काठमाडौं । नेकपा एमालेले वैशाख एक गतेदेखि ‘सिटी फुकेरै’ निर्वाचनमा होमिने उद्घोष गरेको छ । सोमबार केही पत्रकारहरुसँग अनौपचारिक कुराकानी गर्दै एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचन हुने नहुने द्विविधा नपाल्न आग्रह गरे ।
“निर्वाचन हुन्छ कि हुँदैन भनेर अल्मलिने समय छैन,” कुराकानीमा उनले भने, “मन अलमलमा राखेर युद्धमा जित हासिल गर्न सकिँदैन ।”
एमालेको सवै शक्ति चुनाबमा होमिइसकेको उनको भनाइ थियो ।
मुद्दाहरूको एनजीओकरण
जनजाति, महिला, मधेसी, मुस्लिमआदि समुदायको मुद्दा संविधानतः सम्बोधन भइसकेको जिकिर गर्दै उनले केही एनजीओले त्यसलाई ‘व्यापार’ र ‘मागी खाने विषय’ बनाएको टिप्पणी गरे ।
भेटघाटमा उनले भने, “केही एनजीओ / आईएनजीओ विभिन्न समुदायमा विविध समस्या भन्ने देखाउन अनेक विषय उठाउँदैछन् । संविधानले सम्बोधन गरिसकेको विषय पनि ज्युँदै राख्न चाहन्छन् ।”
‘अधिकार’का नाममा समाजमा हुँदै नभएको समस्या सिर्जित गर्न लागिएको उनको भनाइ थियो ।
पार्टीको विवादले आत्तिनुपर्दैन
जीवन्त पार्टीभित्र विवाद, छलफल र त्यसको निरुपण सामान्य कुरा भएको बताउँदै त्यसबाट आत्तिनुपर्ने, विचलित हुनुपर्ने कुरा नभएको उनको जिकिर थियो । एमालेमा ‘पाँच पाण्डव’ भएको र अरु पार्टीले त्यो चाहेर पनि देखाउन नसक्ने जिकिर गरे । “कांग्रेसमा कोही पूर्व नेता बाँकी छैनन्, माओवादी केन्द्रले त्यो चाहेर पनि देखाउन सक्दैन । एमालेमा दुई÷दुईजना पार्टी प्रमुख भइसकेका, प्रधानमन्त्री भइसकेका व्यक्ति छन् । लोभलाग्दो संरचना छ,” उनले भने ।
उनले पार्टीमा विवाद भएका नभई सबैले अपनत्व खोजेको आशय व्यक्त गरे । “यत्रो नेताहरूको जमघट भएको पार्टीमा सबैले आफ्नो भूमिका खोज्छन् । बेलाबेला त्यो छताछुल्ल हुन्छ । फेरि पनि विवाद मिल्छ । एमाले एकताबद्ध हुन्छ, एक भएर निर्वाचनमा जानुबाहेक हामीसँग अरू विकल्प छैन,” उनको भनाइ थियो ।
उनले पार्टीमा ‘मिल्नै नसक्ने बिबाद नरहेको जिकिर गर्दैै केही असन्तुष्टिहरू भएको र शीर्ष नेतृत्वले त्यसलाई समाधान गर्ने विश्वास व्यक्त गरे ।
“हाम्रो चुनावी कमान्डर पार्टी अध्यक्ष ओली नै हो, त्यसो भन्दैमा सर्वेसर्वा उहाँ मात्रै होइन, अरु कमान्डरहरू पनि हुनुहुन्छ, आ–आफ्नो भूमिका देखाउन पाउनुपर्छ । जसरी फुटबलमा सबै खेलाडी मिलेपछि गोल हुन्छ,” उनले थपे ।
एमालेविरुद्ध एक हुने खतरा
उनले सबैतिरको निष्कर्ष बुझ्दा एमाले इतरका शक्ति एक हुने खतरा रहेको औँल्याए । “स्थानीयस्तरमा एमालेको लोकप्रियताबाट अताल्लिएर एमालेविरुद्ध एक हुने खतरा मैले देखिरहेको छु । यसमा मुलुकको मात्रै होइन, अन्य क्षेत्रीय शक्तिहरूको पनि भूमिका रहन्छ । एमालेलाई एक्ल्याएर पराजित गरेमात्र उनीहरूको अभिष्ट पूरा हुन्छ,” उनले औँल्याए ।
एमालेको परराष्ट्र सम्बन्ध र बढ्दो लोकप्रियताबाट आत्तिएकाहरूले एमालेविरुद्ध मोर्चाबन्दी गर्न सक्ने खतरा रहेको उनको निष्कर्ष थियो ।
सञ्चारमाध्यमको प्रयोग
उनले प्रेस चौतारीलगायत विभिन्न जनवर्गीय संगठनलाई नियमित कार्यक्रम गर्न र ‘मिडिया व्यालेन्स’को शैली अपनाउन निर्देशन दिएको बताए ।
त्यस्तै पार्टीका जनसंगठन, भ्रातृ संगठनलाई विभिन्न गतिविधि गर्न आग्रह पनि गरे ।
यसबीचमा कांग्रेसले क्षेत्रीय सभाको आयोजना गरेको र माओवादी केन्द्रले पनि अरु गतिविधि गर्न सक्ने भएकाले मिडियामा एमालेको उपस्थिति कम देखिन सक्ने उनको आशंका थियो ।
स्थानीय निकायलाई पंगु नबनाऔँ
सरकारले संविधान संशोधनको नयाँ प्रस्तावमार्फत स्थानीय तहको अधिकारको कटौती र स्थानीयतहका प्रमुख, उपप्रमुखले राष्ट्रिय सभामा मतदान गर्न नपाउने प्रावधान ल्याउन लागिएको भन्दै त्यो स्थानीय तह पंगु बनाउने खेल भएको बताए ।
“पञ्चायतकाल, ०४६ सालपछिसमेत त्यो व्यवस्था थियो, अहिले हटाउन खोज्नु संघीयता विरोधी कुरा हो,” उनले भने ।
दुई नम्बर प्रदेशमा जनसंख्याको अनुपातको आधारले तह संख्या बढी भएको जिकिर गरे । “दुई नम्बर प्रदेशमा २६ लाख जनसंख्या छ त्यहाँ १ सय २७ वटा स्थानीय तह छन्,” उनले प्रष्ट्याए, “तीन नम्बर प्रदेशमा २७ लाख ६० हजार जनसंख्या छ, त्यहाँ १ सय १९ वटा तह छन् ।”
उनले मुलुकभर एकै पटक र वैशाख ३१ गते नै निर्वाचन हुनुपर्ने जिकिरसमेत गरे ।