काठमाडौं । ५० वर्ष अगाडिदेखि नेपालमा चलचित्र बन्न थाले । पञ्चातकालसम्म कडा सेन्सर हुन्थ्यो । चलचित्र बाक्लै रूपमा बन्ने र यो उद्योग फस्टाउने वातावरण थिएन । निजी क्षेत्र आकर्षित भए पनि निरन्तरता दिन सक्ने अवस्था थिएन । बजार सानो थियो, लगानी उठाउन गाह्रो थियो । त्यसैले सुरुमा दुई–तीन वर्षमा एउटा चलचित्र बन्थ्यो ।
पञ्चायतकालको अन्तिमतिर आउँदा चलचित्र निर्माणको संख्यामा केही बढोत्तरि आयो । प्रजातन्त्रको पुनः स्थापनापछि यो संख्या ह्वात्तै बढ्यो । तुलसी घिमिरे लगायतका त्यस समयष्का जुझारु केही निर्देशक तथा निर्माता र कलाकारहरुले नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रूपमा स्थापित गरे ।
अहिले वार्षिक डेढ सयभन्दा बढी चलचित्रले नियामक निर्माण इजाजत लिन्छन् । यो वर्षमात्रै ८८ वटा चलचित्र प्रदर्शन भएको तथ्यांक छ ।
निर्माता तथा निर्देशक विकास आचार्यका अनुसार एउटा चलचित्र बनाउन औसत ७० देखि ७५ लाख रुपैयँ लाग्छ । यो अंकगणित हेर्ने हो भने वार्षिक ठूलै कारोबार नेपाली सिने नगरीमा हुन थालिसकेको छ ।
बजार सानो भएकाले मोटो रकम खर्चेर चलचित्र बनाउन निर्माताहरू डराउनु स्वाभाविक हो । साढे तीन सयको संख्यामा रहेका चलचित्रघर करिब आधाको संख्यामा बन्द भइसकेका छन् । त्यसैले पनि नेपाली चलचित्रले राम्रो व्यापार गर्न सक्तैनन् । त्यसमाथि हिन्दी र अंग्रेजी चलचित्र पनि एउटै समयमा एउटै हलमा प्रदर्शन हुने भएकाले नेपाली चलचित्रले यसको मार खेप्दै आएका छन् ।
यसका बाबजुद पनि नेपाली चलचित्र राम्रो बने राम्रै व्यापार गर्न सक्छ भन्ने नजिर भने पहिलेदेखि नै बसिसकेको छ । वर्ष २०७३ ले पनि पनि यसलाई पुष्टि गरेको छ ।
यो वर्ष ‘छक्का पञ्जा’, ‘लुट–२’, ‘वीर विक्रम’, ‘कालो पोथी’,‘लप्पन छप्पन’, ‘पुरानो डुङ्गा’, ‘चपली हाइट–२’, ‘जात्रा’, र ‘गाजलु’ करोड क्लबमा प्रवेश गरे । छक्का पञ्जाले १६ करोडभन्दा बढी ग्रस कलेक्सन गर्यो भने लुट–२ ले पनि राम्रो व्यापार गर्यो । करोड क्लबमा प्रवेश गरिसकेको ‘लप्पन छप्पन’ अहिले पनि हलमा प्रदर्शनरत छ ।
यो वर्ष ९ वटा चलचित्र करोड क्लबमा प्रवेश गरे ।
निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट–२’ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, विपिन अधिकारी लगायतका कलाकारले अभिनय गरका थिए ।
रामबाबु गुरुङ निर्देशत चलचित्र ‘पुरानो डुङगा’ मा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान मुख्य भूमिकामा थिए ।
हेमराज बिसी निर्देशित ‘गाजलु’ ले पनि स्टार कास्ट गरेको थियो । गाजलुमा अनमोल केसी र श्रृष्टिश्रेष्ठमुख्य रोलमा थिए ।
मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम’ मा दयाहाङ राई, अर्पण थापा, दिया पुन र नाजिर हुसेनले अभिनय गरेका थिए ।
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चपली हाइट–२’ मा आयुषमान देशराज श्रेष्ठ जोशी, मरिस्का पोखरेल, प्रमिता राना मुख्य भूमिकामा थिए ।
ऐतिहासिक ग्रस कलेक्सनको रेकर्ड बनाएको चलचित्र ‘छक्का पञ्जा’ दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, वर्षा राउत लगायत मुख्य भूमिकामा थिए ।
नवनिर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारले अभिनय गरेका थिए ।
‘लप्पन छप्पन’ ले पनि स्टारहरुलाई नै अभिनय गराएको छ । सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा सिवाकोटीले यसमा अभिन गरेका छन् ।
मीन भाम निर्देशित ‘कालो पोथी’ भने स्टारकास्ट नगरी स्थानीय लवजका लागि स्थानीयलाई नै अभिनय गराइएको चलचित्र हो । यसमा खड्गराज नेपाली र शुकराज रोकाया मुख्य भूमिकामा छन् ।