पोखरा । उमेदवार चयनको लामो रस्साकस्सी पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको बैठकले कास्की २ को प्रतिनिधीसभा उपनिर्वाचनमा शुक्रबार साँझ विद्या भट्टराईलाई एकल सिफारिस गर्ने निर्णय गर्यो ।
कास्की २ तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनसँगै खाली छ । उपनिर्वाचन हुने क्षेत्रबाट लोकप्रिय मतसहित निर्वाचित अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । उनको निधनसँगै रिक्त कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।
सोही उपनिर्वाचनमा नेकपाले उनै रविन्द्रपत्नी विद्यालाई उमेदवार बनाउन क्षेत्रीय कमिटीलाई सिफारिस गरेको हो । नेकपामा अन्य उमेदवार आकांक्षी भने नभएका होइनन् । कास्कीका कम्युनिष्ट नेता सोमनाथ अधिकारी प्यासी पनि तीव्र आकांक्षी थिए । उनीसँगै कास्की इन्चार्ज राजकाजी गुरुङसहितका नेताहरुले दाबी गरेका थिए ।
तर, किन विद्या नै सर्वसम्मत सिफारिस भइन त ? स्रोत भन्छ, “पाँच वर्षे पदावधिको लागि अब जम्मा तीन वर्ष छ, तीन वर्षको लागि मात्रै के दाबी गर्नु, त्यसमाथि अहिले संक्रमणकालीन अवस्था पनि छ ।”
यसको अर्थ विद्या सर्वसम्मत हुनुमा उनीसँगैका आकांक्षीहरुले अर्को निर्वाचनमा दाबी गर्नु हो । “विद्यालाई यसपटक उम्मेदवार बनाउने र अर्कोपटक आफूहरु उम्मेदवार हुन बाटो खाली गरेको”, स्रोतको दाबी छ ।
पाँच वर्षे पदावधिको हिसाबले अहिले सांसदहरुले निर्वाचन मितिले करिब दुई वर्ष बिताइसके । अब बाँकी तीन वर्ष छ । छोटो अवधिभन्दा पूर्ण कार्यकाल नै सम्हाल्ने दाउ अन्य आकांक्षीको रहेको हुँदा पनि विद्या सर्वसम्मत भएको दाबी छ ।
सोही कारण शुक्रबारको नेकपा जिल्ला कमिटी बैठकले सर्वसम्मतीले विद्यालाई एकल सिफारिस गर्न सघाउ पुर्यायो ।
बामदेव 'ब्याक' भएको क्षेत्रमा विद्याको पुनरागमन
रविन्द्र अधिकारीसँग घरजम गर्नुपूर्व विद्या पनि सक्रिय राजनीतिमा नै थिइन् । सांगठनिक हिसाबले उनी विद्यार्थीकालीन राजनीतिमा तत्कालीन अनेरास्ववियुमा सक्रिय थिइन् । उनी अनेरास्ववियूको कास्की राष्ट्रिय सम्मेलनमा प्रारम्भिक कमिटीबाट प्रतिनिधित्व गरेर पोखरा समेत आएकी थिइन् । पोखरा महाधिवेशनले उनलाई रापस (राष्ट्रिय परिषद् सदस्य) निर्वाचित गरेको थियो ।
अनेरास्ववियूको हेटौंडा राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा विद्याको राजनीतिले उचाइ ग्रहण गरिसकेको थियो । राजनीतिक चेत पनि झाँगिइसकेको थियो । हेटौंडा (बाह्रौं राष्ट्रिय सम्मेलन) बाट विद्या भट्टराईलाई केन्द्रीय कमिटीको मञ्च दियो । त्यति नै बेला विद्या महिला विभाग प्रमुख भइन् ।
त्यसपछि पार्टी फुट्यो । त्यतिबेला रविन्द्रले मालेतर्फ झुकाव राखेका थिए । विद्या पनि एउटै कित्तामा थिइन् । पछि रविन्द्र माले अखिलको महासचिव बन्दा विद्या सोही संगठनको सचिव चुनिइन् । सक्रिय राजनीतिको उचाइमा रहेकी विद्या तत्पश्चात उनी विद्यार्थी आन्दोलनबाट क्रमशः ओझेल परिन् ।
र, फेरि दुई दशकपछि विद्या प्रतिनिधीसभा निर्वाचनको उमेदवारसँगै राजनीतिमा 'कमब्याक' गरेकी छन् । कास्की २ त्यही ठाउँ हो, जहाँ बामदेव ब्याक भएका थिए ।
देशभरिमा यहाँमात्रै प्रतिनिधीसभाको निर्वाचन हुँदैछ । दुईतिहाईको नेकपाको सरकार र प्रतिनिधीसभाको एकमात्र उपनिर्वाचनका कारण सबैको चासो यहाँ थियो । चासो बढ्नुमा नेकपाका शीर्ष नेता तथा उपाध्यक्ष बामदेव गौतमको पनि भूमिका रह्यो ।
सुरुमा गौतम नै उमेदवार बन्ने र नेकपा डबलका अध्यक्षले नै समर्थन गरेको भन्ने चर्चा चलेतापनि अन्तमा गौतम आफैले सामाजिक सञ्जालमार्फट आफू ब्याक भएको स्पष्टोक्ति दिए । उनको प्रष्टिकरणमा गौतम आफैं चुनाव लडेको खण्डमा ‘हार्न सक्ने’ मनस्थिती स्पष्टै देखिएको थियो ।
बामदेव समेत डराएको क्षेत्रमा रविन्द्रपत्नीले जित निकाल्लिन त ? भन्ने प्रश्नहरु उठ्न थालेका छन् । यहाँ नेकपा बलियो छ । यस क्षेत्रमा २०७४ को प्रतिनिधीसभा निर्वाचनमा झन्डै ९ हजार मतान्तरले नेकपा विजयी भएको थियो ।
उपनिर्वाचनमा पनि जित हासिल पार्दै दुईतिहाईको सरकार सफल र लोकप्रिय रहेको सन्देश दिन नेकपालाई चुनौती पनि उत्तिकै छ ।