काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले घोषणापत्र निर्माणमा जुटेको छ । महासचिव ईश्वर पोखरेलले त्यसको संयोजन गरिरहेका छन् । एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार अहिले घोषणापत्रको अन्तिम ‘ड्राफ्ट’ तयार भइरहेको छ । र, दुई–तीनदिन भित्रमै प्रकाशन हुनेछ ।
के–के समेटिँदैछन् घोषणापत्रमा ?
नेकपा एमालेले ५० लाख प्रति घोषणापत्र छाप्ने तयारी थालेको छ । र, यो केन्द्रीय घोषणपत्र हुनेछ । स्थानीय तहमा त्यहाँको आवश्यकता, विकास निर्माणका योजना र पार्टीले लिने उत्तरदायित्वका विषय समेटिएको छुट्टै स्थानीय घोषणापत्र निकालिने श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय घोषणापत्रमा विशेष गरेर नेपाल–भारत सम्बन्धको पछिल्लो आयाम, चीनसँगको व्यापार सम्झौता आदि विषयलाई समेटिने र एमालेले त्यसमा खेलेको भूमिकाबारे प्रकाश पारिने श्रेष्ठको भनाइ छ । संविधानमा असन्तुष्टि जनाउँदै भारतले लगाएको नाकाबन्दी र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले खेलको भूमिकालाई घोषणापत्रमा महत्वका साथ समेटिनेछ ।
“घोषणापत्रमा भारतवेष्ठित परनिर्भरताको अन्त्य र व्यापार (निकासी-पैठारी)का सम्भाव्य सबै नाका (विशेष गरेर चीनको) खोल्ने विषय घोषणापत्रमा उल्लेख हुनेछ,” उनले जानकारी दिए ।
त्यस्तै, यो स्थानीय तहको निर्वाचन भएकाले स्थानीय सरकारलाई लोकतन्त्रको मेरुदण्डको रूपमा विकास गर्ने एमालेको लक्ष्य छ । “निर्वाचन फगत स्थानीय सहभागिता मात्र होइन, यो विकासको आधारस्तम्भकै रूपमा विकास गर्ने एमालेको योजना हो । हामीले त यसो भनेका छौँ । यो विकासको द्वार नै हो । अतः दिगो विकास र समावेशी, सहभागितामा आधारित नेतृत्व निर्माणलाई मूख्य रूपमा घोषणापत्रमा समेटिने छ,” श्रेष्ठले बताए ।
घोषणापत्रमा स्थानीय तहको एकीकृत दीर्घकालीन विकास योजना निर्माणमा जोड दिइने उनको भनाइ थियो । स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको भरपूर उपयोग र त्यसैलाई समृद्धिको बाटो बनाउने एमालेको तयारी छ ।
त्यस्तै, संविधानको कार्यान्वयन, राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधीनतको विषय घोषणापत्रको मूल मियो हुने श्रेष्ठले जानकारी दिए । “एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको निरन्तरतालाई घोषणपत्रमा ‘हाइलाइट’ गरिने छ,” उनले भने, “महिला, दलित, पछाडि परेका समुदायको विकास र स्थानीय विकासको मूलप्रवाहमा ल्याउन केही विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ ।”