछि कहिल्यै आफ्ना प्रतिनिधि देख्न नपाउने मतदाताहरुले यसपटक आफ्नै घरआँगनमा उमेदवारहरुलाई देखे । पोखरा महानगरका ३३ मध्ये ११ वटा वडा मिलेर प्रतिनिधिसभा निर्वाचनको कास्की २ नं. क्षेत्र बनेको छ । वडा नं. ३३ यस क्षेत्रबाट विजयी भएका दिवंगत सांसद रविन्द्र अधिकारीको जन्मस्थान पनि हो ।
यही वडाको पुछारतिर सुकुम्बासी बस्ती ‘छप्लाङ टोल’ पर्दछ । छेउमा सेती नदी, धुले बाटो, पुराना र च्यातिएका कपडामा उभिएका स्थानीयहरु । ६६ घरधुरीमध्ये यहाँ धेरैको लालपूर्जा छैन् । ८५ प्रतिशत दलित बस्ती रहेको यस टोलमा आइतबार कांग्रेसका उमेदवार खेमराज पौडेल मत माग्न पुगे । उनको साथमा केन्द्रीय सदस्य, प्रदेश सांसददेखि जिल्लास्तरका नेताहरु पनि थिए ।
उमेदवारदेखि नेताहरु आएको देखेपछि सबै स्थानीयहरु एकठाउँमा जम्मा भए । उमेदवारलाई नजिकैबाट हेरे । अनि, छप्लाङ टोल विकास संस्थाका अध्यक्ष जीवन बहादुर पुनले भाषण गरे, “जुनसुकै पार्टी भए पनि देशलाई खोक्रोमा नपार्नुहोला, यो देश गरिब भयो, गरिब भयो भन्नुहुन्छ । यो देशमा थुप्रैथुप्रै सरकारी राजस्वहरु हराइराखेको छ । किन हरायो, कहाँ गएर हरायो ?”
जीवनको अमूल्य १२ वर्ष साउदीमा बिताए । अहिले उनी मजदुरी गरेर जिविका चलाइरहेका छन् । टोल विकास संस्थाको अध्यक्षको रुपमा विगत ४२ वर्षदेखि टोलको नेतृत्व गरिरहेका छन् । जनतालाई भोट बैंकको रुपमा प्रयोग गरिएकोमा उनको चित्त दुखाइ छ ।
टोलको सबैभन्दा समस्या भनेको नै सुकुम्बासी समस्या हो । त्यहाँका ६६ मध्ये ५० जति घरधुरीको लालपूर्जा छैन् । यसअघि पनि नेताहरुले लालपूर्जा दिने भनेर झुक्काएकोमा उनी झोक्किए, “यहाँका ६६ घरमा लगभग १५ घरले मात्र लालपूर्जा पाएको र राजस्व तिर्छन् । अरु घरको किन छैन् ? हामीलाई जहिले आश्वासन मात्र दिनुहुन्छ, लालपूर्जा दिन्छु, नापी दर्ता गरिदिन्छु भनेर भन्नुहुन्छ तर अहिलेसम्म भएको छैन् ।”
लालपूर्जा नभएकै कारण आफूलाई जीवन धान्न धौ–धौ भएको दुखेसो उनले कांग्रेसका उमेदवारलाई सुनाए ।
“बैंकमा ऋण माग्न गयो भने लालपूर्जा माग्छन्, लालपूर्जा छैन् । कृषि, बाख्रापालन, भैँसीपालन, गाईपालन गर्न पनि पैसै चाहिन्छ पैसे । बैंकमा जान हामीजस्तालाई एक लाख दिन भन्यो बडो रोएर शाखासन्तान पाँचजनाको सर्जमिन के जाती के जाती भन्नुहुन्छ ? त्यसरकारणले यो देशमा गरिबगुरुवा कसरी माथि जान्छ ?,” उनले प्रश्न गरे ।
उनले लालपूर्जा मात्र मागेनन्, देश विकास गर्नको लागि आफैंलाई परिवर्तन गर्न सुझाव समेत उनले दिए ।
“म सबैलाई भन्न चाहेँ, यो नेपाललाई स्वर्गल्याण्ड बनाउन छ भने देश परिवर्तन गर्ने सपना नसोच्नुहोस, आफू आफैँ परिवर्तन हुनुहोस्, आफैँ परिवर्तन भयो भने देश परिवर्तन हुन्छ । आफू परिवर्तन नभए देश परिवर्तन हुँदैन् ।”
पुनले थपे, “मैलो छप्ल्याङ टोलमा अध्यक्ष भएको ४२ महिना भयो, मैले चार पैसा गोजीमा हालेर रक्सी पिउन गएँ भने देश विकास हुन्छ ? त्यसकारणले देश परिवर्तन गर्नुभन्दा आफूआफूमा परिवर्तन हुनुपर्यो, म परिवर्तन हुनुपर्यो, देश चलाउने नेता परिवर्तन भए देश परिवर्तन हुन्छ, देशले सुख पाउँछ ।”
समस्या सुनाइसकेपछि आफ्ना समस्या समाधान हुने आशाका साथ उनले कांग्रेसलाई मतदान गर्न स्थानीयलाई आग्रह गरे । “नेपाली कांग्रेसले जित्नेछ, जितेपछि गरिब गुरुवाहरुको लालपूर्जा सेतो होइन, रातो आउनेछ, नापी दर्ता भएरै छाड्नेछ,” उनले भने ।
मतदाताको समस्यापछि उमेदवार खेमराज पौडेलले उनीहरुलाई रातोपूर्जा दिने आश्वासन दिए । आफू यसअघि सुकुम्बासी आयोगको अध्यक्ष हुँदा सेतो पूर्जा दिएको तर समय सकिएका कारण रातो पूर्जा दिन नसकेको उनले बताए । “त्यतिखेर समय कम भयो, यसपटक जिताउनुहोस, तपाईहरुलाई रातै पुर्जा दिलाउँछु” उनले आश्वासन दिए ।
तीन–तीनपटक एउटै व्यक्तिले जित्दा पनि समस्या समाधान हुन नसेकोमा उनले आश्चर्य लागेको बताए । “यसअगाडि जितेका व्यक्तिले एउटा समस्या पनि समाधान गर्न सकेनछन्, चोरले पनि आफ्नो घरवरिपरि चोर्दैन रे, आफ्नो पैतालामा प्वाल पार्न हुँदैन, भन्छन्, यो प्वाल पर्नु हो । त्यति गर्न पनि नसक्ने गफ भने ठूलाठूला लगाउने, घोषणापत्रमा देखाइएका सबै योजना झुटका पुलिन्दा थिए । पाँच वर्षे सरकारले काम गरोस तर जनताको हितमा काम गरोस भन्ने चाहना नेपाली कांग्रेसको छ,” उनले भने ।