काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले नागरिकताम्बन्धी विधेयकको छलफलमा गृहमन्त्रीको खोजी गरेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था समिति बैठकमा वैवाहिक अंगीकृतको विषय टुंग्याउनुपर्नेमा समिति सभापति शशी श्रेष्ठले जोड गरेपछि सांसद बडुले सरकारको धारणा माग गरेका हुन् । “मन्त्रीजी हुनुपर्छ । उहाँले बस्नुपर्छ कि पर्दैन बैठकमा ? सरकारको तर्फबाट बोल्नुपर्छ उहाँले,” उनले भने ।
गृहमन्त्री रामबहादुर थापा बैठकको सुरूमा उपस्थित भएर निस्किएका थिए । समितिमा वैवाहिक अंगीकृत नागरिकतामा कडाइ गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बैठकमा ७ देखि १५ वर्षसम्मको व्यवस्था राख्नुपर्ने धारणा सांसदहरुले राखेका थिए । सरकारले भने वैवाहिक अंगीकृतको सम्बन्धमा अहिले भएकै व्यवस्थामा अभिलेख रहने गरी नागरिकता दिने प्रस्ताव गरेको छ । वैवाहिक अंगीकृतका बारेमा छलफल नटुंगिएपछि बैठक भोलि बिहान ८ बजे बस्नेगरी टुंगिएको छ ।