गौर । रौतहटको गौर । बिहीबार मध्यान्हको चर्को धुप । नेपाली सेनाको ब्यारेकको खुला मैदानमा बिहान सबेरैबाट लाइन बसेका हजारौंको भीडमा बाराका लुरी यादव पनि थिए । बुधबार नै सेनाले थमाएको जाँच पूर्जी प्लाष्टिकको झोलामा बोकेका उनी बिहीबार ५ बजे नै लाइनमा खडा भए । यादव घरीघरी हातमा बाँधेको घडी हेर्दै गर्थे । घडीको सुई घुमिरहेको थियो तर उनको पालो आएकै थिएन ।
कालो वर्ण, अन्दाजी ५ फिट ५ इन्च अग्लो ज्यानका यादवको घाँटी सञ्चो नभएको थुप्रै भयो । उनी पटना पुगे, त्यहाँका डाक्टरले ‘हड्डीले नसा च्यापिएको छ’ भने । सामान्य उपचार गराए पनि । तर निको भएन ।
“दिल्लीमा चार महिना बसेर उपचार गर्दा पनि निको नभएपछि म घर आएँ । फेरि मुजफरपुर गएँ । मोतिहारीमा राम्रो डाक्टर छ भनेपछि त्यहाँ पनि पुगेँ । त्यहाँ पनि झण्डै चार महिना इलाज गराएँ,” यादव भन्छन्, “कतै पनि निको नभएपछि काठमाडौंको न्यूरो अस्पताल पुगेँ । त्यहाँ डाक्टरले नसाको ट्युमर भएको छ भने, अहिले पनि औषधि खाइरहेको छु । यहाँ सरकारी अस्पतालका डाक्टरकोमा आएको छु । हेरौं, उपचार गर्छ कि गर्दैन ।”
उपचार गर्न नसक्ने भए निको पार्ने डाक्टर देखाइदिनुपर्ने उनको आग्रह छ । “म गरिब मान्छे ! उपचार गर्दागर्दै २ लाखभन्दा धेरै सकिसक्यो,” निन्याउरो अनुहार बनाउँदै उनले भने, “यहाँ सित्तैमा हुन्छ भनेर आएको हुँ।”
न्यूरो अस्पतालमा डाक्टरले अप्रेशन गर्न कम्तिमा तीन लाख खर्च लाग्छ भनेपछि उनी घर फर्किएका हुन् । यादवले रौतहटमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले आयोजना गरेको संयुक्त स्वास्थ्य शिविरमा निःशुल्क अप्रेशन हुन्छ भन्ने गाउँमा सुने र गौर पुगे ।
लुरीप्रसाद यादव त एक प्रतिनिधि पात्रमात्रै हुन् । यस्ता थुप्रै बिरामी शिविरमा थिए, जो रोगसँग पौँठेजोरी खेल्दै चैतको चर्को घाममा लाइन बसिरहेका थिए । डाक्टरसँग आफ्नो जिन्दगीको दिनहरू लम्ब्याउन हात फैलाइरहेका थिए ।
रौतहटको मितवाबाट रामेश्वर यादव आफ्नी श्रीमतीलाई लिएर उपचार गराउन बिहान तीन बजे नै गौर आइपुगे । उनी आउँदा पनि लामो लाइन लागिसकेको थियो । ६६ वर्षे यादव लाइनमा बसे । उच्च रक्तचाप र दमले थलिएकी ५६ वर्षीया श्रीमती उनको छेवैमा थिइन् ।
“वीरगन्ज मेडिकलमा चार पटक लगेँ उसलाई,” श्रीमतीतर्फ देखाउँदै यादवले भने, “तर कहिल्यै ठिक भएन । ट्यावलेट (औषधी) खाइरह्यो भने अलि बिसेक हुन्छ । एक दिन नखाए, हर्याक हर्याक हुन्छ । सासै जाला जस्तो !”
श्रीमतीलाई मात्रै होइन, उनको पनि खुट्टामा समस्या छ । “मेरो नि खुट्टामा दर्द हुन्छ । मेरो पनि उपचार गराउँछ । काठमाडौंबाट आएका ठूला डाक्टरहरूले उपचार गर्दा निको हुन्छ कि भन्ने आश छ,” उनले भने ।
पाठेघरको समस्या भएकी श्रीमती मिरालाई लिएर चन्द्रनिगाहपुरका करण यादव पनि बिहीबार गौर पुगे । “काठमाडौंबाट आएका डाक्टरले राम्रो र बिना पैसा उपचार गर्नुहुन्छ भनेर उनको अप्रेशन गर्न यहाँ आएका हौँ,” यादवले आशावादी हुँदै भने ।
शिविरमा दैनिक दुई हजारभन्दा बढी उपचारका लागि आएका थिए । सेनालाई भीड नियन्त्रण गर्न गाह्रो परिरहेको थियो । कर्नेल दीपक अधिकारी आफैं माइकिङ गरेर लाइनमा शान्त भएर बसिदिन आग्रह गरिरहेका थिए ।
जिल्ला अस्पताल गौरमा दरबन्दीका डाक्टर नबस्नु र विशेषज्ञ सेवा नपाउनु नै भीड लाग्नुको मुख्य कारण थियो । “यहाँ रहेको जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुनु मुख्य कारण हो भने महिला डाक्टर नहुनु अर्को कारण हो,” नेपाली सेनाका डाक्टरसमेत रहेका उदयब्रज बज्राचार्य पत्रकारहरूसँग भन्दै थिए, “यो अवस्था हेर्दा यहाँको सरकारी अस्पतालको सेवालाई चुस्तदुरुस्त बनाउनुपर्ने देखिन्छ ।”
शिविरमा समन्वय र व्यवस्थापनको जिम्मेवारी लिएर अहोरात्र खटिए कर्नेल अधिकारी । बिरामीदेखि आफ्नै स्टाफ र काठमाडौंबाट गएका चिकित्सक र पत्रकारको व्यवस्थापनको जिम्मेवारी लिएका कर्नेल अधिकारी माइकिङ गर्दैथिए, “सामान्य बिरामी उपचारका लागि नआउनुहोला । गम्भीर बिरामी र सल्यक्रिया गराउनुपर्ने तर आर्थिक अवस्था कमजोर भएकाहरू मात्रै आउनुहोला । हाम्रो कुरा ग्रहण गर्नुभएन भने तपाईंहरू जो गम्भीर बिरामी हुनुहुन्छ, यहाँहरूले नै उपचार गराउन पाउनुहुन्न ।”
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले संयुक्त रूपमा आयोजना गरेको शिविरमा सेनाका हरिया जिप, एम्बुलेन्स र ट्रकहरू मैदानको एक छेउमा थिए । तिनमा बिरामीका बेडमात्रै थिएनन्, ग्यासदेखि जेनेरेटरसम्म थिए । त्यहीँ बिरामीको सघन सल्यक्रिया भइरहेको थियो ।
शिविर चलिरहेकै बेला प्रधानसेनापति राजेन्द्र क्षेत्री पुगे र निरीक्षण गरे । अंगरक्षकसहित दर्जन बढी सेनाको भीडमा रहेका उनी पुष्पगुच्छा ग्रहण गर्दै अघि बढिरहेका थिए, एक वृद्धा वायु वेगमा क्षेत्रीको अगाडि पुगिन् र खुट्टा ढोगिन् । क्षेत्रीले पनि उनको खुट्टा ढोग्न खाजे र तर उनले दिइनन् । र, पुनः वायु बेगमै उनी भीडमा छिरिन् ।
प्रधानसेनापति क्षेत्रीले आगामी दिनमा पनि मोबाइल हस्पिटलमार्फत सेनाले नागरिकका लागि हेल्थ क्याम्पहरू गर्दै जाने आश्वासन दिए । छेउमा रहेको भीडले परररर ताली बजायो । यी सबै गतिवधि भइरहँदा ५० वटा बेडमा बिरामीको उपचार भइरहेको थियो ।