विशेष
काठमाडौं । मदिरा सेवन गरी सवारी चलाउनेमा धेरैजसो बस र भाडाका कारका चालक फेला परेका छन् । महानगरीय ट्राफिक महाशाखाको तथ्यांकअनुसार बस र भाडाका कारपछि ट्रक चालक मापसे कारबाहीमा परेका छन् । उनीहरूलाई महाशाखाले सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएको महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्यालले बताए ।
अर्यालका अनुसार एक वर्षको अवधिमा ४ सय ८० सार्वजनिक सवारीका चालक मापसे कारबाहीमा परेका छन् । यसमा भाडाका कार चालक १ सय ५१ जना, यात्रुवाहक बसका चालक १ सय २८ जना, ट्रकका चालक १ सय २२ जना, माइक्रो बसका चालक ४६ जना, टेम्पो चालक ७ जना, ट्यांकरका चालक ६ जना र एम्बुलेन्सका चालक ८ जना छन् ।
यी सबैलाई प्रहरीले सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएको छ । “सबैभन्दा बढी भाडाका कार चालक कारबाहीमा परेका छन् । अरुको कार भाडामा लियो अनि कारभरि मान्छे राखेर मदिराले लठ्ठ भएर चलायो,” डीआईजी अर्यालले भने, “याबुवाहक बसका चालकले पनि उपत्यकाबाट बाहिरिने बेलामा मदिरा सेवन गरेको धेरै भेटियो ।”
यात्रुले भरिएको बसका चालकले मदिरा सेवन गरेको भेटिएपछि प्रहरीले बिहानैदेखि चालकको मापसे परीक्षण गर्नथालेको छ । “बिहान ७ बजे नै मदिरा सेवन गरेको पनि भेटियो,” डीआईजी अर्यालले बाह्रखरीसँग भने ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार मंसिरमा सबैभन्दा बढी चालक मापसे कारबाहीमा परेका छन् । मंसिरमा ट्रक चालक २० जना, भाडाका कार चालक १५ जना र बस चालक १५ जना कारबाहीमा परेका छन् ।
सार्वजनिक सवारीसाधनका चालकले मदिरा सेवन गरेर सवारी चलाएको अत्यधिक रूपमा भेटिन थालेपछि ट्राफिक महाशाखाले ०६९ असोज १५ गतेबाट त्यस्ता चालकविरुद्ध सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाउन सुरु गरेको थियो । यो मुद्दामा दोषीलाई २४ दिनसम्म थुनामा राख्ने र २८ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ ।
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३ १२:२५
प्रतिक्रिया दिनुहोस्