काठमाडौं । स्थानीय निर्वाचनको माहोल बढ्दै जाँदा गोकर्णेश्वर नगरपालिकामा कांग्रेस एमाले र माओवादीले चुनावी अभियानलाई तीव्रता दिएका छन् । मुख्य पार्टीहरूले वडा, गाउँ, टोल भेलामार्फत चुनावी अभियानलाई विस्तार गरिरहेका छन् ।
साविक सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्णेश्वर र जोरपाटी गाविस मिलाएर गोकर्णेश्वर नगरपालिका बनाइएको हो । यसअघि नगरलाई १६ वटामा विभाजन गरिएको भए पनि ७४४ स्थानीय तह कायम गर्दा ९ वटा वडामात्रै छुट्याइयो ।
घना बस्ती, अत्यधिक जनसंख्या भएकाले अधिकांश पार्टीले जोरपाटीमा चुनाव अभियानलाई केन्द्रित गरेका छन् । र, सबैको आँखा जोरपाटीमै छ ।
“प्रत्येक वडा कमिटीलाई संगठन कमिटीमा रूपान्तरण गरी संगठन निर्माण र परिचालनमा जोड दिएका छौँ,” एमालेका क्षेत्रीय इन्चार्ज हरिकृष्ण श्रेष्ठले भने, “केही दिनमै प्रारम्भिक मत सर्वेक्षण सुरु गर्छौं र उमेदवार छनोट पनि थाल्छौँ ।”
त्यस्तै, कांग्रेस नगर सभापति श्रीकृष्ण ज्योतिले पनि कांग्रेसले चुनाव केन्द्रित अभियान सुरु गरिसकेको बताए । उनले गोकर्णेश्वर नगर कांग्रेसले जित्ने दाबी गरे ।
यता माओवादी केन्द्र पनि ‘गाउँ नगर घर–घर जाऔँ माओवादी केन्द्रलाई विजयी बनाऔं’ भन्ने नारा बोकेर चुनावी अभियानलाई विकेन्द्रिकृत गरिरहेको बताउँछ ।
को–को छन् आकांक्षी ?
काठामाडौँको उत्तरपूर्वी क्षेत्रमा अवस्थित गोकर्णेश्वर नगरको मेयर पदमा सबैको आँखा गाडिएको छ । र, सबैजसो पार्टीलाई उमेदवार छान्न हम्मे–हम्मे परिरहेको छ ।
मेयर पदमा कांग्रेसबाट चार जनाले दाबी गरिरहेका छन् । दीपक रिसाल, विमल ठकुरी, कुमार सुवेदी, श्रीकृष्ण ज्योतीले नगरपालिकाको प्रमुख बन्न आकांक्षा राखेको कांग्रेस स्रोतले बतायो । त्यसमध्ये विमल त्यस क्षेत्रका पूर्व सभासद् एवम् दिवंगत नेता चक्र ठकुरीका छोरा हुन् । त्यस्तै, ज्योती कांग्रेस नगर सभापति हुन् ।
एमालेलाई पनि उमेदवार टुंग्याउन बडो सकस परेको छ । एमालेबाट मेयर पदमा आधा दर्जन बढी आकांक्षीहरू टिकट माग्दै नेताहरूको घरदैलो गरिरहेको एमाले स्रोत बताउँछ ।
एमालेबाट आकांक्षा राख्नेमा एमाले लेखा आयोगका सदस्य गोपाल बराल, एमाले ३ नम्बर क्षेत्रीय कमिटी अध्यक्ष उद्धव खड्का, हरिकृष्ण श्रेष्ठ, पुन्य चौलागाईं, उद्धव विष्ट, मन्दिर तिमिल्सिना, विमल अर्याल रहेको एमाले स्रोत बताउँछ ।
एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई पनि गोकर्णेश्वर नगरमा बस्छन् । उमेदवार छनोटमा निकै विवाद भए अन्तिममा उनी नै उमेदवार बन्न सक्ने आकलनसमेत गरिएको छ ।
माओवादी केन्द्र्रमा भने मेयरमा खासै विवाद छैन । माओवादी केन्द्रबाट विष्णु माझी र टीआर नेपालको मात्र नाम चर्चामा छ । त्यस्तै, नयाँ शक्तिबाट तुलसी पौडेल र पेमाछिरी शेर्पामध्ये एकजना मेयर पदमा उठ्ने निश्चितजस्तै छ ।