काठमाडौं । स्थानीय तह निर्वाचनका लागि एमालेले आन्तरिक तयारी तीव्र पारेको छ । एमाले पार्टीको संगठनात्मक स्वरूप परिवर्तन, उमेदवारको मापदण्ड निर्धारण र स्थानीय तहमा विकासको खाका र उमेदवारको छनौट गर्दै चुनावी गर्मीलाई अझ तेजिलो बनाएको हो ।
एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले चुनावी तयारीलाई घनिभूत बनाउँदै निर्वाचनको वातावरण तयार पारिरहेको छ । ज्ञवाली भन्छन्, “एमालेले निर्वाचको तयारीका सन्दर्भमा पार्टीको संगठनात्मक ढाँचामा फेरबदल गर्दै उमेदवारको मापदण्ड, स्थानीय तहमा विकास योजनाका खाका र उमेदवारको नाम संकलनलाई तीव्रता दिएका छौँ । यस्तै केन्द्रले घोषणापत्रलगायत छाप्ने तयारी पनि थालिसकेको छ ।”
मुख्य प्रतिष्पर्धी कांग्रेस नै
एमालेले चार महिने अभियान समापन गरेको धेरै समय भएको छैन । अभियानमै उसले २१ फागुनदेखि ५ चैतसम्म १५ दिने मेची–महाकाली जागरण अभियान सञ्चालन गर्यो । पूर्वपश्चिम राजमार्गमा २१ किलोमिटर लामो ‘क्याराभान’समेत तयार पार्यो । २७ वटा ठूला सभा आयोजना गर्यो । र, अधिकांश सभामा जनसमुदायको उपस्थितिबाट एमाले उत्साहित पनि भयो ।
संविधान र एमालेबारे जनतामा रहेको द्विविधा, अन्योल र भ्रम निवारण गर्न अभियान सञ्चालन गरेको भनिए तापनि त्या मूलतः चुनाव केन्द्रित अभियान नै थियो ।
मेची–महाकाली अभियानका क्रममा पूर्वपश्चिम राजमार्ग, भैरहवा र सुर्खेतमा गरी एमाले करिब २५ लाख जनताका बीचमा पुगेको पार्टी केन्द्रको ‘रिडिङ’ छ । अभियानबाट एमालेले निष्कर्ष निकालेको छ– एमाले पहिलो शक्ति बन्छ र मूख्य प्रतिष्पर्धा कांग्रेससँगै हुन्छ ।
सचिव ज्ञवाली प्रष्ट्याउँछन्, “एक नम्बर प्रदेशदेखि सात नम्बर प्रदेशसम्मै हाम्रो प्रतिष्पर्धा कांग्रेससँग हुन्छ ।” ती सबै प्रदेशमा एमाले अहिले मूख्य शक्तिमै रहेको उनको भनाइ थियो ।
दुई नम्बर प्रदेशमा पनि एमाले अगाडि !
मेची–महाकाली अभियान दुई नम्बर प्रदेशमा पुग्नेवित्तिकै ३ दिन स्थगित गर्नुपर्ने परिस्थिति आइलाग्यो । सप्तरीको राजविरामा मधेसी मोर्चा र प्रहरीबीच हिंसात्मक झडपमा चार जनाको मृत्यु भएपछि एमाले–अभियान दुई नम्बरमा अघि बढ्न सकेन । हेटौंडाबाट पुनः सुरु गर्नुपर्ने अवस्था निर्माण भयो ।
दुई नम्बर प्रदेशमा एमाले कमजोर भएकै हो त ? भन्ने विचार–विमर्श भइरहेका बेला एमालेले भने दुई नम्बर प्रदेशमा पनि पहिलो शक्ति नै रहेको दाबी गर्छ । ज्ञवाली थप्छन्, “यदी एमालेप्रति मोर्चालाई डर हुँदैनथ्यो । कांग्रेस–माओवादी केन्द्र अताल्लिएका थिएनन् भने एमालेको कार्यक्रम विथोल्न मोर्चा हिंसाको सहारा लिने, कांग्रेस–माओवादी केन्द्र थपडी किन बजाउँथे ? एमालेविरुद्ध राजनीतिक प्रतिवाद नै गर्थे नि !”
मधेसी मोर्चाको काँधमा बन्दुक राखेर जयकृष्ण गोइत र सीके राउतले ‘फायर खोलेको’ र पछाडि बसेर कांग्रेस–माओवादी केन्द्रले थप्पडी बजाएको एमालेको निष्कर्ष छ । त्यतिमात्र होइन ज्ञवालीले त कांग्रेस माओवादी केन्द्रले ‘हिँसालाई पुल्पुल्याएको’ बताउँछन् ।
दुई नम्बर प्रदेशका आठ वटा जिल्लामा पनि एमाले पहिलो शक्ति नै हुने दाबी उनको थियो । र, त्यहाँ पनि प्रतिष्पर्धा कांग्रेससँगै हुनेछ । “तराई–मधेसमा पनि हाम्रो प्रतिष्पर्धा कांग्रेससँग हुनेछ । आन्दोलनको भावनाको उपेक्षा, मधेसका जनतालाई पटक–पटक धोका दिएकाले मोर्चाले त्यहाँ सजिलैसँग मुन्टो उठाउने अवस्था छैन,” उनी बताउँछन् ।
दुई नम्बर प्रदेशमा पहिलो एमाले, दोस्रो कांग्रेस, तेस्रो मधेसवादी दल र माओवादी केन्द्रचाहिँ चौंथो हुने एमाले बुझाई छ ।
कांग्रेससँग तालमेलको सम्भावना क्षीण
सत्ता समिकरणका कारण एमाले देशभर ‘प्रतिपक्षी’ हो । कांग्रेस र एमालेबीचको सम्बन्ध काटामार–मेलमिलापकै हो । विगतका कतिपय निर्वाचनमा कतिपय ठाउँमा एमाले–कांग्रेसबीच तालमेल भयो पनि ।
तर, यो निर्वाचनमा भने एमालेले कांग्रेससँग एकता र तालमेलको कुनै सम्भावना देखेको छैन । ज्ञवाली भन्छन्, “ढोका नै बन्द त गरेका छैनौँ । तर पनि कांग्रेसले जुन किसिमको रवैया अपनाएको छ । एमालेप्रति जसरी असहिष्णु बन्दैछ । त्यसले तालमेलको सम्भावनालाई क्षीण बनाएको छ ।” तथापि स्थानीय तहमा कतै त्यस्तो सम्भावना भए अर्घेल्याईँ नगर्न पार्टी पंक्तिलाई निर्देशन दिएको उनको आशय थियो ।
दुई नम्बर प्रदेशमा मोर्चासँग सहकार्यको सम्भावना मृत प्रायः नै हो त ? बाह्रखरीको जिज्ञासामा उनले भने, “मोर्चाको जुन हिंसात्मक राजनीतिक रवैया छ, त्यसप्रति हामी सम्झौताहीन संघर्ष गर्छौं । मोर्चाको पछिल्लो क्रियाकलाप अराजनीतिक छ, त्यसको राजनीतिक प्रतिवाद एमालेले गर्छ नै ।
यसो भनिरहँदा उसलाई लोकतान्त्रिक प्रक्रियामा ल्याउने, सहमतीको बाटोमा हिँडाउन एमालेले प्रयत्न जारी राख्छ । एमालेले उनीहरूजस्तो पूर्वाग्रह पाल्दैन । एकता र तालमेलको सम्भावनाबाट एमाले टाढिँदैन पनि ।”
माओवादी केन्द्र चरम अवसरवादी
माओवादी केन्द्र चरम अवसरवादी, सत्तालोलुप र जुनसुकैबेला धोका दिने भएकाले उसँगको सहकार्यबाट टाढिनुपर्ने एमालेको निष्कर्ष छ । ज्ञवाली भन्छन्, “यो चुनावमा माओवादी केन्द्रसँग तालमेलको सम्भावना हामीले कम देखेका छौँ । माओवादी केन्द्र चरम अवसरवादीका रूपमा देखा पर्दैछ । उसँग सहकार्य गर्नुभन्दा नगर्नु उत्तम हुन्छ ।”
यसबीचमा एमालसँग ९ दलीय मोर्चा रहेकाले आवश्यक ठाउँमा मोर्चा आवद्ध दलसँग तालमेल गर्न स्थानीय कमिटीलाई भनेको छ । ज्ञवाली थप्छन्, “देशैभर एमालेले एक्लै जित्छ, हामीलाई त्यही विश्वास छ ।”
मधेसवादी दलका कारण चुनाव रोकिँदैन
मधेसवादी दलका कारण नभइ सरकारकै कारण निर्वाचनबारे अन्यौलता नहटेको एमालेको बुझाइ छ । ज्ञवाली भन्छन्, “मधेसी मोर्चालाई देखाएर सरकार चुनाव टार्ने खेलमा लागेको छ । निर्वाचन गरौँ कि नगरौँको द्विविधामा छ सरकार ।
उसको भूमिका द्वेध देखिएको छ । दृढतापूर्वक उभिने हो भने मोर्चा पनि सहमतीमा आउँछ ,” उनको भनाइ थियो । तथापि सरकारसँग निर्वाचनको विकल्प नरहेको ज्ञवाली बताउँछन् ।
उनले यो भन्दा दोस्रो संविधानसभाको निर्वाचन निकै चुनौतीपूर्ण रहेको बताउँदै बम र बारुदकाबीच पनि जनताले इतिहासमै सबैभन्दा बढी मतदान गरेको स्मरणसमेत गरे ।
५० लाख घोषणापत्र छाप्दै
एमालेले ५० लाख घोषणा पत्र छाप्ने तयारी थालेको छ । घोषणापत्रमा समाविष्ट गर्ने कुराको गृहकार्य भइरहेको ज्ञवाली बताउँछन् । कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार दुई–तीनदिनभित्रमै घोषणापत्रको काम सकिन्छ ।
यो केन्द्रीय घोषणापत्र भएको र स्थानीय पार्टीले आ–आफ्नो आवश्यकताअनुसार छुट्टै घोषणापत्र, विकासको खाका छाप्न सक्ने उनले प्रष्ट्याए ।