लोकतन्त्रमा शासनले जनताबाट शक्ति पाउने हुनाले शासक पनि जनमुखी हुन्छन् । ‘खोक्रो लोकतन्त्र’मा पनि शासनले शक्ति त जनताबाटै पाउने हो तर शासक भने पटक्कै जनमुखी हुँदैनन् । नेपाल दोस्रो कोटीमा पर्छ । जनताले सास्ती पाउँदा पनि शासकहरू पटक्कै संवेदनशील हुँदैनन् । नागढुंगा ¬– नौबीसे सडकको अवस्था नेपालका शासकहरूको सक्कली अनुहार देखिने ऐना हो । हुँदाहुँदा बिरामी लिएर आएको बस जाममा पर्दा एक जना युवाको ज्यान बिहीबार राति बाटैमा गयो । रौतहटबाट उपचारका लागि काठमाडौं आउँदै गर्दा ती युवाको धादिङको धाक्रे ८ मा बसभित्रै मृत्यु भयो । केही दिन यता नौबीसेबाट नागढुंगा छिचोल्न ८–९ घन्टासम्म लाग्ने गरेको छ । बिहीबार पनि बस घन्टौं बाटामा रोकिएकाले ती मिर्गौलाका बिरामीले अकालमा ज्यान गुमाउनु परेको हो । त्यस दिन एम्बुलेन्सहरूसमेत बाटामा जाममा फसेका थिए ।
दसैंमा उपत्यकाबाहिर जाने यात्रुको संख्या निकै ठूलो हुन्छ । बाटामा त्यसको चाप पर्नु स्वाभाविकै हो । यसैले यो अनुमान नगरिएको सास्ती होइन । सरकारले थाहा पाउँदापाउँदै व्यवस्था नगर्दा जनताले सास्ती पाएका हुन् । गएको वर्ष पनि दसैं लाग्ने बेलामा यस्तै अवस्था भएको थियो । अहिले सडकमा चाप थपिएकै बेला ठेकेदारले सडक मर्मत पनि धमाधम गरिरहेको छ । यसले पनि सडकमा जाम बढेको हो । ठेकेदारलाई सरकारले धेरै यात्रु सडकमा आउनुभन्दा पहिले वा पछि काम गर्न लगाएको भए आवागमन केही सहज हुने थियो । परन्तु, नागढुंगा – नौबीसे सडक यसरी थुनिनुको मूल कारण भने यात्रुको चाप वा सडक मर्मत भन्दा बढी सडकको भारवहन क्षमताले नधान्ने ठूला गाडीहरूको आवागमनले हो । यो सडक भौगोलिक धरातल र प्राविधिक दृष्टिबाट पनि ठूला मालवाहक गाडी चलाउन उपयुक्त मानिँदैन । बाटामा ठूला गाडी बिग्रेकै कारण सवारी जामको अवस्था भयावह भएको सरकारी अधिकारीहरूले पनि स्वीकार गरेका छन् ।
यातायात व्यवस्था हेर्ने सरकारी निकायलाई नागढुंगा–नौबीसे सडकमा१० वा सोभन्दा धेरै पाङ्ग्रा भएका ठूला गाडी चलाउनु उपयुक्त हुँदैन भन्ने थाहा नभएको हैन । तर, उनीहरूले सडकको भारवहन क्षमताको उपेक्षा गरेर त्यस्ता गाडी सधैँ सहजरूपमा चलाउन दिने गरेका छन् । त्यसो त गिटी बालुवा बोक्ने ट्रिपरहरूकै भार पनि यस सडक र विशेषगरी पुलहरूको भारवहन क्षमताभन्दा बढी हुन्छ । सडक र यात्रुको सुरक्षाका लागि नौबीसे – नागढुंगा खण्डमा यस्ता सवारी साधन चलाउनै रोक्नुपर्ने हो । कम्तीमा दसैं, तिहार, छठका अवसरमा त यात्रुहरूको सुविधालाई सरकारले प्राथमिकता दिनु पथ्र्यो । घटस्थापनादेखि फूलपातीका दिनसम्म १० पाङ्ग्रेभन्दा ठूला गाडी रोक्ने निर्णय गरेर सरकारले पर्याप्त नभए पनि केही संवेदनशीलता देखाएको छ । यस्तै, प्रहरी परिचालन थप गर्ने निर्णयले पनि आवागमन केही सहज पक्कै हुनेछ ।
यथार्थमा नौबीसे– नागढुंगा खण्डमा १० पाङ्ग्रे र सोभन्दा ठूला गाडी चलाउन सधैँका लागि रोक्नु उचित हुन्छ । रोक्नै नसक्ने हो भने त्यस्ता बाटो छेक्ने ठूला गाडीलाई साताका ४ रात आउन र ३ रात फर्क दिने गरी व्यवस्था मिलाए हुन्छ । दिउँसोको यातायात सहज हुने र राति सवारी चाप कम भएका बेलामा मात्र यस्ता गाडी चलाउन तथा मर्मत कार्य गर्न दिने हो भने पनि समस्या आंशिकरूपमा समाधान हुनेछ । यस्तै, सडक मर्मतको काम ठेकेदारलाई सुम्पनुको साटो बिग्रनै नदिने प्रणाली लागु गरेर सरकारले नै जिम्मा लिने व्यवस्था गर्नु उचित हुनेछ । भत्कनेबित्तिकै मर्मत गरिहाल्ने (जिरो स्क्य्राच) पद्धति अपनाउने हो भने दसैंको मुखमा सडकमा निर्माण सामग्री थुपारेर यात्रुलाई सास्ती दिनुपर्ने छैन । यसैले ठूला गाडी र मर्मतको व्यवस्थापन गरेर यात्रुलाई सधैँको सास्तीबाट मुक्ति दिन सकिन्छ । यसका लागि सरकारमा इच्छाशक्तिको भने खाँचो हुन्छ । तत्कालका लागि सरकारले ठूला गाडी छठसम्म रातिमात्र चल्न दिने र मर्मतको काम पनि सवारी चाप नभएका बेलामा मात्र गर्ने व्यवस्था तत्काल मिलाओस् ।