पोखरा । साझा पार्टीले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै कास्की–२ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा सबैभन्दा पहिले उमेदवार टुंगो लगायो । बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा उमेदवार घोषणापछि साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भने, “हामीसँग जो साथीहरु चुनाव प्रचारप्रसारमा जानुुहुन्छ, घरघरबाट मकै भटमास भुटेर ल्याउनुहोस, चिउरा बोकेर आउनुस्, पानीको बोतल बोकेर आउनुस । पाँच हप्तासम्म मकै, भटमास र चिउरा खाएर कोही पनि कसैलाई स्वास्थ्यमा नराम्रो असर पर्नेवाला छैन । यदि देश बनाउने हो भने त्यति त्याग हुनुपर्छ भनेर हामीले छलफल गरिसकेका छौँ ।”
उनले यतिमात्र भनेनन्, चुनाव जित्ने दुई आधार पनि दिए । त्यसकै आधारमा साझा पार्टीले कास्कीमा चुनाव जितिछाड्ने दाबीसमेत मिश्रले गरे । चुनाव प्रचारप्रसारमा लाग्नेले त मकैभट्ट नै खालान् तर के साझालाई मकै भट्ट खाएजस्तै छ त, कास्कीको उपनिर्वाचन ? विगतको गणित हेरौँ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारी विजयी बन्दा त्यतिबेलाको विवेकशील साझा पार्टीबाट तराजु चिन्ह लिएर पहिलोपटक चुनावी मैदानमा उत्रिएका थिए, श्रीकृष्ण श्रेष्ठ ।
साझा पार्टीको अहिलेको चुनावी चिन्ह पनि तराजु नै छ । श्रेष्ठले ०७४ को चुनावमा ल्याएको मतसंख्या थियो, ८४३ । अर्थात् कुल खसेको मतको १.७४ प्रतिशत । त्यतिबेलाको निर्वाचनमा विवेकशील साझा पार्टी मतसंख्याको आधारमा तेस्रो पार्टी बनेको थियो । उक्त आधारमा हेर्ने हो भने अहिलेको निर्वाचनमा साझा पार्टीलाई मकैभट्ट खाएजस्तो नभइ फलामे च्यूरा चपाएसरह हुन सक्ने कास्कीमा कतिपय राजनीतिक विश्लेषकको तर्क छ । अहिले मतदाताको संख्या पनि ७१ हजार आठ सय ७१ पुगेको छ ।
साझा पार्टीले उठाएकी उमेदवार रजनी केसी यसअघि नेपाली कांग्रेस निकट भ्रातृसंघमा सक्रिय नेतृ हुन् । २०५४ को स्ववियु निर्वाचनमा नेविसंघको तर्फबाट सदस्यमा लडेको अनुभव छ केसीसँग । स्ववियुमा उनको प्यानलै हारेको थियो । उनी त्यसबेला पराजित भए पनि व्यक्तिगत रुपमा भने उनले राम्रै मत प्राप्त गरेकी थिइन् ।
यसले उनको लोकप्रियता प्रष्ट पार्छ । यतिमात्रै होइन, पेशागत हिसाबले पोखरा विश्वविद्यालयमा कार्यरत रहँदा कर्मचारी संघको अध्यक्ष पनि भइन् । यस्तै, प्रजातन्त्रवादी कर्मचारी संघको केन्द्रीय उपाध्यक्षसमेत रहेकी केसी गत भदौ २९ गतेमात्रै साझा पार्टी प्रवेश गरेकी हुन् । पोखरा विश्वविद्यालयमा उपप्रशासक रहेकी केसीले राजीनामा दिएर साझाको पूर्णकालीन राजनीतिमा लागेकी हुन् ।
लामो समयसम्म कांग्रेस राजनीति गरेपछि साझा प्रवेश गरेकी केसीलाई पत्रकारको प्रश्न थियो– के तपाईँ भोट काट्नको लागि उमेदवारी दिन लाग्नुभएको हो ? उनको जवाफ थियो, “चुनाव जित्नको लागि नै उठेकी हुँ ।” उनले जवाफसँगै कांग्रेसलाई बिग्रिएको बसको समेत संज्ञा दिइन् ।
“काठमाडौं जाँदा मुग्लिङमा पुगेर बस बिग्रियो भने अवश्य पनि गन्तव्यमा नपुगी बिग्रेको बसमा त म बसिराख्दिन । मैले परिवर्तन गर्नैपर्छ भनेर साझा पार्टीमा आबद्धता जनाएकी हुँ । मैले राजनीति कुनै पदमा पुगौँला पैसा कमाउँला, निजी स्वार्थ पूरा गरौँला, परिवार बनाउँला, आलिसान जीवन बनाउँला भनेर गरेको होइन,” उनले भनिन् ।
यसैबीच, आसन्न निर्वाचनको बारेमा साझा पार्टीका उमेदवार रजनी केसीसँग गरिएको छोटो कुराकानी:
उमेदवारी घोषणा त गर्नुभयो, जित्ने आधारहरु के–के छन् ?
अहिले वर्तमान परिप्रेक्ष्य हेर्दा, अहिलेका दलको परफमेन्स, जनताको सत्तापक्षको विश्वासमा आएको ह्रास, प्रतिपक्षको भूमिकाका अविश्वास देखिएको छ । अहिलेको सरकारप्रतिको वितृष्णा, महंगी, जनताले खोजेको समृद्धि र विकासका कुराहरुबाट जनताले धोका भएको महसुस गरिरहेका छन् । अहिलेका नेताहरुमा जिम्मेवारी देखिएको छैन ।
साझा पार्टीका चार आधार ईमान्दारिता, पारदर्शीता र पद्धतिबाट उत्कृष्टता हासिल गर्ने मूलमन्त्रका आधारमा हामी चुनावमा भाग लिएका हौँ ।
तर, तपाईँहरुले जनतालाई विश्वास कसरी विश्वस्त तुल्याउनुहुन्छ ?
जनताप्रतिको जुन वितृष्णा छ । उहाँहरुले चाहेर पनि वैकल्पिक पार्टी भेट्नुभएको थिएन । तर, अहिले हाम्रो पनि विकल्प छ है भन्ने परेको छ । साझा पार्टीको केन्द्रदेखि प्रदेश जिल्ला तहको नेतृत्वले उहाँहरुमा आशाको सञ्चार भएको छ । सबै नेताहरुको पृष्ठभूमि हेर्न सक्नुहुन्छ । उहाँहरुको पृष्ठभूमि हेर्दा स्थापित र उत्कृष्टता हासिल गरेको । दाग नलागेको, औँला ठड्याउने ठाउँ नभएको, आरोप नलागेको हुनुहुन्छ । आलिसान जीवन त्यागेर आउनुभएको छ । यो देश र जनताको चिन्ताको लागि छ । यसबारेमा जनताहरु जानकार छन् ।
वैकल्पिक शक्ति र तपाईँले उठाएका एजेण्डा त अहिलेकै प्रतिपक्षले पनि उठाइरहेका छन् नि फेरि साझालाई नै किन रोज्ने ?
हो, प्रतिपक्षले उठाएका छौँ भनेका छन् । सत्तापक्षले पनि गरिरहेका छौँ भन्ने गरेका छन् । तर विश्वास र आभाष चाहिँ जनतालाई भएको छैन । करनी र कथनीमा मेल खाएको देख्नुभएको छ त ?
२०७४ को निर्वाचनमा हजार मत पनि ल्याउनुभएन, अहिले ७१ हजार मतदाता छन्, उनीहरुसमक्ष कसरी पुग्नुहुन्छ ?
पहिलेको निर्वाचनको बेला भनेको साझा पार्टी भर्खरै दर्ता भएको थियो । २–३ महिनामा नै चुनाव फेस गर्नुपर्यो । अहिले चाहिँ अत्यधिक साझा पार्टीलाई रुचाएको अवस्था छ । जनताले खोजेको विकल्प साझा पार्टी छ भन्ने विश्वास परेको छ ।
अर्कोतर्फ, उपनिर्वाचन क्षेत्र नं. २ मा मेरो व्यक्तिगत, सामाजिक र राजनीतिक छाप पनि छ । प्रशासनिक अनुभव पनि छ । साझा पार्टीको मूलभूत सिद्धान्त पनि छ । मैले बोकेको मूल्य मान्यता र आस्था थियो । हामीले यसबारेमा जनतालाई विश्वस्त तुल्याउनेछौँ ।
तस्बिरः रवीन्द्र मिश्रको फेसबुकबाट