पोखरा । बाग्लुङ २ ‘ख’ को उपनिर्वाचनमा सत्तारुढ नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाउने भएको छ । यस विषयमा प्रधानमन्त्री केपीशर्मा ओली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष, महासचिवसहितका पदाधिकारीहरुले भेट गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले बाह्रखरीसँग कुरा गर्दै मौखिक सहमति भएको पुष्टि गरे । “प्रधानमन्त्रीज्यूसँगको कुराकानी पछि मौखिक सहमति भएको हो, भेटमा यसअघि जितेका ठाउँमा सोही पार्टीलाई नै सहयोग गर्ने सहमति भएको छ,” उनले भने ।
यहाँ पनि मंसिर १४ गते नै उपनिर्वाचन हुँदैछ । २०७४ सालको चुनावमा यस क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीमगर विजयी भएका थिए । तर, गत मंसिर २७ मा जन्डिसका कारण घर्तीको निधन भएपछि यो क्षेत्र रिक्त छ ।
२०७४ को चुनावमा बाग्लुङमा तत्कालीन एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको थियो । गठबन्धनमा प्रदेशसभाका दुईवटा सिट राजमोको भागमा परेका थिए । बाँकी प्रदेशसभाका २ मध्ये एमाले र माओवादीले एक-एक सिटमा उम्मेदवारी दिएका थिए ।
प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा एमाले, २ मा माओवादी केन्द्रले उमेदवार उठाएको थियो । यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ ‘क’ मा एमाले, ‘ख’ मा राष्ट्रिय जनमोर्चा, क्षेत्र नं २ ‘क’ माओवादी केन्द्र र ‘ख’ राष्ट्रिय जनमोर्चाले पाएको थियो ।
त्यतिबेलाको त्रिपक्षीय गठबन्धन अहिले द्विपक्षीय बनेको छ । जित्ने जनाधार नभएतापनि हराउन सक्ने मतदाता जनमोर्चामा छन् । त्यसकै कारण पनि २०७४ मा तालमेल भएको थियो । तर, उपनिर्वाचनमा बाग्लुङमा नेकपाले आफ्नै उम्मेदवार उठाउने चर्चा समेत चलेको थियो ।
यस्तोमा कांग्रेस र जनमोर्चाको गठबन्धन भएको खण्डमा भने सत्तारुढ नेकपा हार्ने र सरकार अलोकप्रिय रहेको सन्देश प्रवाह हुने डर नेकपालाई समेत थियो । सोहीकारण नेकपाले हालसम्म उमेदवार घोषणा गरेको छैन भने जनमोर्चाले तीन सदस्य सिफारिस समेत गरिसकेको छ ।
“केही दिनमै उमेदवार टुंग्याउँछौँ”, महासचिव शर्माले भने । जनमोर्चाले उपनिर्वाचनको लागि सुनमाया घर्तीमगर, धर्मबहादुर कुँवर र खिम विक्रम शाहीको नाम जनमोर्चाले पार्टीको केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । जसमध्ये सुनमाया, स्व. टेकबहादुरकी श्रीमतीसमेत हुन् ।
२०७४ मा गठबन्धन बनाएर चुनाव लड्दा गएको चुनावमा वाम दलले सजिलै जित निकालेका थिए । भारी मतान्तरमा कांग्रेसका उम्मेदवारले हार व्यहोरेका थिए । उपचुनाव हुने क्षेत्र नं २ ‘ख’ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्तीले ११ हजार ८८४ मत पाएका थिए ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेदवार जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गरेका थिए । विरासत जोगाउनबाट चुकेको नेपाली काङ्ग्रेसले त्यसबेला वाम गठबन्धनविरुद्ध एक्लै चुनाव लडेको थियो । उक्त क्षेत्रमा ३८ हजार ७०१ मतदाताले मतदान गर्नेछन् । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको निर्वाचन क्षेत्रमा ४२ मतदानस्थल छन् ।
कांग्रेसबाट चारजना सिफारिस
आगामी मंसिर १४ गते हुने प्रदेशसभाका लागि हुने उपनिर्वाचनमा बागलुङ क्षेत्र नं- २ को ‘ख’ मा कांग्रेसले चारजनाको नाम उमेदवारको रुपमा सिफारिस गरेको छ । क्षेत्रीय समिति मार्फत यस अघिका उमेदवार जित शेरचन, क्षेत्रीय सभापति द्रोण कुँवर, तुलासिंह घर्ती र टेकराज पौडेललाई सिफारिस गरेको हो ।
उमेदवार घोषणा भने केन्द्रीय समितिले गर्नेछ । शेरचन, घर्ती र पौडेल महाधिवेसन प्रतिनिधि हुन् ।