छिमेकी भारतका विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकर भदौ ४ गतेबाट काठमाडौंमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउन लागेका छन् । भारतका विदेशमन्त्रीका रूपमा यो उनको पहिलो नेपाल भ्रमण हो । सामान्यतः यस्तो भ्रमण दुवै देशका जनताका लागि समेत खुसीको अवसर हो । तर, नेपाली जनमानसमा भने दुबिधा देखिन्छ । भूकम्पले थिलोथिलो भएको छिमेकीमाथि न्यायोचित कारण विना नाकाबन्दी लगाउने प्रमुख योजनाकारका रूपमा डा. जयशंकरको भूमिका नेपालीले बिर्सेका छैनन् । यसैले उनको नेपाल भ्रमणको खबरले नेपालीहरू झस्कनु अस्वाभाविक हैन । अहिले भने डा. जयशंकर प्रधानमन्त्रीको विशेषदूतका हैसियतमा नेपाललाई ‘आदेश’ दिन नेपाल आउन लागेका हैनन् । यसैले उनीसँग खासै झस्कनु पनि नपर्ला ।
विदेशमन्त्री डा जयशंकरलाई नेपाली जनताले नाकाबन्दीका योजनाकारका रूपमा सम्झिरहने छन् । भूकम्पको धक्काबाट तंग्रिन नपाउँदै भोग्नुपरेको नाकाबन्दीको पीडा भोगेका कम्तीमा चार पुस्ताले सायद बाँचुन्जेल बिर्सन सक्तैनन् । तर, नाकाबन्दीका लागि तत्कालीन विदेश सचिव डा. सुब्रमण्यम जयशंकरलाई मात्र दोष दिनु भने न्यायोचित हुँदैन । भारत सरकार विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदीकै सहमा नाकाबन्दी लागेको हो । नत्र, त डा. जयशंकर नै विदेशमन्त्री बनाइने थिएनन् होला । यसैपनि भारतको नेपाल नीति लामो सयमदेखि पेसेवर कूटनयिक भनिने विदेश मन्त्रालयका बाबुहरूले नै बनाउँदै र कार्यान्वयन गर्दैआएको देखिन्छ । नेपालका चौथाइ शताब्दीदेखि बाबुहरूलाई नै राजदूत बनाइएकाले पनि भारतको नेपालसँगको सम्बन्धमा उनीहरू नै निर्णायक भएको पुष्टि हुन्छ । यसैले नेपाल आउन लागेका विदेशमन्त्री डा. जयशंकरलाई नाकाबन्दीका योजनाकारका रूपमा मात्र हेर्नु उचित नहोला ।
विदेश सचिवका रूपमा डा. जयशंकरले नेपालीको सद्भाव पाउन सकेनन् । अब विदेशमन्त्रीका रूपमा नेपालप्रति उदार र समान व्यवहार गरेर उनले पुरानो कटुता मेटाउने अवसर पाएका छन् । संविधान जारी भएर पूर्णरूपमा कार्यान्वयन पनि भइसकेको छ । नाकाबन्दीको धक्का पनि नेपालीले थेगिसकेका छन् । नेपालीका लागि मात्र हैन नाकाबन्दी भारतकै पनि प्रत्युत्पादक बन्यो । नेपाललाई चीनसँग निकटता बढाउने र विकल्प खोज्ने अन्तर्दृष्टि नाकाबन्दीबाट खुलेको छ । यसैले नेपालमाथि दबाबको परम्परागत कूटनीति अब भारतका लागि प्रत्युत्पादक हुने निश्चित छ । डा. जयशंकरजस्ता खारिएका कूटनयिकले पक्कै पनि धरातलको यो यथार्थ बुझेको हुनुपर्छ । नेपाल र भारतबीचको सम्बन्ध केही हदसम्म अव्याख्येय पनि छ । सरकारी स्तरमा जति नै कटु भए पनि जनताका बीचमा आपसी सम्बन्ध अत्यन्त निकट र सुमधुर रहिआएको छ ।
इतिहास र संस्कृतिले मात्र हैन भूगोलले पनि नेपाली र भारतीय जनतालाई एउटै भाग्यका अंशियार बनाएको छ । यसैले सीमावर्ती क्षेत्रमा निर्मित भारतीय संरचनाका कारण नेपाली भूभाग र बस्तीको डुबानको समस्या, हराएका सीमास्तम्भको पुनःरेखाङ्कनजस्ता संवेदनशील विषयमा डा. जयशंकरजस्ता परिपक्व र व्यवहार कुशल कूटनयिकबाट यथार्थपरक व्यवहारको अपेक्षा नेपाली जनताले राखेका छन् । अरू सहयोग र साझेदारीका विषय त कहिल्यै समाप्त हुँदैनन् । तर, तिनको समाधानका लागि विश्वास र सद्भावको खाँचो हुन्छ । अहिले दुई देशबीच सही अर्थमा विश्वास र सद्भाव बलियोे छैन । विश्वको सबैभन्दा ठूलो लोकतन्त्र कहलिएको भारतका विदेशमन्त्रीको हैसियतमा पहिले नेपाल भ्रमणमा आउन लागेका डा. सुब्रमण्यम जयशंकरलाई दुई देशबीच विश्वास र सद्भाव बढाउन सफलता मिलोस् ।